उपचार अभावले जीवनमरणको दोसाँधमा अप्सरा
लक्ष्मीपुर।

१५ वर्षीया अप्सरा तामाङ एक महिना अघिदेखि दुवै खुट्टा नचल्ने भएपछि उपचार खर्चको अभावमा अहिले अरुको सहारामा रोएर दिन विताइरहेकी छिन् ।
उनीसंग न जन्मदिने बाबुआमा र परिवार साथमा छन् न त उपचार गर्ने पैसा नै छ । भोजपुरको तिवारीञ्ज्याङ घर भएकी उनी अहिले अर्जुनधार–५, लक्ष्मीपुरमा दिदीको डेरामा शरण लिएर बसेकी छन् ।
गरिवीको कारण उनका बाबु रोजगारीको सिलसिलामा पाँचथरमा बस्दै आएका छन् भने उनी पनि सानै उमेरदेखि नारायणघाटमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् । एक महिनाअघि एक्कासि दुवै खुट्टा नचलेपछि घरसाहुले सामान्य उपचार गराए ।
तर, उपचारमा डाक्टरले एक डेढ लाख लाग्ने भनेपछि उपचारवाट वञ्चित भइन् अप्सरा । बहिनीको यो अवस्थावारे दिदी वेदमायाले थाह पाएर लक्ष्मीपुरस्थित सञ्चमाया तामाङको घरमा रहेको आफ्नै डेरामा ल्याएर राखिन् । छरछिमेकसँग सामान्य सहयोग उठाएर उपचार गराए पनि सम्भव भएन । हेर्दा स्वस्थ देखिए पनि १५ वर्षको कलिलो उमेरमै ओच्छ्यानमा पल्टिनुु र अरुको सहाराले दिशापिसाव गर्न बाध्य छिन् उनी ।
घरवेटी सञ्चमाया तामाङ भन्छिन्– सामान्य उपचार त गरायौं तर हस्पिटल नगइ उपचार सम्भव छैन, अब के गर्ने ? जनप्रतिनिधिसंग हारगुहार माग्यौं, चुनावको मुखमा कसैले पनि चासो देखाइरहेका छैनन् ।
हामी एक्लै पनि केही सहयोग गर्न सकिरहेका छैनौ । कोही मनकारी संघ–संस्था वा व्यक्ति भए उनको जीवन बँच्थ्यो कि ?
