July 7, 2026

किसानलाई आत्मनिर्भर बनाउँदै एनएमसी

0

बिर्तामोड।

गतवर्षको असारमा झापा गाउँपालिकाका किसानले दूध नबिकेको भन्दै सडकमै दूध पोखेर बिरोध जनाए ।
‘मिल्क होलिडे’का कारण किसानबाट संकलन गरिएको सबै दूध उठाउन नसकिएको भन्दै नेपाल वहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले किसानले उत्पादन गरेको सबै दूध खरिद नगर्दा किसानले सडकमा दूध पोखेर विरोध जनाएका थिए । तर, अहिले भने झापाका किसानले उत्पादन गरेको दूध नबिक्ने समस्या हटेर गएको छ ।

नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले किसानले उत्पादन गरेको दूध खरिद गर्दै विभिन्न परिकार बनाएर बिक्री गर्न शुरु गरेसँगै झापाका पशुपालक कृषकले दूध बेचेरै मनग्ये आम्दानी गर्न शुरु गरेका छन् । अहिले झापाका झण्डै चार हजार किसानले नेपाल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको डेरी उद्योगलाई दूध बिक्री गर्दै आएका छन् ।
झापाका विभिन्न क्षेत्रका किसानले २९ वटा चिस्यान केन्द्र मार्फत डेरी उद्योगलाई दूध बिक्री गर्ने गरेको एनएमसी डेरी उद्योगका प्रशासकीय अधिकृत नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार झापाका विभिन्न स्थानबाट किसानले दैनिक १४ हजार लिटर दूध बिक्री गर्दै आएका छन् ।

झापा गाउँपालिकास्थित शरणामतीका किसानले डेरी उद्योगलाई सबैभन्दा बढी दूध बिक्री गर्दै आएका छन् । त्यस क्षेत्रका कृषक पशुपालन प्रति बढी आर्कषित भएका कारण दूध बढी उत्पादन हुने गरेको बताइएको छ । सहकारीले समेत पशुपालन गर्ने कृषकलाई प्रोत्साहन गर्दै रकम प्रदान गर्न थालेपछि व्यवसायिक पशुपालनतर्फ किसान उत्साहित भएका हुन् । यो संगै त्यस क्षेत्रका किसानले बढी दूध उत्पादन गर्दै आएको अधिकारीको भनाइ छ ।

अहिले शरणामतिका कृषकबाट २१ सय लिटर दूध चिस्यान केन्द्रमार्फत डेरी उद्योगलाई आउने गरेको बताइएको छ । शरणामति चिस्यान केन्द्रमार्फत संकलित दूध सोझै डेरी उद्योगको ट्याङ्करले उद्योगमा ल्याउने गरेको छ– अधिकारीले भने – शरणामतिबाट मात्र होइन झापाका विभिन्न स्थानबाट उद्योगले दूध संकलन गर्ने गरेको छ ।

किसानले सोझै उद्योगमा समेत दूध बिक्री गर्दै आएको बताइन्छ । सबैभन्दा बढी दूध बिक्री गर्ने कृषक मेचीनगरका रामकुमार ओली हुन् । उनले दैनिक चार सय लिटर दूध बिक्री गर्दै आएको बताइएको छ । ओलीले दाजुभाइ कृषि फर्म सञ्चालन गरेको र सो फर्ममार्फत सिधै उद्योगलाई दूध बिक्री गर्दै आएको बताइन्छ ।

सहकारीले २०७२ सालबाट डेरी उद्योग सञ्चालन गरेपछि सहकारीमा आवद्ध ३ सयभन्दा बढी किसान दूधमा आश्रित भएको बताइएको छ । सहकारीले दूध खरिद गर्न थालेपछि सहकारीमा आवद्ध नभएका कृषकले समेत पशुपालन गर्दै दूध उत्पादन गर्न शुरु गरेको प्रशासकीय अधिकृत अधिकारीले बताए । उनले भने– हाम्रा सदस्यका लागि सहकारीमार्फत विभिन्न शीर्षकमा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्दै ऋण लगानी गरिएको छ । तर, गैरसदस्यले पनि हाम्रा सदस्यको सिको गर्दै पशुपालन गरेर मनग्ये आम्दानी गरिरहेको छन् ।

हामीसँग जोडिएका तीन हजार किसान नियमित दूध विक्री गरेर मनग्ये आम्दानी गर्छन्– अधिकारीले भने– हाम्रा सदस्यसंगै समुदायका अन्य व्यक्तिले समेत दूध विक्री गरेर दूधलाई नै आम्दानीको मुख्य श्रोत बनाएका छन् ।

सहकारीमा अहिले न्यू शुलभ चिस्यान केन्द्र सुरुङ्गाबाट ५५०, शरणामती चिस्यान केन्द्रबाट २१ सय, आर्शीवाद चिस्यान केन्द्रबाट ५ सय, अन्नपूर्ण कृषि फर्मबाट ३ सय, नेपाल दूध उत्पादक सहकारी संस्थाबाट ३ सय, राजकृषक समूहबाट १ सय ५०, शान्तिनगर चिस्यान केन्द्रबाट ६ सय ५०, सिमलचौक चिस्यान केन्द्रबाट ७ सय लिटर दूध संकलन हुँदै आएको छ ।

त्यस्तै दूधे चिस्यान केन्द्रबाट ३ सय, हडिया चिस्यान केन्द्रबाट २ सय ५०, जीटुजी चिस्यान कन्द्रबाट ५५०, लगनशील कृषि सहकारी संस्थाबाट २ सय, किच्चकबध कृषि सहकारी संस्थाबाट २५०, हातेमालो कृषि सहकारी संस्थाबाट ३ सय, बाह्रघरे चिस्यान केन्द्रबाट ५ सय, कचनकवल कृषि सहकारी संस्थाबाट ५ सय, शान्तिनगर चिस्यान केन्द्रबाट २ सय ५०, लक्ष्मीपुर चिस्यान केन्द्रबाट २ सय ५०, पाँचगाछी चिस्यान केन्द्रबाट १२ सय ५० लिटर दूध संकलन हुने गरेको छ ।

त्यस्तै शिव चिस्यान केन्द्रबाट ५ सय, त्रिवेणी दूध संकलन केन्द्रबाट ६५०, गोल्धाप चिस्यान केन्द्रबाट ५ सय, वौद्धमोड चिस्यान केन्द्रबाट ४ सय, ज्यामिरगढी चिस्यान केन्द्रबाट २५०, एननएमसी डेरी उद्योग इँटाभट्टाबाट १ हजार, इन्द्रेणी सहकारी संस्थाबाट ३ सय ५०, कर्णनैना दूग्ध डेरीबाट ३ सय ५०, जलथल चिस्यान केन्द्रबाट ३ सय र बोलेचौक चिस्यान केन्द्रबाट ४ सय ५० लिटर दूध संकलन हुँदै आएको डेरी उद्योगले जनाएको छ ।

डेरी उद्योगबाट किसानलाई प्रत्यक्ष लाभान्वित गर्दै आफ्ना शेयर सदस्यको समेत जीवनस्तरमाथि उठाउन पहल गरेको सहकारीले जनाएको छ । सहकारीले यस आर्थिक वर्षदेखि डेरी उद्योगबाट ७४ लाख रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिए पनि सञ्चालन नाफातर्फ एक करोड २६ लाख १२ हजार ९ सय ६६ रुपैयाँ संकलन गरेको उद्योगका प्रशासकीय अधिकृत अधिकारीले बताए । अघिल्लो अर्थिक वर्षसम्म डेरी उद्योग घाटामा गएपनि अब बजार व्यवस्थित भएकाले डेरी उद्योगले आफ्ना उत्पादनलाई बढावा दिँदै मुनााफातर्फ अधि बढ्ने जनाएको छ ।

डेरी उद्योगले गाउँ–गाउँमा पुगेर दूध संकलन गर्न थालेपछि झापाका किसान पशुपालनप्रति प्रोत्साहित भएका हुन् । अहिले शहरदेखि गाउँसम्म व्यवसायिक पशुपालन गर्दै मनग्ये आम्दानी गर्नेको कमी नरहेको सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । उनले भने– एनएमसीले किसानलाई गाई पाल्न सिकायो । पशुपालन गरेकै कारण धेरै वेरोजगार युवा पनि अहिले रोजगारीको खोजीमा विशेष पलायन हुनको सट्टा गाई पालन व्यवसाय सञ्चालन गर्न शुरु गरेका छन् भने विदेशबाट फर्किएकाहरु पनि पशुपालनमा नै लागेका छन् ।

तत्कालीन गर्भनर डा. युवराज खतिवडाले २०६९ सालमा शिलान्यास गरेको एमएमसी डेरी उद्योग अहिले झापाका कृषकका लागि सारथि बनेको छ ।

रु. ११ करोड रुपैयाँ लगानी गर्दै २०६९ सालबाट शुरु गरिएको डेरी उद्योगले २०७२ सालबाट नियमित सेवा शुरु गरेको थियो । अहिले १४ हजार लिटर भन्दा बढी दूध संकलन गर्दै प्रशोधन गर्ने डेरी उद्योग झापाको मात्र नभई पूर्वका तीन जिल्लाका किसानको सारथि बनेको हो । ७८ जनालाई प्रत्यक्ष रोजगारी दिएको उद्योगले त्यो भन्दा बढीलाई अप्रत्यक्ष रुपमा रोजगारी दिएको सहकारीका अध्यक्ष उप्रेतीले बताए । उनले भने– अहिले हामी कहाँ तीन हजार किसान सहकारीमार्फत जोडिनु भएको छ । झण्डै एक हजारको हाराहारीमा हाम्रो सहकारीमा आवद्ध नभएका किसान हुनुहुन्छ, उहाँहरु सबैलाई यो उद्योगले स्वरोजगार बनाएको छ ।

डेरी उद्योग सञ्चालन गर्दा झापामा तीनबटा मात्र चिस्यान केन्द्र थिए– अध्यक्ष उप्रेतीले भने– अहिले जिल्लामा चालीसभन्दा बढी चिस्यान केन्द्र सञ्चालनमा छन् ।

अत्याधुनिक उपकरणबाट दूध प्रशोधन गर्दै बजारिकरण गर्ने उद्योगले अहिले प्रशेधित दूधसहित दही, योगढ, मोही, पनिर, ध्यू, आइसक्रिम, मिठाईहरु समेत उत्पादन गर्दै आएको सहकारीका उपाध्यक्ष नारायणप्रसाद कोइरालाले बताए ।
हरेक वर्ष नयाँ–नयाँ प्रविधि जडान गर्दै अहिले पूर्वकै नमूना डेरी उद्योगका रुपमा विकास गरेर लान पहल भइरहेको सहकारीका अध्यक्ष उप्रेती बताउँछन् ।

‘उद्योग सञ्चालनदेखि अहिलेसम्म १५ करोड रुपैयाँ लगानी भएको छ । यो उद्योगलाई अझ परिस्कृत र विश्वसनीय बनाउन हामी लागीपरेका छौं’– अध्यक्ष उप्रेतीले भने– ‘हाम्रो मुख्य लक्ष्य भनेकै किसानले उत्पादन गरेको सबै दूध संकलन गर्दै किसानलाई प्रोत्साहन गर्नु हो । किसानले समृद्धि हासिल गरेभने मात्रै डेरी उद्योग सञ्चालनको सार्थकता रहन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *