September 20, 2026

झापा–मोरङमा सन्थाल जातिको संख्या किन घट्दै छ ?

0

तीर्थराज खरेल,
सुरुङ्गा ।

नेपालको अल्पसंख्यक आदिवासी जातिको रुपमा रहेको सतार वा सन्थाल जातिको संख्या घट्दै गएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको यथार्थ नेपालको संविधान २०७२ ले स्वीकारेको छ । झापा जिल्ला विविध जातजाति, भाषासंस्कृतिको धनी जिल्ला हो । झापामा सन्थाल, गनगाई, मेचे, राजवंशी, उराव, किसान, बंगाली, मारवाडी, मुसहर लगायतका अल्पसंख्यक जातिहरू रहेका छन् । बहुजातीय विशेषता बोकेको झापाको सुन्दर फूलबारीको एक सुन्दर फूल झैं रहेको यो सन्थाल जाति क्रमशः संकटउन्मुख छ ।

भारतको बिहार राज्यको चाहोटा नागपुर र साथाल फ्रना ठाउँ तथा भारतको झारखण्ड राज्यको दुम्का क्षेत्रबाट आएका मानिने सन्थालहरु विशेषगरी जंगल तथा नदीको छेउछाउको क्षेत्रमा बसोबास गर्दछन् । नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागको सन् १९९१ को तथ्याङ्क अनुसार नेपालमा सन्थालको संख्या ३३ हजार तीन सय १२ र सन् २००१ को तथ्याङ्क अनुसार ४२ हजार छ सय ९८ थियो भने सन् २०११ मा ५१ हजार सात सय ३५ पुगेको देखिन्छ ।

सन् २००१ मा झापा जिल्लामा कुल २३ हजार एक सय ७२ र मोरङमा १६ हजार तीन सय ८७ जनसंख्या रहेको थियो । मेची बहुमुखी क्याम्पस भद्रपुरमा जनसंख्या शास्त्र प्राध्यापन गर्ने अनुसन्धानकर्ता भक्तिप्रसाद सुवेदीले तत्कालीन सुरुङ्गा गाविसको २०४८ सालदेखि २०६८ सालसम्मको सन्थालहरुको जनसांख्यिक पक्षको बारेमा अध्ययन गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार तत्कालीन सुरुङ्गा गाविसमा वि.सं. २०४८ सालमा एक हजार चार सय २५, वि.सं. २०५३ मा एक हजार एक सय १७, वि.सं. ५८ सालमा आठ सय छ जना, वि.सं.२०६३ मा पाँच सय र वि.सं.२०६८ सालमा चार सय ८० सन्थालको संख्या रहेको देखिन्छ ।

तत्कालीन सुरुङ्गा गाविसमा २०४८ सालमा जम्मा जनसंख्या १६ हजार सात सय ४७ को ८.५१५ रहेका सन्थालहरु २०५३ सालमा जम्मा जनसंख्या १९ हजार सात सय ६१ को ३.१९५, २०५८ सालमा जम्मा जनसंख्या २१ हजार छ सय १६ को ३.७३५, २०६३ सालमा जम्मा जनसंख्या २५ हजार पाँच सय १९ को १.९६५ र २०६८ सालमा जम्मा जनसंख्या ३२ हजार दुई सय ५४ को १.४९५ मा पुगेका छन् । २०७८ सालको जनगणनामा सुरुङ्गा र घैलाडुब्बा गाविस मिलेर बनेको कनकाई नगरपालिकामा सन्थालको जनसंख्या चार सयभन्दा कम हुने अनुमान गर्न सकिन्छ ।

झापामा सन्थाल जातिको प्रमुख बसोबास कनकाई, गरामनी, जलथल, राजगढ, बिर्तामोड, शरणामती, लखनपुर, डाँगीबारी र घेराबारी रहेको पाइन्छ । खेती पशुपालन, ज्याला–मजदुरी, माछा मार्ने र स्थानीय बजार हाटमा लगेर बेच्ने यो जातिको विशेषता रहेको पाइएको छ । समय र आधुनिकीकरणको प्रभावले सन्थाल समुदायका केही केही व्यक्तिहरुमा पनि चेतनाको विकास भई रोजगारी र व्यावसायिक पेशा अँगालेर जीवन गुजारिरहेको पनि पाइएको छ । अधिकांश फुसका छाना र बाँसका टाटीबेरा भएका घरहरु आफ्नो सीप र श्रमले बनाउने गर्दछन् । काली, देवीलाई मान्ने यिनीहरू गीत, नृत्य आदिमा धेरै रमाउँछन् । यिनीहरु एक स्थानमा २०/३० घरपरिवार झुरुप्पै भएर मिलेर बसेको पाइन्छ । उनीहरु प्रायजसो आर्थिक कमजोरीका कारण हुर्किंदै गएपछि पढ्न छाडी हातमुख जोड्न ज्याला–मजदुरी गर्नुपर्ने हुनाले अधिकांश निरक्षर रहेका छन् ।

काला रंगका भए पनि यिनीहरू निकै सरल, मिलसार र मेहनती हुन्छन् । आफ्नो परिश्रमबाट नै जीवन गुजारा गर्नुपर्छ भन्ने सतारहरू चोरी र बेइमानीलाई पाप सम्झन्छन् । खासगरी पूर्वी तराईका मोरङ र झापाका आदिवासी सतारहरूको घरको बनोटबाट नै सतार गाउँ भन्ने छुटिन्छ । फुसको छाना भएका भुइँतले झुप्रा घर झुरूप्प बाक्लै रहनु, लिसैलो माटोको लिउनले चिल्लो देखिनु, घर अगाडि बाबरी फूलको बोट हुनु र घर छेउछाउ बडहर, कदम र बयरका रूख, बिरुवा इत्यादिले उनीहरूको परिचय दिन्छ ।

सतारहरूको गाउँमा एकजना मान्नेगुन्ने मानिस हुन्छ, जसलाई ‘माजिहडाम’ भनिन्छ । उसलाई सहयोगी चाहिएमा अर्को एकजना ‘परानी’ (सहयोगी) राख्ने गरिन्छ । माजिहडाम हुने पुस्त्यौनी हक हो, तर कुनै माजिहडाम बेकम्मा भएमा गाउँलेले अर्को माजिहडाम नियुक्ति गर्न सक्छन् । माजिहडामको मुख्य काम गाउँको झैं–झगडा मिलाउने, गाउँमा नाइके तथा खबरे राख्ने र विकास निर्माण गराउने आदि हुन् । यस जातिभित्र किस्कु, मर्डी, सोरेन, मुर्मु, हेमरम, हस्दा, टुडू, बास्के, बेस्रा, चौडे, पौडिया र बेढिया गरी बाह्र थर छन् । पछिल्ला तीन जात अति तल्लो दर्जामा राखिएका छन् ।

झापामा र विशेषगरी सुरुङ्गामा सन्थालहरुको जनसंख्या किन घटिरहेको छ भन्ने गम्भीर प्रश्न उब्जिएको छ । उनीहरु नेपालका ३० जिल्लामा छरिएर रहे पनि मुख्यतयः उनीहरुको बसोबास झापा र मोरङमा रहेको छ । औलो लाग्ने घना जङ्गललाई आवाद गरेर खेतीयोग्य बनाउने सन्थालहरु पलायन हुँदै गएर अहिले सानो संख्यामा सीमित हुन पुगेका छन् । आफ्नो रगत र पसीनाले धरती भिजाउने भूमिपूत्रहरु, जो कुनै बेला हजारौं बिगाह जमिनका मालिक थिए, आज अज्ञानता, धनीमानीको दबाब, प्रशासकीय थिचोमिचो, टाठाबाठाहरुको जालझेल र षडयन्त्रमा परेर आफ्नो थातथलोबाट विस्थापित हुँदै गए ।

कतिले पहुँच र अज्ञानताका कारण जमिनको लालपूर्जा बनाउन सकेनन् भने कतिपयले साहु–महाजनबाट लिएको थोरै ऋणका लागि आफ्नो जग्गा–जमिन नै गुमाउनु प¥यो । कतिपय सन्थालहरूको आज पनि नागरिकता छैन । नागरिकताको अभावले आफ्ना बालबच्चाको जन्मदर्ता बनाउन सकेका छैनन् र जन्मदर्ताको अभावमा नानीहरूको नाम लेख्न विद्यालय प्रशासनले इन्कार गरिरहेको धेरै उदाहरणहरू छन् । कतिपय सन्थाल आफ्नो जमिन साहु–महाजनलाई सुम्पेर उनीहरु कै जमिनमा कृषि मजदुरको रूपमा काम गरिरहेका छन् भने कतिपय भारततिर पलायन भएका छन् । केही सन्थालहरु काठ मिस्त्री र डकर्मीको काम गरिरहेका छन् । अत्यन्तै थोरै संख्यामा सरकारी विद्यालयमा शिक्षकको रूपमा पनि उनीहरु कार्यरत रहेका छन् ।

स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राध्यापन गरी हाल नेकपा एमालेकी नेतृको रूपमा क्रियाशील डा. शिवमाया तुम्बाहाम्फेले गरेको ‘नेपालका सन्थाल जातिको राजनीतिक तथा आर्थिक सीमान्तीकरण ः झापाको सन्दर्भमा एक मामिला अध्ययन’ नामक अनुसन्धानात्मक अध्ययनले विकासको मूलधारबाट वञ्चितिमा परेका अल्पसंख्यक जातिहरुलाई सामाजिक समावेशिताको व्यावहारिक नीति तथा सो नीतिको कार्यान्वयनको अभावमा र राज्य सामाजिक ऐक्यबद्धताको मूल अभिभावक हुनुपर्नेमा त्यसो नभएको कारणबाट सन्थालहरु पलायन हुनुपरेको देखाएको छ । डा. तुम्बाहाम्फेले अन्य अल्पसंख्यक जाति जस्तै सन्थाल जाति माथि अन्याय भएको, उनीहरुलाई ठगिएको, धोखाधडी भएको र राज्यको तर्फबाट उपेक्षा गरिएको निष्कर्ष निकालेकी छन् । उनीहरुको अज्ञानता र पछौटेपनको उपल्ला जातिले फाइदा उठाएको, उनीहरुलाई राजनीतिक तथा राष्ट्रनिर्माणमा सहभागिता नदिइएको, राजनीतिक दलले पनि उनीहरुको सहभागितामा वृद्धि गर्ने कार्यक्रम नल्याएको, असमानता र बहिष्करण रोक्न राज्यको तर्फबाट ठोस कार्ययोजना नआएको, सकारात्मक विभेदको नीति अनुरूप उनीहरुलाई समतामूलक व्यवहार नगरिएको लगायतका जटिल समस्याका कारणबाट उनीहरु पलायन हुँदै गएका हुन् ।

मोरङ धनपालथान गाउँपालिका वार्ड नं. ३ सोराभागस्थित शिवशक्ति माविका प्रधानाध्यापक समेत रहेका अल्पसंख्यक जातिको अवस्था बारेमा चिन्तनशील बुद्धिजीवी गुणेश्वर मण्डलका अनुसार झापा र मोरङ चेतनशील नागरिकको जिल्ला भएर पनि सन्थाल, गनगाई, राजवंशी लगायतका अल्पसंख्यक जाति संकटतिर उन्मुख हुनु भनेको राजनीतिक, आर्थिक, सामाजिक र राज्यव्यवस्थाकै कारण मुख्य हो । अल्पसंख्यक जातिलाई संरक्षण र विकास गर्ने राज्यको विशेष नीति आवश्यक रहेकोमा उनले जोड दिए । नेपालको संविधान २०७२ ले सबै जातिलाई समावेशिता र समानुपातिकताको सिद्धान्त अनुरूप राज्यको मूलधारमा समेटेर लैजान भने पनि कानूनी र व्यावहारिक रूपमा राज्य सञ्चालकहरूले सो अनुरूप काम नगरेको मण्डलको भनाइ छ ।

त्यसैगरी चारआली निवासी कानून व्यवसायी एवम् समाजशास्त्री तिलविक्रम कन्दङ्वाको विचारमा राज्यले सतारको जातीय अस्तित्व र पहिचानलाई स्वीकार नगरेको र राज्यद्वारा अवलम्बन गरिएको एकल भाषा नीति र राज्यले सबै जातजातिलाई समान हैसियत नदिएका कारण उनीहरू विस्थापित भएर जनसंख्या घट्दै गएको हो । कलिलै उमेरमा विवाह गर्ने चलन हुनु, विविध कारणले मृत्युदर बढी हुनु जस्ता कारणले पनि उनीहरुको संख्यामा कमी आएको कन्दङ्वाको भनाइ छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा सन्थाल जातिलाई हक–अधिकार दिएर र उनीहरुको प्रतिनिधित्व राज्यका हरेक अङ्गमा पु¥याउने संवैधानिक, कानूनी तथा नीतिगत रुपमा सुनिश्चित गराउने हो भने उनीहरुले बढी अधिकार पाउने थिए । संकटउन्मुख सन्थाल जातिको संरक्षण र विकासका लागि राज्यले विशेष नीति बनाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *