September 22, 2026

पहिचानको संरक्षण आवश्यक

0

नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । विविधताकाबीच एकता नेपालीहरूको यस्तो विशेषता हो, जसमा नेपाली हुनुको स्वत्व लुकेको छ । नेपालका सम्पूर्ण जाति तथा समुदायको संस्कृति संरक्षण र जातीय पहिचान स्थापित गर्ने उद्देश्यबाट मुलुकको संविधानका शब्द र अक्षरहरू परिलक्षित हुनुपर्ने हो, तर राज्यका तर्फबाट उपेक्षा र सदियौंदेखिको राज्य संरचनाका कारण फरक रुप र सारका शोषण आज पनि जारी छ । जातीय पहिचानको कुरा एकातिर उठिरहेको छ भने अर्कोतिर समाज सांस्कृतिक अन्तरघुलन भएर नयाँ सभ्यता र संस्कृतिको विकासको बाटोमा लागिरहेको छ । तर, आधुनिक विश्वको मान्यताले जातका आधारमा होचो अर्घेलो गर्ने युग सकिएको र काम र गुणको आधारमा मानिसको मूल्याङ्कन गर्ने युगको शुरुवात भएको छ । जाति, धर्म र संस्कृति मानिसलाई देश जत्तिकै प्यारो हुन्छ । मानव समाज वस्तुतः आ–आफ्नो स्वार्थ समूह हो । हाम्रा प्रत्येक व्यवहार तिनै स्वार्थद्वारा नियन्त्रित र निर्देशित छन् । आ–आफ्नो समूहको पहिचान, रक्षा र विकास गर्न खोज्नु स्वाभाविक हो ।

जैविक र व्यवहारगत चरित्रहरूको सामाजिक व्यवस्थापन हुन नसक्दा पहिचानको प्रश्न जन्मिन्छ । मुलुकका सबै जात, धर्म, भाषा र संस्कृति मान्नेहरुलाई राज्यले समान दृष्टिले नहेरेकै कारण जातीय समस्याका रूपमा पहिचानको प्रश्न जब्बर बनेको छ । उमेर, लिंग, वर्ण, शिक्षा, जाति, धर्म भाषा, संस्कृति, भूगोल, राजनीतिक आस्था आदि पहिचानका आधार हुन् । तहगत दृष्टिले व्यक्ति, परिवार, गाउँ, नगर र समुदाय, जिल्ला, प्रदेश र राष्ट्रस्तरका पहिचान हुन्छन् । न हरेक समयमा पहिचानका सबै आधार काम लाग्छन्, न सबै तहमा सबै पहिचान उत्तिकै महत्वपूर्ण हुन्छन् । व्यक्तिगत तहमा लिंग, उमेर र शिक्षाजस्ता पहिचान महत्वपूर्ण हुन् भने पारिवारिक स्तरमा पेशा, व्यवसाय र नाता सम्बन्ध । समुदायको तहमा जाति, संस्कृति र धर्मको पहिचान सशक्त हुन्छ भने प्रादेशिक तहमा भौगोलिक र वातावरणीय पहिचान महत्वपूर्ण छन् । राष्ट्रिय तहमा भौगोलिक, राजनीतिक, आर्थिक, सामरिक, प्राकृतिक स्रोतसम्पदा र जनसंख्या आदि सामथ्र्यहरूको समष्टिगत रूप नै पहिचान हो । यी सबै बिर्सेर अन्धाधुन्ध रुपमा पश्चिमा संस्कृतिको ठाडो नक्कल गर्नु घातक कुरा हो ।

आफ्नो जातीय, धार्मिक लगायतका पहिचानलाई बिर्सिएर आधुनिकताका नाम परत्रको संस्कृति अवलम्बन गर्ने हो भने जातीय अस्तित्व संकटमा पर्छ र जातीय विलोपीकरणको दिशामा जान्छ । यो यथार्थलाई मनन गरी आफ्नो संस्कृति संरक्षणको लागि जागरुक हुन जरुरी छ । प्रथमतः आफ्नो संस्कृतिको संरक्षणमा आफै लाग्नुपर्छ । राज्यको उपेक्षाका कारण आफ्नो जातीय संस्कृति संकटमा परेको, राज्यबाट विभेद भोग्नुपरेको र पश्चिमा संस्कृतिको बोलबाला बढ्दै गएको भनेर गुनासो गरेर मात्र हुन्न, लोप हुँदै गएको जातीय संस्कृति, पहिरन, खानपान, भाषा, रहनसहन लगायतका पहिचानको संरक्षण गर्नु सबैको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *