७५ विद्यार्थीलाई जनही २१ हजार छात्रबृत्ति

झापा, बैशाख ९।
झापाली समाज अमेरिका, झापा विकास मञ्च काठमाडौं र झापा जिल्ला सहकारी संघको संयुक्त सहकार्यमा जिल्लाका ७५ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने भएको छ ।
उक्त संस्थाले दीर्घकालीन योजना अन्तर्गत यस बर्षबाट छात्रबृत्ति वितरण शुरु गर्न लागेका हुन् । यही बैशाख १० गते बिर्तामोड–२ रामचौकमा एक समारोहकाबीच सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७५ जना विद्यार्थीलाई जनही २१ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्न लागिएको झापाली समाज अमेरिकाका महासचिव निलम विमलीले जानकारी दिए ।
विद्यार्थी छनौट भने आवश्यक प्रक्रिया पूरा गरी जिल्ला सहकारी संघले गर्ने बताइएको छ ।
यसपटक छात्रबृत्ति पाउने विद्यार्थीले कक्षा १२सम्म निरन्तर छात्रबृत्ति प्राप्त गर्ने छन् भने हरेक बर्ष थप विद्यार्थीलाई समेत छात्रबृत्तिको अवसर प्रदान गरिँदै जाने विमलीले बताए ।
छात्रबृत्तिका लागि जेहेन्दार र विपन्न समुदायका विद्यार्थी छनौट गरिने बताइएको छ । शुरुवातमा कक्षा ३ देखि ५ सम्मका विद्यार्थी छात्रबृत्तिका लागि छनौट हुनेछन् ।
छात्रबृत्ति अन्तर्गत झापाली समाज अभियन्ता र झापा विकास मञ्चले ५० जना तथा जिल्ला सहकारी संघले २५ जनाको जिम्मेवारी लिने छन् । महासचिव विमलीका अनुसार झापाली समाज अमेकिराले त्यहाँ बस्ने झापालीहरुबाट रकम संकलन गरी अक्षयकोष नै स्थापना गरेको छ । अक्षयकोषको व्याजबाट हरेक बर्ष छात्रबृत्तिमा योगदान गर्ने बताइएको छ ।
