September 13, 2026

शहीद जस्तै शहीद कति छन् हामी कहाँ ?

0

‘शहीद’ शब्दलाई अचेल राजनीतिक कार्यकर्ता, विद्रोही संगठन, धार्मिक अगुवा वा पहिचानवादी अभियन्ताले आ–आफ्नै उद्देश्य र स्वार्थ अनुरुप अथ्र्याउन थालेका छन् । शब्दकोशमा भने– ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संंरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तित्व’ भन्ने अर्थ दिइएको छ । पञ्चायतकालभरि राणा शासनविरुद्ध ज्यान दिनेलाई शहीद भनियो ।

२०४६ पछि पञ्चायतकालमा प्रजातन्त्रका लागि मर्ने/मारिनेहरु शहीदको पहिलो पंक्तिमा आइपुगे । अरु त अरु २०३६ पछाडि तत्कालीन प्रम.सूर्यबहादुर थापाको इशारामा मारिएका भनिएका धनकुटा, छिन्ताङका १६ जनालाई उनकै छोरा सुनिलबहादुर थापा मन्त्री हुँदा उनका प्रस्तावमा २०७४ मा शहीद घोषणा गरियो । यसमा मारिएका नागरिकको बलिदानप्रति सम्मान भाव कति छ, दलगत राजनीतिक स्वार्थ कति छ, लेखाजोखा गर्ने आवश्यकता कसैले ठानेन् ।

२०७३ मा तत्कालीन एमालेको मेची महाकाली अभियानताका मधेसवादीसँग झडप भयो । पाँच प्रदर्शनकारी मारिए । तिनलाई शहीद भनियो र परिवारलाई दश–दश लाख रुपैयाँ प्रदान गरियो । त्यो मृत्यु अस्वस्थ दलीय स्वार्थी झडपका कारणले भएको थियो कि सार्वजनिक र राष्ट्रिय सवालमा भएको थियो, कसैले छलफलसम्म गरेन । बरु पछिल्ला वर्षमा ‘मधेस आन्दोलनमा मर्न आऊ, पचास लाख दिन्छौँ ।’ भनेको सुन्नमा आयो । माओवादीको सशस्त्र विद्रोहताका राज्यपक्षले आतंककारी भनेर घोषण गरिएका विद्रोहीहरुलाई माओवादीकै सत्तानेतृत्व कालमा शहीद घोषणा गरियो । त्यसपछि मात्र विद्रोहीद्वारा मारिएका सेना, प्रहरी र गुप्तचर शहीदका कोटीमा दरिए । मार्ने पक्ष र मर्ने पक्ष दुबै शहीद ! अनि दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनका मृतकहरु शहीद घोषणा गरिए । हुँदा–हुँदा २०७४/०७५ तिर आपराधिक समूहले मारिएका रुपन्देहीका दुर्गा तिवारी, बसन्त पौडेल र सुनसरीका मौलाना खुर्सिद अन्सारीसम्म शहीद भनिए ।

पछिल्ला शहीद अन्सारीबाट शुरु भएको यो लम्बेतान सूची राणाकालका चार अमर शहीदसम्म तानिन्छ र प्रथम शहीद मानेर लखन थापालाई समेटिन्छ । पञ्चायत कालमा शहीद सम्बन्धी अवधारणा प्रष्ट पार्न नवराज सुवेदीको संयोजकत्वमा राजा महेन्द्रका पालामा बनेको आयोगको प्रतिवेदन त कार्यान्वयन भएन–भएन, प्रजातन्त्र पुनस्र्थापनापछि मोदनाथ प्रश्रित आयोगले दिएको प्रतिवेदन समेत थन्क्याइयो । अब प्रश्न उठ्न सक्छ– उल्लिखित शहीदहरु एउटै कोटीमा पर्छन् ? यस प्रश्नको उत्तर खोज्नुअघि राणाकालका चार अमर शहीदको अन्त्यकालको किस्सा सुनौं–

किस्सा– १

शुक्रराज शास्त्री प्रजापरिषदसँग पूर्णतः असम्बद्ध व्यक्ति थिए । धार्मिक प्रवचनद्वारा जागरण फैलाउने काममा प्रवृत्त शास्त्रीका पिता÷पितामह आर्यसमाजी थिए । अतः राणा दरबारका चाकरीबाज हिन्दू पण्डित यिनलाई दुश्मन ठान्थे । पर्चाकाण्डपछि पक्राउ परेका प्रजापरिषद्का नेता कार्यकर्तासँगै यिनलाई फाँसीको सजाय सुनाइयो । माघ १०, १९९७ राति यिनलाई फाँसीमा चढाउनुअघि अन्तिम इच्छा सोधियो । कर्नेल नर शमशेरको टोलीले ‘नुहाएर गीता पुस्तकलाई ढोगी आफ्नै हातले पासो लाग्ने’ उनको इच्छा पूरा गर्ने व्यवस्था मिलायो ।

हातले पासो छुनै लाग्दा २५÷३० मानिसको हुल पेट्रोमेक्स बालेर हल्ला गर्दै त्यतै आएको देखियो । विद्रोही आक्रमण गर्न आएछन् भनी कर्नेलसहित सबैको भागोरेभाग भएछ, तर ती विद्रोही रहेनछन् । भोज खाएर फर्केका स्थानीय पो रहेछन् । भागेकाहरु पुनः भेला भए । ‘शास्त्री’ त्यहीँ उभिरहेका थिए । उनलाई भाग्ने अवसर थियो । तर, उनी यति निष्ठाबद्ध र नैतिक थिए कि आफ्नो ज्यानको मूल्यमा पनि इमान छोड्न रुचाएनन् । फाँसीमा आफूलाई हाँसी–हाँसी प्रस्तुत गरे । यिनको तुलना आजका कुन–कुन शहीदसँग गर्न सकिन्छ ?

किस्सा–२

माघ १३ मा झुण्ड्याएर मार्न ठिक पारिएका धर्मभक्त माथेमा बडिबिल्डर थिए । राजा त्रिभुवनका व्यायाम शिक्षक रहेका माथेमालाई झुण्ड्याउन डोरी बाँधिएको हाँगो लच्किएर खुट्टाले भुइँ छोएपछि डोरी फुकाएर अर्को हाँगामा बाँधियो । त्यो हाँगो पनि भाँच्चिएर माथेमा भुइँमा लडे । घाँटीमा बाँधिएको डोरी यसरी कस्सिएछ कि त्यो निकाल्न पनि सकिएन, अर्को डोरी त्यसैमाथि बाँध्न पनि मिलेन । अनि कर्नेल नर शमशेर आफैले छुरीले डोरी काट्ता माथेमाको गालादेखि चिउँडोसम्म चिरेछन् । माथेमाले त्यस विषम् र प्रतिकूल अवस्थामै पनि जमाएर लात्तीले नर शमशेरलाई ठोकेछन् । शमशेर पाँच हात पर उछिट्टिए । रिसले आगो बनेका कर्नेलले सिपाहीलाई माथेमामाथि लाठी बजार्ने आदेश दिएछन् । अनि १२÷१५ सिपाहीको कुटाइले मुर्छा परेका माथेमालाई झुण्ड्याएछन् । माथेमासँग अहिलेका कुन–कुन शहीदसँग दाँज्न सकिएला ?

किस्सा–३

माघ १५, १९९७ मा शोभा भगवतीमा गोली ठोकेर मार्ने प्रयोजनका लागि झन्डै ४० वर्षका दशरथ चन्द र २२ वर्षका गंगालाल श्रेष्ठलाई आधाराततिर लगियो । दुई जना पोडेलाई रक्सीले मताएर गोली हान्न तम्तयार पारिएको थियो । तर, चन्द र श्रेष्ठका बीच एउटा बहस छेडियो कर्नेल नर शमशेरको टोलीलाई आश्चर्यमा डुबाउँदै । चन्द भन्ने– पहिला गंगालाललाई गोली ठोक अनि मात्र मलाई मार । गंगालाल भन्ने– होइन ! पहिला चन्दलाई मार । अनि मलाई मारौला । यो अर्कालाई चाहिँ पहिला मार्ने कुरा आफू मर्न डराएकाले वा पछिबाट कुनै उपायले बाँच्ने अवसर छोपूँला भनेर होइन रहेछ । खासमा राणाहरुले यिनलाई माफी मागे सजाय कटौती गर्ने बचन दिएका रहेछन् । चन्दलाई लागेछ– आफूलाई गोली हानेर लडेको, पीडाले छटपटाई कराएको, आलो रगत बगेको र अन्त्यमा प्राणपखेरु उडेको विभत्स दृश्य देखेर केही दिनअघि मात्र बाबु बनेका २२ बर्षे बाँको जवान गंगालाल डराउला र माफी माग्ला । सजाय घटाउनतिर लाग्ला । यसो भएमा संगठन र संघर्षको अपमान हुनेछ ।

विद्रोहका कुनै ओजन रहने छैन । चन्द आफू त कस्तै दृश्यले पनि राणाका अगाडि झुक्ने छैनन् त्यसैले पहिला गंगालाललाई ठोक्ने अनि आफूलाई । तर, गंंगालालको जिरह थियो– स्वेच्छाचारी, जहाँनियाँ राणाशासनको विरुद्ध संघर्षको मैदानमा ओर्लिएको मलाई त्यस्तो काँतर किन सम्झन्छौ ? म त्यति लाछी छैन । प्रमाणित गरेर देखाउँछु– पहिले चन्दलाई ठोक गोली, अनि मलाई मारौला । कसलाई पहिला मारियो ? कसरी मारियो ? यी जिज्ञासा अहिलेलाई छोड्नुहोला । बरु यस प्रश्नको चाहिँ उत्तर खोज्नुहोला– यी शहीदसँग प्रजातन्त्र प्राप्तिपछि सरकारले घोषणा गरेका कुन–कुन शहीदको तुलना गर्न सकिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *