इलाममा कांग्रेसका थापा र दाहाल विजयी
इलाम।

इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा कांग्रेसका केदार थापा विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवार थापाले १३ हजार ११५ मत प्राप्त गर्दै विजयी भए भने निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनी १३ हजार ५४२ मत प्राप्त गर्दै विजयी भइन् ।
प्रतिस्पर्धी एमालेकी उम्मेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलोपटक जित हासिल गरेको हो ।
इलाम नगरपालिकामा जम्मा १२ वटा वडा छन् । नौ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीन वटा वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् ।
