शहीदहरुको सम्झना र सम्मान
‘बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’ कवि भूपि शेरचरद्वारा रचना गरिएको कविताको उल्लेखित अंशले देशको समृद्धिका लागि वीरहरुको शहादत आवश्यक छ भन्ने आशय प्रकट गरेको छ । सृजनाको वाहक उज्यालो हो जुन सूर्यको उदयसँगै हुन्छ । त्यही सूर्योदयले कान्ति प्रदान गर्छ र पौरखीहरुले धर्तीमा पौरख र पसिना सिञ्चन गरेर ऐश्वर्य फलाउँछन् । त्यही ऐश्वर्य देशको समृद्धिको आधार बनिन्छ । त्यसैगरी देशको उन्नतिका लागि चेतनाको विकास हुनुपर्छ, विद्यमान अवरोध र विसंगति हटाउने चेतना शिक्षाको प्रकाशद्वारा प्रज्ज्वलित हुन्छ । हाम्रो देशको सन्दर्भमा ती महान आत्माहरु जसले जनतालाई सार्वभौम बनाउन, मानवअधिकार तथा स्वतन्त्रताको उपभोग गर्ने परिस्थितिको निर्माण गर्न शुक्रराज शास्त्री, धर्मभक्त, गंगालाल र दशरथ चन्दले आफूलाई समर्पित गरे । स्वतन्त्रता, नागरिक अधिकार स्थापित गर्ने एकलब्य लक्ष्य स्वीकार गरेर हाँसी–हाँसी मृत्युवरण गरे ।

आज माघ १६ गते । तिनै सपूतहरुको सम्झना र सम्मान गर्ने दिन । उनीहरुको सेवा र बलिदानले राणा शासनको अन्त्य गर्ने आधार तयार ग¥यो । राणाहरुको निरंकुश र स्वेच्छाचारी शासन व्यवस्थाको विरुद्ध आमजनतामा चेतना जागरण गर्ने वीर शहीदहरुको सम्झनामा एक हप्तासम्म विविध कार्यक्रमहरु गर्दै सम्मान गर्ने परम्परा रहेको छ । प्रजातन्त्र र जनताका पक्षमा वकालत गरेको अभियोगमा गोली हानेर र झुण्ड्याएर हत्या गरिएका उनै शहीदहरुको शहादत र योगदानको स्मरण र सम्मानसहित त्यही पथमा अग्रसर हुन आजको दिनले उत्प्रेरणा दिनु पर्दछ । आफ्नो देश, आफ्नो संस्कृति, अस्तित्व, स्वतन्त्रताप्रति सबैले गौरव गर्नु पर्दछ । यसले मात्र जातीय पहिचान जोगाउँछ, स्वाधीनता र राष्ट्रभक्तिको सर्वोच्चतालाई कायम राख्दछ । इतिहासको विभिन्न कालखण्डमा विभिन्न आरोह–अवरोहहरु हामीले पनि अनुभूत गरेका छौं । प्रजातन्त्र प्राप्ति पछिको निर्दलीय, ०३६ को जनमत संग्रह, ०४६ सालपछि बुहदलीय र ०६२–०६३ सालको जनआन्दोलनले स्थापित गणतन्त्रमा प्रवेश गरेको दिनसम्म आइपुग्दा पनि शहीदहरुको वलिदानले सार्थकता पाउन सकेको छैन । जनता अझै मालिक हुन सकेका छैनन्, जनमतको सम्मान गर्ने परिपाटी स्थापित हुन पाएको छैन ।
देश यतिबेला फेरि पनि अस्थिरता र द्वन्द्वतर्फ धकेलिएको छ । अझै पनि हाम्रा शासकहरुमा प्रजातन्त्रको मर्म र भावनालाई आत्मसात गर्ने मानसिकताको विकास भएको छैन । गणतान्त्रिक नेपालको शक्तिशाली प्रधानमन्त्रीले पनि प्रजातन्त्रको प्रत्याभूत गर्न नसकिरहेको अवस्थामा हाम्रा प्रथम शहीद लखन थापासहितका सम्पूर्ण चेतनाका उज्ज्वल नक्षत्रहरु प्रति सम्मान प्रकट गरौं । उनीहरुका आदर्श, निष्ठा र सत्संकल्पको अनुशरण गरौं । जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्न कृतसंकल्पित होऔं । मुख्यगरी हाम्रा शासक वर्गमा शहीद दिवस र शहीद सप्ताहले राष्ट्र र राष्ट्रभक्तिलाई शिरमा राखेर मातृभूमिको सेवा निःस्वार्थ भावले गर्न सक्ने ऊर्जा प्राप्त होस् । यो पावन अवसरमा शहीदहरुप्रति सश्रद्धा सम्मान प्रकट गर्दछौं ।
