कोरोनाको आशंकामा दुई युक्रेनी नागरिकलाई काँकरभिट्टाबाट फिर्ता
लक्ष्मी उप्रेती
काँकरभिट्टा, नेपाल घुम्न आएका दुईजना युक्रेनका नागरिकलाई विहीबार पूर्वीनाका काँकरभिट्टाबाट फिर्ता पठाइएको छ ।
३४ वर्षीय एन्ड्रील आइागिन र ४३ वर्षीया ओलिना क्लिनिकोलाई काँकरभिट्टाबाट पुनः भारततर्फ नै फिर्ता पठाइएको हो ।

दुवैमा ज्वरो देखिएका कारण नोवल कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकमा नेपाल प्रवेशमा रोक लगाउदैं भारततर्फ पठाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले जिल्ला प्रशासन कार्यालय झापामा जानकारी गराएपछि उनीहरुलाई भारततर्फ नै फिर्ता पठाउने भनेपछि फिर्ता पठाइएको हो ।
काँकरभिट्टामा रहेको कोरोना भाइरस परामर्श सहायता कक्षमा तीनपटक सम्म उनीहरुको ज्वरो नाप्दा १ सय डिग्री फरेनहाइटसम्म ज्वरो देखिएको थियो । ओलिनाको पहिलो पटक ज्वरो नाप्दा ३७ डिग्री सेन्टिग्रेड तथा दोस्रो र तेस्रोपटक नाप्दा १ सय र ९९ डिग्री फरेनहाइट ज्वरो देखिएको काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख तालबहादुर खड्काले बताउनुभयो ।
पूर्वीनाकामा आइसोलेसन नभएका कारण दुवैलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएपनि उनीहरुले आफूहरु अस्पतालमा नबस्ने बरु फिर्ता जाने बताएका थिए । एउटै व्यक्तिमा ज्वरो आउनु, रुघामर्की लाग्नु श्वासप्रश्वासमा समस्यादेखिए तत्काल स्वास्थ्यकर्मीले एम्बुलेन्सको व्यवस्था गरी स्वयम् आइसोलेसनमा लैजाने व्यवस्था छ । तर उनीहरुमा ज्वरोमात्र देखिएका कारण फिर्ता पठाइएको हो ।
सहायतकक्षमा खटिएका स्वास्थ्यकर्मीका अनुसार उनीहरु दिल्ली दार्जिलिङहुदै पैदलमार्ग भएर पुर्वीनाका हुदै काठमाण्डौसम्म हिडेका थिए ।

पूर्वीनाकाबाट नोवल कोरोना भाइरस रोग भित्रिन नदिन १२ घण्टे हेल्थ डेक्समार्फत विशेष सजगता अपनाइएको छ । १४ माघमा स्थापना गरिएको नोवल कोरोना भाइरस परामर्श सहायता कक्षमा अहिलेसम्म ९ सय ३१ जनाको स्क्रिनिङ गरिएको छ । विहिबारमात्र ३ सय ४१ जनाको स्क्रिनिङ गर्दा दुईजनामा ज्वरो देखा परेको थियो । ज्वरो १ सय ४ डिग्री फरेनहाइट माथि आउनु, घाटी र टाउको दुख्नु, रुघा र खोकी लाग्नु तथा श्वासप्रश्वासमा समस्या देखिनु यो रोगको लक्षण रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताउनुभयो ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालय झापाको समन्वय तथा सहजीकरणमा सहायता कक्षा स्थापना गरिएको हो ।
केहीदिनअघिमात्र नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको चिकित्सकसहितको टोलीले नोवल कोरोना भाइरस परामर्श सहायता कक्षको स्थलगत अवलोकनसहित अन्तरक्रिया समेत गरेको थियो ।
