September 20, 2026

वैदेशिक रोजगारमा सुधारको संकेत

0

झापा, झण्डै अढाई वर्षसम्म सुस्ताएको वैदेशिक रोजगार पुनः सुचारु भएको छ । कोरोना महामारीका कारण सुस्ताएको बैदेशिक रोजगार सुचारु भएको हो ।
वैदेशिक रोजगारी सुचारु भएसँगै दैनिक १५ सयभन्दा बढीले श्रम स्वीकृत लिन थालेका छन् । खाडी मुलुकबाट प्रशस्त माग आएपछि व्यवसायी उत्साहित छन् । अढाई वर्षसम्म सुनसान रहेको काठमाडौं श्रम कार्यालयमा अहिले बैदेशिक रोजगारीमा जानेहरुको भीड लाग्न थालेको छ । सेवाग्राही बढेपछि भीड थाम्न कार्यालयलाई हम्मे–हम्मे परिरहेको छ ।
गत साउनमा संस्थागत, व्यक्तिगत, वैधानिक गरी २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा मात्र ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको श्रम कार्यालयले जनाएको छ । यो क्रम हरेक दिन बढिरहेको छ ।कोरोना महामारीपछि बन्द रहेको मलेशिया अघिल्लो साताबाट खुलेको छ भने संयुक्त अरब इमिरेटस दुई साता अघिबाट खुला भएको हो ।
मलेशियाले कृषिजन्य क्षेत्रका श्रमिक मागेको छ भने दुबईमा सुरक्षा गार्ड र उद्योगबाट श्रमिकको माग आएको छ । खाडीमा कुवेत बाहेकका मुलुकबाट पनि श्रमिकको माग आइरहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
तिहार अघिसम्म कोरियाली भाषा परीक्षा पास गरेर बसेका १० हजार र इजरायली भाषा परीक्षा पास गरेका श्रमिकलाई पनि पठाउन शुरु गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । सामान्य अवस्थामा साढे चार लाख बढी श्रमिक वैदेशिक रोजगारीमा जाने गरेकोमा गत आर्थिक वर्षमा जम्मा १ लाख ६६ हजार मात्र गएका थिए ।
यो आर्थिक वर्षमा हजारौंको संख्यामा माग पत्र प्रमाणीकरण गर्ने विभिन्न दूतावासहरुमा निवेदन परेको र कोरोना महामारी पनि मथ्थर भएको हँुदा यो वर्ष विस्तार हुने अपेक्षा लिइएको छ । कोरोना महामारी शुरु भएसँगै वैदेशिक कामदार बन्द गरेको मलेशिया सरकारले अझैसम्म पनि अन्यत्र मुलुकबाट कामदार ल्याएको छैन । यता वैदेशिक रोजगार कार्यालय ताहाचलले वैदेशिक रोजगारमा जाने कामदारलाई सहजीकरण गर्न अनलाइन टोकन प्रणालीको शुरु गरे पनि घन्टौंसम्म लाइनमा बस्नु परेको युवाहरूको गुनासो छ ।
वैदेशिक रोजगारी पुनः चलायमान हुने संकेतसँगै ओरालो लाग्न थालेको विप्रेषण आप्रवाहमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *