September 19, 2026

दुई करोडभन्दा बढीको सामग्री बरामद

0

बिर्तामोड ।

झापामा औषधिजन्य सामग्री, मोटरपाट्र्स र लत्ताकपडा भन्सार छलेर अधिक भित्रिने गरेको पाइएको छ ।

पछिल्लो चार महिनामा झापाका विभिन्न स्थानबाट व्यापारीले भन्सार छलेर ल्याएको दुई करोडभन्दा बढीको सामग्री बरामद गरेसँगै यस्तो पाइएको हो । पुस महिना यता मात्रै प्रहरीले दुई करोड ३६ लाख ८० हजार आठ सय ९५ रुपैयाँ बराबरको त्यस्ता सामग्री बरामद गरेको हो । जसमा औषधिजन्य सामग्री, मोटरपाट्र्स र लत्ताकपडा प्रहरीले धेरै बरामद गरेको हो ।

भारतको पश्चिम बंगाल र बिहार राज्यसँग एक सय ४५ किलोमिटर खुल्ला सीमा रहेको झापामा विशेष गरी पूर्वी नाका काँकरभिट्टासहित भद्रपुर, कुमरखोद, गौरीगञ्जबाट त्यस्ता सामग्री नेपाल भित्रिने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । भन्सार छलेर नेपाल भित्र्याइएका औषधि र मोटरपाट्र्स मात्रै प्रहरीले एक करोडभन्दा बढीको बरामद गरेको छ । योसँगै प्रहरीले घरायसी सामग्री, सुपारी, माछा, किरानाका आइटम जिल्लाका विभिन्न स्थानबाट बरामद गर्दै भन्सार बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले नेतृत्व सम्हालेसँगै जिल्लाका विभिन्न स्थानमा छड्के चेकजाँच गर्दै भन्सार छलेर खुलेआम भित्रिँदै आएका त्यस्ता सामग्री नियन्त्रणमा लिँदै भन्सार दाखिला गर्ने गरिएको छ ।

योसँगै प्रहरीले झापाका विभिन्न स्थानमा बम जस्तो देखिने शंकास्पद बस्तु राखेर जनमानसमा त्रास फैलाउने नौ जनालाई पक्राउ परेका छन् । यसैगरी मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरी प्रहरीले कारवाही अघि बढाएको छ ।

प्रहरीका अनुसार गतमाघ २ गते मेचीनगर नगरपालिका वडा नं. १२स्थित सहरेडाँगी चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रमममा अबैध रुपमा भन्सार छलेर ल्याएको तीन लाख मूल्य बरावरको मोटरपाट्र्स बरामद गरिएको थियो । इलाम सूर्योदय–२ निवासी मनोज खड्काले चलाएको बा ४ च ३०९ नं को वेगनर कार चेकजाँच गर्दा अबैध रुपमा भन्सार छली गरी ल्याइएको मोटरपाट्र्स कारमा पाइएपछि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको थियो ।

त्यस्तै प्रहरीले माघ ३ गते मेचीनगर–१२ बाट उनै मनोज खड्काले चलाएको कारवाट ९ लाख ९२ हजार ८ सय ७० रुपैयाँ बरावरको मोटरपाट्र्स बरामद भएको थियो । माघ ४ गते मेचीनगर–१० निन्दा पुल नजिकैबाट एक लाख मूल्य बरावरको किराना आइटम वरामद भएको थियो ।

माघ ५ गते कचनकबल–१ खरबारीमा अवैध रुपमा भन्सार छली नेपालबाट भारततर्फ लैजाँदै गरेको २२ वटा गोरु बरामद भएको थियो । गोरुको मूल्य दुई लाख २० हजार रुपैयाँ रहेको बताइएको छ । प्रहरीको सक्रियतामा अहिले झापाका विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याइएका सामग्री धमाधम बरामद भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *