September 20, 2026

‘श्रमिकका मुद्दाहरु ओझेलमा’

0

अमित खम्बू
झापा, श्रमिकहरुको विषयमा सम्बन्धित निकायले चासो नदिएका कारण उनीहरुको मुद्दाहरु ओझेलमा पर्ने गरेको जिफन्ट राष्ट्रिय कमिटी सदस्य किशोर धमलाले बताएका छन् ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक) झापाको मंगलबार सम्पन्न आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा सदस्य धमलाले सो कुरा बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले श्रमिकहरुको मुद्दालाई सम्बोधन गर्न संगठनको सदस्यता विस्तारसँगै सबै एकजुट हुनुको विकल्प नभएको बताए ।
त्यसैगरी कार्यक्रमका अर्का सहभागी क्यूपेक नेपाल केन्द्रीय प्रतिनिधि परिषद् प्रमुख मनोहरि शिवाकोटीले देशभरका सबै पालिकाले श्रमिकको हितका लागि अनिवार्य श्रम डेस्क सञ्चालन गरेको खण्डमा श्रमिकको धेरै समस्याहरु
समाधान हुने बताए । ७५३ वटा पालिकामध्ये हाल १५(१६ वटा पालिकामा मात्र श्रमडेस्क सञ्चालन भइरहेको उनले जानकारी दिए । त्यस्तै जिफन्ट प्रदेश कमिटीका अध्यक्ष सन्तकुमार राई स्थानीय तहहरुमा श्रम डेस्क सञ्चालनको लागि पटक–पटक आफूहरुले प्रयत्न गर्दा पनि जनप्रतिनिधिहरुले चासो नदिएको आरोप लगाए ।
स्थानीय तहमा श्रम डेस्क सञ्चालन भएको खण्डमा श्रमिकहरुको सूचीकरणसँगै श्रम ऐनले तोके अनुसारको बीमा सुविधा प्राप्त गर्ने छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन् कार्यान्वयन नहुनु पनि श्रमिकहरुको अर्को समस्या भएको उनले बताए । क्यूपेक झापाका अध्यक्ष देवकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थामा लामो समय रहेर सेवा प्रदान गर्ने तीन जनालाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा पूर्वअध्यक्ष चैतन्यप्रसाद शिवाकोटी र सल्लाहकारद्वय रजवला राजवंशी र मनिराम अधिकारी रहेका छन् । कार्यक्रममा क्युपेक नेपाल प्रतिनिधि परिषद् उपप्रमुख कृष्ण बराल, क्युपेक नेपालका केन्द्रीय उपमहासचिव अम्बिरकुमार लिङ्देन, केन्द्रीय सचिव मुक्तिनाथ गिरी, क्युपेक नेपाल सुनसरीका अध्यक्ष बालकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा क्युपेक झापाले निर्माण गर्ने नयाँ भवनको लागि जिफन्ट प्रदेश कमिटीका उपाध्यक्ष राईले नगद ५० हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
सोही अधिवेशनले गंगा पासवानको अध्यक्षतामा नयाँ समिति गठन गरेको संस्थाकी कार्यालय सचिव सरस्वती बस्नेतले जानकारी दिइन् । नवगठित समितिको उपाध्यक्षमा मेनुका अधिकारी, सचिवमा निरानन्द गिरी, सहसचिवमा कमल निरौला र कोषाध्यक्षमा मुरारी पोखरेललाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा अशोक गिरी, खेमराज पोखरेल, डोरप्रसाद खनाल, दुर्गादेवी गुरागाईं, मणी खुदाङ, मालिकचन्द राजवंशी र मेघराज गौतमलाई चयन गरेको छ । १५ सदस्यीय समितिको बाँकी तीन जना सदस्य समितिको बैठकबाट मनोनयन गर्ने बताइएको छ । त्यस्तै अधिवेशनले प्रतिनिधि परिषद प्रमुखमा देवकुमार राई र उपप्रमुखमा उजनलाल राजवंशीलाई चयन गरेको छ । यता समितिको प्रमुख सल्लाहकारमा पुण्यप्रसाद पाठक र सदस्यद्वयमा गणेश गुरुङ र हरि राजवंशीलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *