बीएण्डसीमा कालोढुसीको सफल उपचार
झापा।

झापा बिर्तामोडको बीएण्डसीमा पहिलोपटक कालोढुसीको सफल उपचार भएको छ ।
इलाम–७की ४५ वर्षीया पोष्ट कोभिडकी बिरामी गीता सुवेदीको कालोढुसीको सफल उपचार भएको अस्पतालले पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।
अस्पतालका डाक्टरहरु राजु श्रेष्ठ, लक्ष्मण ठाकुर, स्वास्थ्यकर्मी गंगा अधिकारीको टिमले बिरामी गीताको १ सय ४३ दिनपछि सफल रुपमा उपचार गरेको जनाइएको छ ।
सुवेदीलाई गत साउन १९ गते सास र्फेन अप्ठेरो र धेरै खोकी लागेपछि उपचारका लागि अस्पताल ल्याइएको अस्पतालका जन सम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
त्यही दिन एन्टिजेन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको र कोरोना पोजेटिभ देखिए पनि अक्सिजन कम, फोक्सोको समस्या र सुगर पनि नघटेपछि कोभिड निमोनिया (पोष्ट कोभिड) भएको डा. श्रेष्ठले जानकारी दिए ।
१ सय १२ दिन आइसीयुमा राखेर उपचार गरेपछि मंसीर १४ गते जनरल वार्डमा सारिएको उनले बताए । ९९ दिन त भेन्टिलेटरमा राखेर सुवेदीको उपचार गरिएको डाक्टरहरुले बताएका छन् ।
