September 17, 2026

सबै पालिकामा निर्वाचन कार्यालय स्थापना

0

पार्थ मण्डल,
झापा।

आज शुक्रबारदेखि झापा जिल्लाका १५ वटै पालिकामा निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए ।

सदरमुकाम भद्रपुरस्थित शिक्षा विकास तथा समन्वय इकाई समितिको कार्यालयमा बिहीबार एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै झापा जिल्ला अदालतका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत गौतमले भने– अहिले पार्टीका झण्डा र चुनाव चिन्ह सार्वजनिक सवारीसाधन र गाउँ टोलमा देखिन थालिसकेको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ, अब हामी एक्सनमा जान्छौँ ।

आचारसंहिताको कार्यान्वयन नै मुख्य फोकस रहने बताउँदै अधिकृत गौतमले भने– ‘निर्वाचन निर्देशिकाले बनाएका संयन्त्र खटाएर आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्छौँ ।’

आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टी–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन रोक लगाएको छ ।

राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवम् निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने तथा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टीकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने आचारसंहितामा उल्लेख रहेको कार्यक्रममा जानकारी दिइयो ।

‘बैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयन दर्तालाई भीडरहीत, व्यवस्थित र पारदर्शी बनाउनुपर्छ’– उनले भने– ‘त्यसका लागि राजनीतिक दलहरूसँग समन्वय गरी मनोनयन दर्ता टोकन प्रणालीमा लैजानु पर्ने हुन्छ ।’ ‘टोकन प्रणाली अनुसार दलहरू आएर उम्मेदवार मनोनयन दर्ता गर्दा काम गर्न सहज हुन्छ’– उनले भने । सञ्चारमाध्यम तथा पत्रकारले पनि निर्वाचन सम्बन्धी राम्रा वा नराम्रा दुवै खाले समाचार प्रकाशन गरिदिँदा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित र भयरहीत बनाउन निर्वाचनमा खटिने कर्मचारीलाई सहयोग पुग्ने उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गराइ देशकै उत्कृष्ट बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आग्रह गरेका छन् ।

त्यस्तै अन्य १४ पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको जनाइएको छ । निर्वाचन अधिकृतहरू बेदराज फुयाँल मेचीनगर नगरपालिका, ऋषि पौडेल शिवसताक्षी नगरपालिका, डम्बरप्रसाद काफ्ले बिर्तामोड नगरपालिकाका, लोकबहादुर कटुवाल अर्जुनधारा नगरपालिका, दीपक कोइराला कनकाई नगरपालिका, बिदुरकुमार कार्की गौरादह नगरपालिका, केशवप्रसाद पन्त दमक नगरपालिका, प्रकाश गौतम कमल गाउँपालिका, भेषराज कोइराला गौरीगञ्ज गाउँपालिका, पुष्करराज प्रसाईँ बाह्रदशी गाउँपालिका, मानबहादुर घिमिरे झापा गाउँपालिका, डम्मरुप्रसाद निरौला बुद्घशान्ति गाउँपालिका, नारदप्रसाद भट्टराई हल्दीवारी गाउँपालिका र वीरेन्द्र बस्नेत कचनकवल गाउँपालिकामा खटाइएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

झापाका ५१ मतदानस्थल ‘अति संवेदनशील’

१ नम्बर प्रदेशका अन्य जिल्लाभन्दा झापामा सबैभन्दा बढी अति संवदेनशील मतदानस्थल रहेका छन् । भारतसँग जोडिएका स्थानीय तहका मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको झापाका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

जिल्लाको १४४.२ किलोमिटर क्षेत्र खुल्ला रहेको छ । मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र कचनकवल गाउँपालिका भारतसँग सीमा जोडिएका पालिका हुन् ।

२८६ मतदानस्थल रहेको झापामा ७ सय ७७ मतदान केन्द्र तोकिएका छन् । बाँकी १५३ मतदान केन्द्र संवेदनशील र ८२ वटा सामान्य सूचीमा रहेको छ । जिल्लामा ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *