कार्की परिवारद्वारा विद्यालयलाई एक लाख रुपैयाँ सहयोग
दुहागढी ।

आफ्ना दिवंगत आमाको वार्षिक पुण्य तिथीको अवसर पारेर स्थानीय कार्की परिवारले बाल सुबोधिनी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
आफ्नी दिवंगत माता होम कुमारी कार्कीको वार्षिक पुण्य तिथीको अवसरमा आयोजना गरिएको सप्ताह पुराणको समापनको अवसरमा बाल सुबोधिनी माविका संस्थापक अध्यक्ष स्व. विष्णुकुमार कार्कीका छोरी, बुहारी एवं कार्की परिवारले विद्यालयलाई सहयोग गरेको हो ।
पुराण समापन स्थलमा विद्यालयका प्रधानाध्यापक विश्व थापालाई स्व. कार्कीकी जेठी छोरी लता मैनाली र बुहारी कमला कार्की सहित दाताहरुले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रमका बिच कार्की परिवारले स्थानीय पञ्चेश्वर शिवालय मन्दिरका अध्यक्ष हरिप्रसाद घिमिरे र सचिव प्रेम प्रसाद मिश्रलाई समेत मन्दिरको विकासका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए । रकम ग्रहण गर्दै विद्यालयका प्रअ थापा र मन्दिरका अध्यक्ष घिमिरेले दाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।
