माओत्सेतुङ र चीनबाट नेपालीले के सिक्ने ?
तीर्थराज खरेल,सुरुङ्गा ।

आज सन् २०२१ को २६ डिसेम्बर, माओको १२९ औं जन्मजयन्ती । विश्वभरका माओका अनुयायीहरू आजको दिनलाई धुमधामसाथ मनाइरहेका छन् । यस दिन सिंगो मानव जगत परिवर्तनका लागि माओका योगदानको चर्चाका साथै माओलाई एक विलक्षण क्रान्तिकारी प्रतिभाको रुपमा स्मरण गरिन्छ ।
माक्र्सवादका सच्चा अनुयायीका रुपमा माओलाई लिने र उनले अघि सारेका विचारलाई सिद्धान्तको रूपमा मानेर माओ विचारधारा वा माओवादको रुपमा बुझ्नेको पनि संसारभरमा ठूलो संख्या छ । मानिसले मानिसमाथि गर्ने सबै खाले अन्याय र उत्पीडनको अन्त्यका लागि माओले पु¥याएका योगदानलाई विश्वभरका श्रमजीवी तथा मजदुरहरुले यस दिनमा स्मरण, मनन् र प्रयोगमा लैजाने प्रण पनि गर्दछन् ।
माओलाई एक सच्चा माक्र्सवादी विचारक, एक दार्शनिक, राजनीतिक तथा क्रान्तिकारी सिद्धान्तकारका रुपमा संसारले स्मरण गर्ने गर्दछ । वास्तवमा माओको जन्मजयन्ती मनाउनु भनेको उनको विचारको रक्षा र विकासको कुरा पनि हो । त्यो मूलतः सर्वहारावर्गीय विचार हो । माओले माक्र्सको वर्गसंघर्षको सिद्धान्तलाई चिनियाँ देश, काल र परिस्थितिमा सफलतापूर्वक प्रयोग गरे । प्रयोगका क्रममा माक्र्सवादी विचार सिद्धान्तलाई थप अर्को नयाँ उचाइमा विकसित गरे ।
निकटतम् छिमेकी भएर नेपालले आफ्नो प्रगतिका लागि चीन र विशेष गरी माओबाट केही न केही सिक्न आवश्यक छ । सिक्नु भनेको अन्धानुकरण होइन, सृजनशीलतासहितको आफ्नो परिवेश अनुसारको हुनु आवश्यक छ । चीन कल्पनातीत मात्रामा आफ्नो सारा क्षमताका साथ अभूतपूर्व सफलतासहित अगाडि बढिरहेको अवस्था छ ।
यी सबै कामहरु कसरी सम्भव भए भनेर आज हामी नेपालीले सकारात्मक भावका साथ चिन्तन मनन गर्नु जरुरी छ । नेपाल पनि विश्वपरिवेश अनुरूप नयाँ–नयाँ योजनाका साथ अघि बढ्नु जरुरी छ । कम्युनिष्ट वा गैरकम्युनिष्टको मूल कुरा होइन, मूल कुरा के हो भने जनता नै इतिहासका निर्माता हुन् भन्ने भावलाई आत्मसात गर्दै मुक्ति, न्याय र समानताको अभिप्रेरणा प्रदान गर्ने चीन अहिले संसारका साम्यवादी र गैरसाम्यवादी सबै मुलुकका लागि भरोसायोग्य राष्ट्रको रुपमा उभिन सफल भएको यथार्थलाई आत्मसात गर्न आवश्यक छ ।
सन्दर्भ : १२९औं माओ जयन्ती
सन् १९४९ अक्टुबर १मा नयाँ जनवादी राज्यव्यवस्था स्थापनाको घोषणा गर्दै माओले क्रान्तिसम्पन्न नभएको क्रान्तिको प्रारम्भ भएको बताएका थिए । उनले भ्रष्टाचार, फजुलखर्ची र नोकरशाही ढिलासुस्तीका बिरुद्धमा लाग्ने र घुसखोरी, कर भुक्तानीमा धोखाबाजी, राज्यसम्पत्तिको चोरी, सरकारी ठेक्कामा छलकपट, राज्यको सूचनाको चोरी जस्ता अपराधलाई कडाइका साथ नियन्त्रण गरिने बताएका थिए । उनले उत्पादन बढाउने काम जनताको मात्र नभएर पार्टी कार्यकर्ता र सेनाको पनि भएकोमा जोड दिएका थिए ।
सन् १९६६ देखि १९७६ सम्म महान सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न भयो, जसले समाजवाद निर्माणको दिशामा चीनलाई दृढतापूर्वक डो¥यायो । माओले पटकपटक पार्टीभित्र र बाहिर निम्न पुँजीवादी चिन्तन, अनुभववाद, ढुलमुले दक्षिणपन्थी मध्यपन्थी प्रवृत्ति, मनोगतवाद, संकीर्णतावाद, तीब्र वा शीघ्र विजय वा परिवर्तनको आशा, क्रान्तिकारी लफ्फाजी, क्षेत्रवाद, आत्मकेन्द्रित व्यक्तिवाद, नोकरशाही कुलीनवाद जस्ता सबै गैरक्रान्तिकारी प्रवृत्तिविरुद्धमा निर्मम संघर्ष गरेका थिए र माओले आजको चीनको आधुनिकीकरणको जग बसाएका थिए । चीनले माओको पहलमा राजनीतिक र आर्थिक सुधारको श्रृंखला आरम्भ ग¥यो र आज चीन विश्वको शक्तिशाली मुलुकको रूपमा स्थापित भएको छ ।
समाजवादी राजनीतिक ढाँचामा लोकतन्त्रको आयामहरु थपेर जनताको सुख र स्वतन्त्रतालाई सँगसँगै लैजाने नितान्त नवीन चिन्तन र प्रयोगको बाटोबाट अघि बढिरहेको चीनबाट आर्थिक, भौतिक, वैचारिक क्षेत्रमा हुन सक्ने सहयोग लिन आवश्यक छ र नेपाललाई भू–परिवेष्ठित मुलुकको रुपमा रहेको भन्दै निराशासहितको कुण्ठाबाट मुक्ति गर्न जरुरी छ ।
