September 17, 2026

सुरक्षित पृथ्वी सुरक्षित जीवन

0

आज विश्व पृथ्वी दिवस । संयुक्त राष्ट्रसंघको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेपछि पहिलो पटक अमेरिकाले र त्यसयता विश्वभर यो दिवस मनाइन्छ । ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले यो दिनको महत्वलाई अझै बढाएको छ, जसको परिणाम अहिले विश्वका एक सय ९२ वटा देशमा यो दिवसलाई भव्यताका साथ मनाइँदैछ । पछिल्लो समय पृथ्वीको तापक्रम झनै बढ्दै गएको कारणले पृथ्वी दिवसको सान्दर्भिकता झनै बढेको छ । वर्षेनि पृथ्वीको तापक्रम ०.१८ डिग्री सेन्टिग्रेटका दरले बढ्दै गएको छ । जसका कारण उत्तरी धु्रवमा रहेका वरफका पहाडहरु पग्लिँदै जाँदैछन् । तापक्रम बढ्ने क्रमले पृथ्वी माथिको वायुमण्डलको ओजोन तह पातलिँदै प्वाल पर्ने अवस्थामा पुगेको छ ।

ओजोन तह कथंकदाचित च्यातियो वा प्वाल प¥यो भने सूर्यबाट आउने पारावैजनी रंगको किरण सोझै पृथ्वीमा पर्नेछ । जसले तत्क्षण पृथ्वीको संहार हुनसक्छ । त्यसैले त्यसलाई रोक्न मानिसका गतिविधि पृथ्वीको सुरक्षाको अनुकूल बनाइनु पर्दछ । ओजोन तह नास हुने, आँधी–तुफान, बाढी–पहिरो लगायतका विपदाहरु निरन्तर बढ्ने कारणका लागि मानिस स्वयम् जिम्मेवार छ । ठूला–ठूला आविष्कार, उपलब्धी, खोज, प्रयोग तथा परीक्षण लगायतका मानवीय गतिविधिले मानिसकै जीवन, व्यवहार र भोगाइमा असहजता ल्याउने भएकाले त्यसलाई रोक्न पनि यस्तो दिवस सहायक हुनसक्छ । आजको दिनले प्राकृतिक सन्तुलन खलबलिन नदिन, पर्यावरणविरुद्धका गतिविधि निस्तेज गर्न र विश्व ब्रह्माण्डको सुरक्षा गर्न सचेतनामूलक कार्यक्रम गर्ने प्रेरणा दिनुपर्दछ ।

पृथ्वीलाई वैदिक सनातन संस्कृतिमा आमा मानेको छ । विश्व पृथ्वी, जल, अग्नि, वायु र आकाशको समिश्रण वा योगबाट बनिएको छ । यिनकै उपस्थितिले मानिस लगायतका सम्पूर्ण जीव तथा वनस्पतिको अस्तित्व सुरक्षित छ । त्यसैले हामी सनातन वैदिक संस्कृतिमा विश्वास राख्नेहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्दै पृथ्वीको रक्षामा लाग्नु पर्दछ । पृथ्वीको अनुपस्थितिमा अथवा प्रतिकूलतामा न हामी सुरक्षित हुन्छौं न त हाम्रो अस्तित्व नै रहन्छ । त्यसैले आजको दिन औपचारिकताभन्दा पनि अनिवार्यताका दृष्टिले सर्वाधिक महत्वपूर्ण छ । प्रविधिहरुको उच्चतम् प्रयोग तथा सुविधाको उपभोगका बीच पनि पृथ्वीको संरक्षण गर्न रुख रोप्ने, हरियाली बढाउने, नवीकरणीय ऊर्जाको उचित प्रयोग तथा प्लास्टिकजन्य वस्तुको न्यून प्रयोग गर्दै वातावरण संरक्षणको ज्ञान प्रवाह गर्नु आजको पहिलो आवश्यकता हो । पृथ्वी हामी सबैको साझा घर हो, त्यसैले सबै मिलेर घरलाई सुरक्षित गरौं अनि मात्र हाम्रो सुरक्षा सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *