September 16, 2026

मिक्लाजुङ गाउँपालिकामा भौतिक संरचना धमाधम निर्माण सम्पन्न हुँदै

0

युद्धबहादुर बोहोरा,
पाँचथर:

जिल्लाका स्थानीयतह मध्ये दक्षिणी भेगमा रहेको मिक्लाजुङ गाउँपालिका हरेक कार्यमा उदाहरणिय बन्दै गएको छ । केही वर्षअघि हाइड्रोपावर नपुग्दा र बजार व्यस्थित नहुँदा जिल्लाको दोस्रो ठुलो रवि बजार निक्कै ओझेलमा परेको थियो ।

नयाँ संरचनापछि पालिकाको केन्द्र समेत रहेको यस बजारलाई कालोपत्र गर्ने काम र विद्युत सेवा प्रसारण भएपछि पालिकाको केन्द्र रवि बजारले मुहार फेरेको स्थानीयको भनाइ छ ।

गत कार्तिक महिनाको बेमौसमी वर्षाले यस पालिकामा देशकै ठुलो जनधनको क्षतिका बाबजुद पनि आफ्नो गतिविधिलाई निरन्तरता दिंदै पालिका भित्र निर्माणधिन भौतिक संरचना निर्माण सम्पन्न गर्दै धमाधम उद्घाटन भइरहेको छ ।

आइतबार पालिकाको ११औं गाउँसभाको उद्घाटनसंगै रवि बजारमा १ नम्बर प्रदेश आर्थिक मामिला तथा याेजना मन्त्री ईन्द्रबहादुर आङ्बाेले सामुदायिक भवनको पनि उद्घाटन गरेका छन् ।

प्रदेश सरकारकाे आर्थिक तथा प्राविधिक सहयाेगमा तीन करोड ८५ लाख एक हजार सात सय ४२ रुपैयाँको लागतमा निर्माण व्यवसायि याकथुङहाङ आले जे.भि.ले निर्माण सम्पन्न गरेको भवन शहरी विकास इलामले पालिकालाई हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । सामुदायिक सभाहल निर्माण गर्न स्थानीय जग्गादाता हेम बहादुर तामाङ र लिला माया तामाङले तीन-तीन रोपनी र मनमाया तामाङले दुई रोपनी गरि जम्मा आठ रोपनी जग्गा नि:शुल्क प्रदान गरेका छन् । वडा नम्बर ५ को प्रशासनिक कार्यालय सहितको सामुदायिक सभाहल पनि शनिबार उद्घाटन गरिएको छ ।

यसैबीच गाउँसभाको अवसरमा जग्गादाता र पालिकाको कृषक प्रोत्साहन कार्यविधिमा उल्लेख भएको मापदण्ड अनुसार आलु,मकै र धान उत्पादन गर्ने दुई सय ७२ जना कृषकलाई पनि नगदसहित सम्मान गरिएको छ । यसैगरी चार जना शिक्षक र १४ जना पालिका भित्रका कर्मचारी गरि जम्मा १८ जनालाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान गरिएको छ ।

कृषक सम्मान कार्यक्रम,पर्यटन क्षेत्रको विकास,भौतिक पूर्वाधार,स्वास्थ्य चौकीमा दुरचिकित्सा सेवा लगायत अन्य थुप्रै नयाँ कार्यक्रम र प्रविधिसंग जोडिएको यो पालिका नमुनाको रूपमा विकसित बन्दै गएको चर्चा हुन थालेको छ ।

पर्यटन प्रबर्द्धनबाट समृद्ध पालिका बनाउने उदेश्यले जरिबुट्टे डाँडामा निर्माण शुरुआत गरेको बुद्धको मुर्ति सहितको पार्क र पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको पालिकाका लेखा प्रमुख दिपेन्द्र कुमार चेम्जोङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *