किन महत्वपूर्ण छ नागरिक समाजको खबरदारी ?

राजनीतिमा अविश्वासलाई कसरी व्यवस्थापन गर्ने, राज्य र समाजको सम्बन्ध कस्तो हुनु पर्दछ भन्ने आफ्नै ढंगको शक्ति पृथकीकरणको सिद्धान्त हुन्छ । मान्छे शक्तिमा पुगेपछि अविश्वासबाट चल्छ । शक्तिसीनहरु माथि विश्वासको भन्दा अविश्वासको डण्डा धेरै चलाउने गरिन्छ । अहिले हाम्रो राजनीति पनि यही अविश्वासबाट प्रभावित भएको छ । हामी कसैलाई विश्वास गर्न सक्दैनौं । नेताहरुबाट शुरु भएको अविश्वासको संस्कृति बिस्तारै नागरिक तहसम्म जोडिन थालेको छ । हामी एकले अर्कालाई अविश्वासको नजरले हेर्ने कुरामा अभ्यस्त हुदैछौं ।
फ्रान्सेली क्रान्तिलाई हामी ‘रिपब्लिकन रिभलुसन’ भन्छौं । फ्रान्सेली क्रान्ति चार सिद्धान्तमा बाँधिएको छ– ऐक्यबद्धता, बन्धुत्व, स्वतन्त्रता र समानताका सिद्धान्त । अमेरिकी क्रान्तिलाई हामी ‘कन्स्टिच्युसनल रिभलुसन’ भन्छौं । त्यहाँ हरेक कुरा संविधानले निर्धारित गरेको हुन्छ । बेलायती प्रजातन्त्र ‘पपुलर डेमोक्रेसी’ हो । त्यहाँ जनताले संघर्ष गरेर राजाबाट शक्ति लिए । बेलायती संसदले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउनबाहेक सबथोक गर्न सक्छ भन्ने गरिन्छ । त्यो भनेको संसदको सर्वोच्चता हो । नेपाली जनताले संविधान सभामा भाग लिएर जनताबाट निर्वाचित प्रतिनिधिहरु मार्फत संविधान बनाए । जनताका प्रतिनिधिहरुले संविधान बनाएको हुनाले हामीले हाम्रो संविधानमा नागरिक सर्वोच्चतालाई राख्यौं । अर्थात्, नेपालको शासन प्रणाली नागरिक सर्वोच्चतामा आधारित शासन प्रणाली हो ।
हामी संगठित रहन र हरेक व्यक्ति, समुदाय, समाजको आकांक्षा प्राप्त गर्नका निम्ति हामीले साझा दस्तावेजको संविधान बनायौं । हाम्रो शासन व्यवस्थामा नागरिकको संवैधानिक सर्वोच्चता छ । हामी कसरी राज्य सञ्चालन गर्छौं ? राजनीतिक नेतृत्व निरंकुश हुन्छ कि त्यसमा अंकुश लाग्छ ? नागरिकले राज्यप्रति गर्नुपर्ने काम, कर्तव्य र अधिकार कस्तो हुन्छ ? यी सबै संविधानले तय गरेको छ । तर, नेपालका नेताहरुको व्यवहार हेर्दा लाग्छ, लोकतन्त्र उनीहरूले जनतालाई उपहार दिएका हुन् । जब कि, लोकतन्त्र नेपाली जनताको लामो संघर्षबाट आएको हो । जनताले बनाएको संविधानले सबैलाई बाँधेको छ । नेपालका नेताहरु भने संविधानले उनीहरुलाई होइन जनतालाई मात्र बाँध्ने हो भन्ने मानसिकतामा रहेका देखिन्छन् । वर्तमान नेपाली राजनीतिमा अहिले यही विषयले विडम्बना निमत्याएको छ ।
राज्य सञ्चालनका लागि संविधान र संविधान अनुरुप निर्माण भएका कानूनहरु छन् भने दल सञ्चालनका लागि विधान छन । नेपालका हरेक पार्टीहरूको आ–आफ्नै विधान छ । हरेक दलका सदस्यहरु तोकिएको विधानको पालना गर्न बाध्य छन् । कार्यकर्ता तहमा विधानको पालनाको विषयलाई कठोरतापूर्वक प्रयोग गरिन्छ । तर, नेताहरु त्यसअनुरूप चल्दैनन् । उनीहरुमा अराजक प्रवृत्ति छ । आफू अनुकूल विधानको व्याख्या गर्ने र त्यसको कार्यान्वयन गर्न खोज्ने छाडा प्रवृत्ति नेताहरुमा देखिन्छ । जसका कारण नेपालका हरेक दलहरु भित्र विवादका श्रृंखला एकपछि अर्को रुपमा देखिइ रहेका छन् । नेताहरुलाई सबै कुरा म मात्र हुँ भन्ने लाग्न थालेको छ । नेताहरुमा पलाएको यो मानसिकताले उनीहरुप्रतिको विश्वास घटिरहेको आभाष उनीहरुमा देखिँदैन ।
नेपाली राजनीतिमा वीपी कोइराला कसैले नबिर्सने पात्रका रुपमा रहनुभएको छ । एकपटक वीपी कोइरालाले राजा महेन्द्रलाई भनेका थिए– ‘महाराज, देश नरहे पनि विराटनगर त रहन्छ, म किसानी गरौंला तर मौसुफ कहाँ सवारी हुन्छ ?’ । अहिले हाम्रा नेताहरू पनि महाराज जस्तै भइसक्नु भए जस्तो छ । ठूला तथा साना नेताहरुको यो कार्यशैलीले कार्यकर्ता तहमा जुन प्रकारको वितृष्णा उत्पन्न हँुदैछ त्यो ती नेताहरु कै लागि प्रत्युत्तपादक हुँदैछ । कार्यकर्ता त कुनै पनि स्थानमा रहला त्यसले उसलाई खासै फरक नपर्ला, तर कार्यकर्ताविहीन नेताहरुको अवस्था के होला ?
हामी सबैलाई थाहा छ, लोकतन्त्रको आधार दल हो । लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा छान्न र रोज्न पाउने अधिकार हो । आफूलाई लागेको कुरा गर्न पाउने, संगठन गर्न पाउने, संघ–संस्था खोल्न पाउने, स्वतन्त्रतापूर्वक सम्मानित रुपमा जीवन जिउन पाउने अधिकार हो । तर, दलहरूलाई के लागेको छ भने जतिसुकै हल्ला गरे पनि हाम्रो विकल्प छैन । भोलि चुनाव हुँदा हामी नै छानिने हौं । जतिसुकै रिसाए पनि भोट दिने हामीलाई नै हो । त्यही भएर नेताहरूमा दम्भ पलाएको छ । उनीहरु अराजक बनेका छन । जनतालाई त के आफ्ना कार्यकर्तालाई समेत उनीहरु टेर्दैनन् । यही अराजकता र दम्भले दल र देश दुबैमा समस्या आइरहेको छ ।
हामीबीचमा एउटा समस्या छ । सबै नेता ठीक छैनन् भन्ने हो भने नेता बिनाको दलको कल्पना गर्न सकिँदैन । सबै दल ठीक छैनन् भन्ने हो भने दलबिना लोकतन्त्र हुँदैन । त्यही भएर अन्ततः हामी कतै न कतै सम्झौता गर्दछौं । हामीले गरेको यस्तो सम्झौतालाई दलहरु नागरिकको कमजोरीका रुपमा ठान्न थालेको देखिन्छ । त्यही भएर दलहरुको जनतासँगको संवाद कमजोर छ । त्यो किन भने नेताहरुका आ–आफ्ना कार्यकर्ता छन् । कार्यकर्ता भएपछि ईसारामा दगुर्ने हो । नेताले जे भने पनि टाउको हल्लाउने, मुट्ठी उचाल्ने र सडकमा दौडने हो । उनीहरु नेताप्रति यति बफादार हुन्छन कि आफूले रुचाएको नेता बाहेक अरु केही देख्दैनन् र देख्न पनि चाहँदैनन् । राजनीतिक रूपमा सक्रिय हुनेहरु कार्यकर्ता बनेका छन् । कार्यकर्ता हुने बित्तिकै गुट–उपगुटमा गएका छन् । दलहरु भित्रको यही गुट र उपगुट नेपालको राजनीतिमा अहिले हावी भइरहेको छ ।
नेपाली राजनीतिमा अहिले दुईवटा शब्दीय संस्कार हावी भएका छन् । पहिलो– अविश्वासनियताको संस्कार र दोश्रो हो– षडयन्त्र मात्र देख्ने संस्कार । यी दुईवटा संस्कारलाई पछ्याएको नेपालको राजनीति र नेपाली नेताहरुको मानसिक प्रवृत्तिले राजनीतिलाई दुर्गन्धित बनाउन थालेको छ । एक दलको नेताले अर्को दलको नेता माथिको विश्वासको त कुरै छैन, आफ्नै दलका नेता साथीहरु माथिको विश्वास पनि कतै देखिँदैन । हरेक नेताका गतिविधिहरुमा हरेक नेताले आफूविरुद्धको षडयन्त्र मात्र देख्ने गरेका छन् । अविश्वास प्रकट गर्ने गरेका छन् । वर्तमानमा चरम विवादमा रहेको नेकपामा होस् या नेपाली कांग्रेसका नेताहरुमा मात्र होइन जसपा र राप्रपादेखि साना दलहरुमा पनि यही प्रवृत्ति देखिन्छ । हरेक कुराको व्याख्या गर्दा षड्यन्त्रको आँखाले मात्र हेर्नुको अर्थ भनेको आफ्नो निर्णय आफैँ लिनसक्ने, आफैँ सोच्न सक्ने क्षमता गुमाउनु हो । अहिले नेपाली नेताहरु त्यस्तै देखिन थालेका छन् ।
नागरिक समाजलाई थाहा छ, नेता कमजोर हुनु भनेको राजनीतिक दल कमजोर हुनु हो । राजनीतिक दल कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । लोकतन्त्र कमजोर हुनु भनेको अराजकता वा निरंकुशताले प्रवेश पाउनु हो । लामो समयदेखि लोकतन्त्रको लागि संघर्षरत् नागरिक समाज यो देशलाई अराजकता र निरंकुशताको अँध्यारो सुरुङ्गमा धकेलिएको देख्न चाहँदैन । त्यसैले पनि नेपालका राजनीतिक दलहरु माथि नागरिक समाजको खबरदारी यो देशका लागि जरुरी छ ।
