नेपालको राजनीतिक भूगोल

जनता, राष्ट्र र भूगोलबीचको पारस्परिक सम्बन्धको बारेमा अध्ययन गर्ने भूगोलको एक प्रशाखालाई राजनीतिक भूगोल भनिन्छ । भौगोलिक स्वरुपको आधारमा निर्धारण हुने राजनीतिक परिवेश वा देशको भूगोल अनुसार गरिने राजनीतिक विभाजनको बारेमा अध्ययन गर्ने मानव भूगोलको एक शाखाको रुपमा पनि राजनीतिक भूगोलको रुपमा लिइन्छ । देशको भौगोलिक अवस्थितिको आधारमा देशको सम्ष्टिगत विकास प्रक्रियालाई समन्यायिक र सन्तुलित बनाउने उद्देश्यका साथ राज्यलाई बहुमतमा विभाजन गर्ने कार्य राजनीतिक भूगोल अन्तर्गत पर्दछ । राजनीतिक भूगोलको विश्लेषणको लागि तीन स्तरीय संरचनाको प्रयोग गरिन्छ । यसको अध्ययन केन्द्रमा राष्ट्र, शीर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध वा भूराजनीतिक अवस्था र तल्लो तहको स्थानीय तहको संरचना रहन्छ ।
ऐतिहासिक तथा राणाकालीन शासन व्यवस्थामा नेपालको राजनीतिक विभाजनको आधार बाटोघाटोलाई लिने गरिन्थ्यो भने हाल राजनीतिक विभाजन गर्दा त्यस स्थानको जनसंख्याको चापलाई र जनघनत्वलाई लिनु आवश्यक छ । भौगोलिक सुगमता र विकटता र त्यस स्थानमा विकासको पहुँचको अवस्थालाई राजनीतिक विभाजन गर्दा आंकलन गरिनुपर्दछ । स्थान विशेषमा उपलब्ध प्राकृतिक तथा अन्य स्रोत साधन र त्यसमाथिको पहुँच तथा त्यसले राजस्व संकलनमा पार्ने प्रभावबारे राजनीतिक विभाजनको क्रममा मूल्याङ्कन गर्नु जरुरी रहेको हुन्छ । स्थान विशेषको भाषा, संस्कृति, रहनसहन, चेतनाको स्तर, पेशा लगायतले पनि देशको विकासको असर पार्ने हुँदा यसतर्फ समेत राजनीतिक विभाजन गर्दा ध्यान दिनुपर्दछ । राजनीतिक विभाजन गर्नु पूर्व समग्र क्षेत्रको विकासको अवस्थाको पहिचान गर्नु पर्दछ । राजनीतिक विभाजन गर्दा सकभर ऐतिहासिक रुपमा के कस्तो अवस्था थियो, यसलाई समेत ख्याल गरेर तथा राजधानी वा अन्य प्रशासनिक केन्द्रबाट रहेको दुरी प्रशासनिक सुगमता समेतलाई ध्यान दिनु पर्दछ ।
भूगोलको आधरमा नेपालको राजनीतिक विभाजनको विकसक्रमलाई हेर्दा प्रशासनिक तथा विकासका कार्यमा सहजता ल्याउन नेपालको भूगोललाई विभिन्न कालखण्डमा विभिन्न राजनीतिक एकाईमा विभाजन गरिएको पाइन्छ । भूगोलको राजनीतिक विभाजन अनुरुप नै नेपालको प्रशासनिक विभाजन पनि गरिएको पाइन्छ । नेपालको राजनीतिक भूगोलको आधारमा नेपालको विभाजनको विकासक्रमलाई समय–समयमा परिवर्तन गर्दै लगिएको पाइन्छ । प्राचीनकालमा किराँतकालहरुको थुम, लिच्छवीकालको विषय, ग्राम, तल र द्रंगहरुमा विभाजित थियो । श्री ५ वडा महाराजधिराज पृथ्वी नारायण शाहको पालामा १२ क्षेत्रमा गोरखा, सिन्धुपाल्चोक, सल्यान, धादिङ समेत नुवाकोट, दोलखा, लामिडाँडा, काभ्रेपलाञ्चोक, मकवानपुर, विजयपुर, चौदण्डी, माझ किराँत र पल्लो किरातमा विभाजन गरिएको थियो । नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो । नेपालमा राणा शासन वि.स. १९०३ देखि वि.स. २००७ सालसम्म १०४ वर्षसम्म चलेको थियो यो समया नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो ।
वीर शमशेरको पालामा पहाडतर्फ २३ जिल्ला र तराईतर्फ १२ तहसिल गरी विभाजन गरिएको थयो । राणा शासनको पहिलो प्रधानमन्त्री जंगबहादुर राणा हुन भने अन्तिम प्रधानमन्त्री मोहन शमशेर राणा हुन । नेपालमा राणा शासन वि.सं. २००७ सालमा हटेसँगै वि. सं. २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो । नेपाललाई वि. स. २०२९ साल असार १३ गते मुलुकको समानुपातिक विकास गर्ने उद्देश्यका साथ ४ विकास क्षेत्रमा विभाजन गरियो । वि.सं. २०३७ असोज २६ गते सुदुर पश्चिमाञ्चल विकास क्षेत्रलाई टुक्राई मध्य पश्चिमाञ्चल विकास क्षेत्र थप गरी ५ विकास क्षेत्र बनाइएको थियो ।

नेपाली जनताका प्रतिनिधीले आफैले बनाएको पहिलो संविधान तथा नेपालको सातौ संविधान २०७२ असोज ३ गते जारी भएसँगै नेपाल संघिय राज्यमा परिवर्तन भई मुलुकलाई ७ प्रदेशमा विभाजन गरी ७७ जिल्ला बनाइयो । वि.सं. २०७४ भदौ ५ गते नवलपरासी र रुकुम जिल्लालाई विभाजन गरी ७७ जिल्ला बनाइएको हो ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्व भित्री मधेशको जिल्ला, गण्डकी र नवलपरासी बर्दघाट पश्चिम तराईको जिल्ला प्रदेश नं. ५ साथै रुकुमलाई रुकुम पूर्व हिमाली जिल्ला प्रदेश नं. ५ र रुकुम पश्चिम पहाडी जिल्ला कर्णाली प्रदेश गरी विभाजन गरियो । हाल वर्तमान समयमा नेपालमा हिमालमा २१ जिल्ला, पहाडमा ३५ जिल्ला र तराईमा २१ जिल्ला रहेका छन् । स्थानिय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हिमालमा २१ जिल्ला, पहाडमा २८ जिल्ला, भित्री मधेश७ जिल्ला, तराईमा १८ जिल्ला र काठमाडौं उपत्यकामा ३ जिल्ला भनी राखिएको छ । नेपालको वर्तमान संरचना अनुसार नेपालमा ७ प्रदेश, ७७ जिल्ला, ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६७४३ वटा स्थानीय तहका वडाहरु रहेका छन् । नेपाल अधिराज्यको संविधान २०१५मा निर्वाचन प्रयोजनका लागि १०९ निर्वाचन क्षेत्र, नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०५ निर्वाचन क्षेत्र, नेपालको अन्तरिम संविधान २०६३ अनुसार २४० निर्वाचन क्षेत्र र वर्तमान संविधान जारी पश्चात निर्वाचनका लागि मुलुकलाई १६५ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।
देशको शासन सञ्चालनलाई सहज प्रभावकारी जनता केन्द्रित बनाउँदै विकास तथा प्रशासनलाई विकेन्द्रित गर्न देशको भौगोलिक अवस्थालाई समेत आधारमानी नेपाललाई विभिन्न कालखण्डमा विभिन्न राजनीतिक इकाईमा विभाजन गरिएको हो । भूगोललाई विभाजन गर्दा धेरै ठूलो महत्वलाई आधार मानि विभाजन गरिएको हो । यस्तो विभाजनले राज्यको सन्तुलित र समन्यायिक विकास गर्ने टेवा पुग्ने देखिन्छ । राज्य र शासनप्रति सबैको अपनत्व बोध गराउने देखिन्छ । सार्वजनिक स्रोत र साधनको उच्चतम् परिचालन एवम् व्यवस्थापन गर्न यस्तो विभाजन गरिएको हो ।
प्रशासनिक व्यवस्थापनलाई थप मजबुत बनाउँदै सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्य रहेको छ । उपलब्ध स्रोतसाधनको समानुपातिक वितरणको व्यवस्था मिलाउने उद्देश्य रहेको छ । विकेन्द्रित एवम् जनसहमागितामुलक विकास प्रकृया अगाडि बढाउने रहेको छ । संघीयता विकेन्द्रिकरण तथा स्थानिय शासनलाई सुदृढ बनाउने रहेको रहेको छ । शासन तथा विकास गतिविधिमा सबैको सहभागिता प्रतिनिधित्व सुनिश्चितता गराउने रहेको छ । सामाजिक न्यायको आधारमा विकासलाई सिर्जित लाभको वितरण गर्ने रहेको छ । स्थानीय नेतृत्वलाई विकास गर्ने तथा राष्ट्रिय एकतालाई सुदृढ गर्नतर्फ समेत ध्यान दिई नेपालको राजनीतिक विभाजन गरिएको हो । भूगोलको राजनीतिक विभाजनले मात्र देशको समृद्धि हासिल गर्न सकिँदैन । समृद्धिको लागि भूगोल अनुसारको सम्भावनाहरुको उपयोग तथा असल राजनीतिक सँकार र प्रशासनिक इच्छाशक्ति पनि हुनु आवश्यक मानिन्छ ।
नेपालको सातौ संविधान २०७२ले नेपाललाई ७ प्रदेशमा विभाजन गरेको छ । प्रदेश नम्बर १ को नाम १ नम्बर प्रदेश नै रहेको छ । यस प्रदेशमा १४ वटा जिल्लाहरु रहेका छन । यस प्रदेशको क्षेत्रफल १७.६ प्रतिशत रहेको छ । यस प्रदेशको जनसंंख्या १७.१ प्रतिशत रहेको छ । यस प्रदेशमा १३७ स्थानीय तहहरु रहेका छन । प्रतिनिधी निर्वाचन क्षेत्र यस प्रदेशमा २८ वटा रहेका छन । यस प्रदेशमा जलविद्युत्, कृषि, पर्यटन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा लगायत क्षेत्रमा संलग्न रहेका मानिन्छ । यस प्रदेशमा ब्राह्रमण, क्षेत्री, राई, लिम्बू जस्ता जातिहरुको बाहुल्यता रहेको छ । त्यस्तै प्रदेश नम्बर २ लाई २ नम्बर प्रदेश नै भनेर चिनिन्छ । यस प्रदेशमा ८ जिल्ला रहेका छन । यस प्रदेशमा ६.६ प्रतिशत क्षेत्रफल रहेको छ । यस प्रदेशमा २०.४ प्रतिशत जनसंख्या रहेको छ । यस प्रदेशमा १३६ स्थानीय तहहरु रहेका छन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३२ वटा रहेको छ । यस प्रदेशका मानिसहरु कृषि, उत्पादन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा जस्ता क्षेत्रमा संलग्न रहेका छन् ।
नेपालको ३ नम्बर प्रदेशलाई बाग्मती प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा नेपालको राजधानी काठमाडौं तथा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै प्रदेशमा पर्दछ । यस प्रदेशमा १३ जिल्लाहरु पर्दछन् । यस प्रदेशको क्षेत्रफल १३.८ प्रतिशत रहेको छ । यस प्रदेशमा २०.९ प्रतिशत जनसंङख्या रहेक छ । स्थानीय तहहरु यस प्रदेशमा ११९ वटा रहेका छन भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३३ वटा रहेका छन । यस प्रदेशमा जलविद्युत्, कृषि, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा जस्ता क्षेत्रमा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, क्षेत्री, नेवार, तामाङ जस्ता जातजातिहरुको यस प्रदेशमा बाहुल्यता रहेको छ । प्रदेश नम्बर ४ लाई गण्डकी प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा मुख्यगरी पर्यटकीय स्थलहरु अन्य प्रदेशमा भन्दा ज्यादा रहेका छन् । यस प्रदेशमा ११ जिल्ला पर्दछन् ।
यस प्रदेशको क्षेत्रफल १५.३ प्रतिशत रहेको छ । जनसंंख्याको हिसावले यस प्रदेशमा ९.१ प्रतिशत रहेको छ । स्थानीय तहको संख्या ८५ वटा रहेका छन भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र १८ वटा रहेका छन् । यस प्रदेशमा जलविद्युत्, कृषि, पर्यटन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवामा यहामा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, गुरुङ, क्षेत्री, मगर जातीमा मानिसहरुको यस प्रदेशमा बाहुल्यता रहेको छ ।
प्रदेश नम्बर ५ लाई ५ नम्बर प्रदेश नै भनी चिनिन्छ । यस प्रदेशमा १२ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशमा ११.८ प्रतिशत क्षेत्रफल रहेको छ भने १७ प्रतिशत जनसंंख्या रहेको छ । १०९ वटा स्थानीय तहहरु रहेको यस प्रदेशमा २६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन् ।
यस प्रदेशमा कृषि, पर्यटन, व्यापारतथा सरकारी सेवामा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, क्षेत्री, मगर, थारु जातिको बसोबास रहेको छ । प्रदेश नम्बर ६लाई कर्णाली प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा १० वटा जिल्लाहरु रहेका छन । यस प्रदेशको क्षेत्रफल २१.६ प्रतिशत रहेको छ भने ५.९ प्रतिशत जनसंख्या रहेको छ । ७९ वटा स्थानीय तहहरु रहेको यस प्रदेशमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन । कृषि, पर्यटन, जडीबुटी, पशुपालन जस्ता क्षेत्रमा यहाका मानिसहरुको बाहुल्यता रहनुका साथै ब्राम्हण क्षेत्री तथा डोल्पो जातिको बसोवास रहेको छ ।
त्यस्तै प्रदेश नं. ७ लाई सुदुरपश्चिम प्रदेश भनी नामाकरण गरिएको छ । यस प्रदेशमा ९ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशको १३.३ प्रतिशत क्षेत्रफल रहेको छ भने ९.६ प्रतिशत जनसंङख्या रहेको छ । स्थानीय तहको संंख्या यस प्रदेशमा ८८ वटा रहेका छन् भने १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन् । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि कृषि, पर्यटन, उद्योग, बैदेशिक रोजगार तथा व्यापार जस्ता क्षेत्रमा यहका मानिसहरु संलग्न रहेका छन् भने ब्राम्हण, क्षेत्री, थारु जातिका मानिसहरुको बाहुल्यता रहेको छ ।
