फुकुयामाको इतिहासको अन्त्यको घोषणा र नेपाली समाजवादको सङ्कथन

योसिहिरो फ्रान्सिस फुकुयामा राजनीतिशास्त्रका ती समकालीन चिन्तकको नाम हो । जो सन् १९५२, अक्टोबर २ मा जन्मिएका थिए र सन् १९९० मा बर्लिनको पर्खाल ढलेपछि र रुस तथा पूर्वी युरोपमा साम्यवादको पतन भएको पृष्ठभूमिमा सन् १९९२ मा ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ भन्ने विवादास्पद पुस्तक प्रकाशित गरे । समाजवाद र साम्यवादको अन्त्य भएको र नवउदारवादी लोकतन्त्रको सार्वभौमिकता पुष्टी भएको उनको पुस्तकको सार रहेको थियो । यो पुस्तक नवउदारवादी अर्थराजनीतिज्ञहरू माझ मात्रै होइन, पूर्व प्रजातान्त्रिक समाजवादी तथा पूर्व कम्युनिष्टहरू माझ समेत गीता वा बाइबल झैं बन्न पुग्यो । यो पुस्तकलाई सिरानमा राखेर संसारभरका हजारौं कथित समाजवादीहरू रातारात नवउदारवादी पुँजीवादका अनुयायी बने । राजनीतिक पार्टीहरूका नाम फेरिए । उदार पुँजीवादी राज्यव्यवस्थाको विकल्प बाँकी नरहेको उद्घोष गर्नु पुस्तकको सार थियो । तर, नवउदारवादी आर्थिक–सामाजिक मार्गदर्शक सिद्धान्तमा उभिएर भए गरेका विकास र उन्नति हामीसामु छन् । इतिहासको अन्त्य भएको नभई इतिहास त फरक रुपमा वार्तुलाकार ढंगले पुनरावृत्त भइरहेको छ । के त्यसो भए सिद्धान्तको उपादेयता सकिएको हो ? उत्तरआधुनिकतावादी सिद्धान्त अनुरुप सबै विचार र सोचको विनिर्माण भएको हो ? उत्तरआधुनिकतावादीहरू सङ्कथन अर्थात् डिस्कोर्सलाई ज्ञान र अनुभव नमानी त्यसको विमर्श मान्छन् । कुनै ज्ञान वा अनुभवको कथ्य शब्दमा विमर्श नै सङ्कथन हो ।
दोस्रो विश्वयुद्ध पछिको अमेरिकी तथा युरोपेली परिवेश बदलिएको छ र नवीन अनुभूतिले जन्म लिएको छ । दोस्रो विश्वयुद्धमा भएको भयङ्कर मानव विनाशको भयावहताका साथै जापानका नागासाकी र हिरोसिमाको जस्ता डरलाग्दा परिणामको अनुभूति, हिटलरको सर्वसत्तावादी चरम दमन, निरन्तर चर्किंदो शीतयुद्ध र विश्व मानव तथा प्रकृतिको सर्वनासको आणविक खतरा, जातीय कटुता र विभेदको खाडल, सूचना प्रविधिको अभूतपूर्व विकास आदिका कारण वर्तमान विश्वकै परिवेशमा ठूलो अन्तर आएको छ । सांस्कृतिक विनाश, मूल्यमान्यताको विघटन, विज्ञानको अभिशापयुक्त स्वरूप, आर्थिक विषमता, जीवनगत जटिलता आदिका कारण मानिसको सोचाइमा नै परिवर्तन आएर उत्तरआधुनिकतावादले आफ्नो स्वरूप ग्रहण गरेको हो । विश्वको यस परिवर्तित परिवेशका कारण चिन्तनका प्रत्येक क्षेत्रमा नौला–नौला विषयहरूको प्रविष्टि भएको छ भने परम्परित ढङ्गमा कुनै विषयवस्तुको विश्लेषण, नामाकरण वा वर्गीकरण गर्न कठिन हुन्छ । उत्तरआधुनिकतावादीहरू केही पनि अन्तिम सत्य हुँदैन, त्यो आभास मात्र हुन्छ भन्छन् । विषय र प्रयोगको अत्यधिक विविधता र नवीनता उत्तरआधुनिकतावादको एउटा खास विशेषता नै हो ।
नेपालमा नेकपा एमाले र माओवादी केन्द्रको मुख्य साझेदारी रहेको वामगठबन्धनले सुविधाजनक बहुमत ल्याएक थिए २०७४ सालको आम निर्वाचनमा । पार्टी एकीकृत गरी उनीहरुले नेकपा बनाए । तर, यतिबेला कम्युनिष्ट आन्दोलनमा विभाजन आएको र वामपन्थी सरकार ढलेको अवस्था छ । वामशक्ति मिलेर नयाँ कम्युनिष्ट पार्टी बनाउने र समाजवादको आधार तयार गर्दै अघि बढ्ने वाचा फगत आश्वासन मै सीमित भएको छ । जीवनका लागि सिद्धान्त कि सिद्धान्तका लागि जीवन भन्ने बहस समाजवादी राज्यव्यवस्था निर्माणसँग जोडिएको विषय हो । जर्मन कवि गोयथेका शब्द सापटी लिएर एंगेल्सले सन्दर्भ उठाए झैं सिद्धान्तको रंग खैरो हुन्छ र जीवनको रंग हरियो हुन्छ । यो पृष्ठभूमिमा नेपालमा वामपन्थी पार्टीहरु आफूलाई वैज्ञानिक समाजवादको हिमायती ठान्छन् । सबैभन्दा ठूलो वामपन्थी दल नेकपा एमाले जनताको बहुदलीय जनवादको उपादेयता नसकिएको र भविष्यको मार्गचित्र कोर्नका लागि जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा अङ्गीकार गर्छ । निश्चय नै अबका समस्या हल गर्नका लागि नयाँ सिद्धान्त निर्माण गर्न आवश्यक हुन्छ । चुरो प्रश्न भनेको के हो भने जनताको बहुदलीय जनवादको सार्वकालिकता अझै बाँकी रहेको छ ? सिद्धान्तको कवजमा आफ्नो हात माथि पार्ने प्रपञ्च हुनु गलत मात्र होइन, जनताप्रतिको धोखाधडी हुन्छ ।

वर्तमानको पुस्तालाई नयाँ सिद्धान्त अनुरुप मार्गनिर्देशन दिनुपर्ने हुन्छ । निर्विकल्प भन्ने कुरा संसारमा केही पनि हुन्न । एकाथरी नेपाल पुँजीवादी चरणमा प्रवेश गरेको, अर्धसामन्ती र अर्धपुँजीवादी राज्यव्यवस्था बदलिएर जनवादी–पुँजीवादी राज्यव्यवस्था शुरु भएको मान्दछन् भने अर्को पक्ष अर्धसामन्ती र अर्धपुँजीवादी राज्यव्यवस्था कायम रहेकोमा विश्वास गर्छन् । उनीहरुको विचारमा जनवादी क्रान्ति अझै बाँकी छ । अर्काथरी यसको खण्डन गर्दै समाजवादको विभिन्न चरण र उपचरणमा पनि जबजको सार्वभौमिकता रहेको र रहिरहने बताउँछन् । यी सबैभन्दा अलग विचार राख्ने अर्को ठूलो पंक्ति पनि छ । उत्तर आधुनिकतावादी सोच बोक्ने पंक्ति हो त्यो । सिद्धान्त केही होइन, व्यवहारवाद सबथोक हो, वितरण केही होइन, आर्थिक वृद्धि सबथोक हो भन्ने, पहँुचलाई नै योग्यताको कसी ठान्ने र तिनले मात्रै राज्यमा सबै थोक गर्न पाउनुपर्छ भन्नेहरू पनि छन् ।
वामपन्थीहरूले आपूmले देखेको कुवाभन्दा बाहिर पनि संसार हुन्छ, त्यहाँ विचरण गर्नेहरू पनि छन् भन्ने बुझ्न जरुरी छ । अर्को विचारधारा बोकेका विद्वानहरूले संसारको ताजा राजनीतिलाई कसरी विश्लेषण गर्छन् र त्यो विश्लेषणमा आफू कहाँ रहेका छौँ, आफ्नो स्थिति के रहेछ भन्ने बुझ्न पनि जरुरी छ । वास्तवमा माक्र्सवाद भनेको समाजको व्याख्या र विश्लेषण मात्र गर्ने शास्त्र होइन, यो त जीवनदर्शन र शैली पनि हो । माक्र्सवादको आलोकमा साम्यवादी सपनालाई साकार तुल्याउन सम्पूर्ण सामाजिक, राजनीतिक र आर्थिक क्रान्ति गर्न जरुरी छ भन्नेमा विश्वास गर्छन् कम्युनिष्टहरु । माक्र्सले संसारको व्याख्या गर्ने मात्र होइन, परिवर्तन गर्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनको वकालत गरेका छन् ।
इतिहासको अन्त्य भएको र माक्र्सवादको सार्वभौमिकता र सार्वकालिकता सकिएको पटक–पटक सिद्ध गर्न खोजिएको छ । तर, आज संसारमा सबैभन्दा बढी कुनै सिद्धान्तले प्रभावित गरेको छ भने त्यो माक्र्सवादले नै छ । माक्र्सवादको मानवीय स्वरूप र शोषणमुक्त समाजको आह्वानले यस दर्शनले बीसौं शताब्दीभरि एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिका सबै भूगोललाई प्रभावित ग¥यो । शोषणविहीन राज्यको परिकल्पनासहित स्थापित सोभियत संघ, पूर्वी युरोपका केही देशमा समाजवादी सरकार स्थापना भए । समाजवादी मुलुकमा नयाँ समाजमा नयाँ मान्छेको जन्म हुने विश्वास गरियो । समय बित्दै जाँदा त्यहाँ सर्वहारा वर्गको अधिनायकत्वको नाममा कम्युनिष्ट पार्टी अर्थात् पोलिटब्युरोको अधिनायकत्व लागू गरियो ।
पुँजीवादी संसारभन्दा समाजवाद उन्नत हुने दाबी गरिएको पूर्वी युरोप र सोभियत संघका समाजवादी व्यवस्था सन् १९९० मा आइपुग्दा पुँजीवादी संसारसँगको शीतयुद्धमा पराजित भयो । माक्र्सवादको राजनीतिक प्रयोग माओले सन् १९४९ मा चीनमा गरे । यो माक्र्सवादको तेस्रो विश्वमा गरिएको सफल प्रयोग थियो । तर, यसबाट पनि अपेक्षित परिणाम नआएपछि सन् १९७६ मा माओको निधनपछि देङसियाओपिङको नेतृत्वमा चीन पुँजीवादी अर्थप्रणालीतर्फ लाग्यो । कम्बोडियामा साम्यवादको नाममा कलंक नै बन्यो । माक्र्सवादको मुख्य राजनीतिक उद्देश्य पुँजीवादी विश्व व्यवस्था बदलेर त्यहाँ समाजवादी विश्व व्यवस्था ल्याउने हो, तर माक्र्सवादको प्रयोगमा साम्प्रदायिक खण्डीकरण हुनु विश्वव्यापी यथार्थ बनेको छ । वास्तवमा विश्व कम्युनिष्ट आन्दोलनमा र नेपालको कम्युनिष्ट आन्दोलनमा कमजोरी भएकै हुन् ।
नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको रटान लगाएर नवउदारवादी पुँजीवादी बजार अर्थतन्त्रको अभ्यास गराउनु वा जनताको बहुदलीय जनवादको नाममा साम्यवादको जलपमा सारमा नेपाली कांग्रेसकै बाटोमा कम्युनिष्ट हिँड्नु वा स्वयम् चीनले समेत अस्वीकार गरेको माओवादको कल्की भिरेर सृजनशीलता र मौलिकतालाई ख्याल नगरी फेरि पनि सिद्धान्तकै लागि वर्तमान र भविष्यको पुस्ताको भविष्य नै ध्वस्त पार्दै दलीय र व्यक्तिगत स्वार्थकोे दुनो सोझ्याउनु नेपाली जनतामाथि गरिएको जघन्य अपराध हुनेछ ।
वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्थामध्ये सबैभन्दा उत्तम एवम् मानव–हितकारी विशेषताहरू भएको राज्यव्यवस्था मानिन्छ । वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, धर्मबीचका अन्तर्विरोधहरूलाई समाधान गर्दछ । साथै नयाँ समाज, नयाँ वर्ग, नयाँ अर्थसम्बन्ध एवम् नयाँ मानव जातिको विकास गर्दछ । वैज्ञानिक समाजवादका यी विशेषताहरू पुँजीवादी विशेषताभन्दा अतुलनीय रूपले उन्नत, सभ्य एवम् जनहितकारी छन् ।
यसरी हेर्दा वैज्ञानिक समाजवाद उत्कृष्ट विशेषताहरू भएको राज्यव्यवस्था हो । सन् १८४८ मा कार्ल माक्र्स र फ्रेडेरिक एंगेल्सले पुँजीवादका विरुद्ध वैज्ञानिक साम्यवादी घोषणापत्र लेखेका थिए । उनीहरुले पुँजीवादी उत्पादन सम्बन्धहरूले नै पुँजीवादी समाजको विकासलाई रोकिदिन्छन्, अनि जब उत्पादक शक्तिहरूले यी अड्चनहरू पार गर्न थाल्छन्, त्यसबखत तिनले सारा पुँजीवादी समाजलाई नै डगमगाइदिन्छन् र पुँजीवादी स्वामित्वको अस्तित्वलाई नै खतरामा पारिदिन्छन् भनेर लेखेका थिए । पुँजीवादी सम्बन्धहरू तिनीहरूद्वारा उत्पादित सम्पत्ति समाविष्ट गर्न अत्यन्त संकुचित हुन जान्छन् । कम्युनिस्ट घोषणापत्रमा उनीहरुले एकातिर, उत्पादक शक्तिहरूको एक ठूलो भागलाई नष्ट गरेर अनि अर्कोतिर नयाँ–नयाँ बजारहरू कब्जा गर्नुका साथै पुराना बजारहरूको पुरापुर शोषण गरेर भनी लेखेका छन् । तसर्थ भन्न सकिन्छ– समाजवादको जन्म पुँजीवादको गर्भबाटै हुन्छ । माक्र्स र एंगेल्स भन्छन्–‘जुन हतियारद्वारा पुँजीजीवी वर्गले सामन्तवादलाई ढालेको थियो, त्यो नै अहिले स्वयम् पुँजीजीवी वर्गका विरुद्ध मोडिएको छ । ती हुन् आजका मजदुरहरू, सर्वहाराहरू ।’
नेपाली समाजवाद कस्तो हुन्छ, तिनको विकास, सुदृढीकरण र रक्षा कसरी हुन्छ ? बन्दुकको बलमा समाजवादको रक्षा हुन नसक्ने सोभियत संघको दृष्टान्त हामीसामु छ । बहुदलीय प्रतिष्पर्धा र विश्वव्यापीरुपमा स्वीकार गरिएका लोकतन्त्रका मान्यताहरु नेपाली समाजवादी व्यवस्थामा हुन्छन् कि हुन्नन् ? सत्ता दलाल पुँजीवादी वर्गको हातबाट श्रमिक जनताको हातमा पुग्छ भनेको कम्युनिष्ट पार्टी मात्र खुला र अन्य पार्टी प्रतिबन्धित हुने हुन् ? समाजवादले सत्ता सञ्चालनमा पुँजीको हस्तक्षेप वा प्रभावको अन्त्य गर्नेछ, तर वैदेशिक सहयोगको भूमिका र स्थान कस्तो रहनेछ ? मुलुकलाई बाँकी विश्वबट अलग गरेर अघि बढ्न त्यति सहज हुने छैन । देशको राज्यव्यवस्था सञ्चालनमा भूमण्डलीकृत पुँजीवादको हस्तक्षेप अन्त्य गर्नु जवाफ नदिई नेपाली समाजवादको विकास गर्न त्यति सहज छैन । इतिहासका असल दृष्टान्त र सन्दर्भबाट शिक्षा लिँदै सुन्दर भविष्यको गोरेटो कोर्न जरुरी छ । सिद्धान्तहरुको नवीकरण हुन्छ, नवनिर्माण हुन्छ । बनेका सिद्धान्त अपुरा भए भने नयाँ बन्छन्, बनाउनुपर्छ । जीवन सधैँ अघिअघि र सिद्धान्तले सदैव जीवनको सेवा गर्नका लागि सिद्धान्त पछि–पछि हिँड्नुपर्छ । न सिद्धान्तको मृत्यु हुन्छ, न इतिहासको नै । नेपाली समाजवाद उत्तर कोरियाको जस्तो हुने छैन, यो त नेपाली विशेषतासहितको हुनेछ ।
