July 7, 2026

‘बचत रकम किरात भवन निर्माणमा’

0

भद्रपुर।

विभिन्न संघ–संस्थाले मेला, महोत्सव, सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरे पनि समयमै हिसाबकिताब सार्वजनिक गर्दैन ।

गरे पनि लामो समय लगाउँछ । यस्तो अवस्थामा भद्रपुरस्थित किरात कल्याण समितिले आयोजना गरेको ऐतिहासिक किरात महोत्सव सकिएको तीन दिनभित्रै हिसाबकिताब सार्वजनिक गरेर समाजमै प्रशंसायोग्य उदाहरण पेश गरेको छ । समितिद्वारा आयोजित महोत्सवमा २० लाख ६८ हजार दुई सय रुपैयाँ संकलन भएको जनाएको छ ।

समितिले पत्रकार सम्मेलन मार्फत १९ लाख २४ हजार चार सय १० खर्च तथा २० लाख ६८ हजार दुई सय रुपैयाँ आम्दानी भएको विवरण सार्वजनिक गरेको हो । गत माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भद्रपुर– ८ स्थित किरात कोलोनीमा महोत्सव सञ्चालन भएको थियो ।

समितिकी कोषाध्यक्ष मञ्जु सुब्बाका अनुसार २९ दिनसम्म चलेको महोत्सवमा हाउजी खेलबाट १९ लाख २८ हजार दुई सय तथा मेलाभित्रका रमाइलो खेलहरूबाट एक लाख ४० हजार रुपैयाँ आम्दानी भएको थियो । जसमा मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रिय तथा स्थानीय कलाकारलाई पारिश्रमिक बापत १६ लाख ८८ हजार ६० रुपैयाँ खर्च भयो भने पण्डाल, स्टेज, चियापान र कलाकार होटल खर्च तथा विविध गरी २ लाख ३६ हजार तीन सय ५० खर्च भएको थियो । महोत्सवबाट खर्च कटाएर १ लाख ४३ हजार सात सय ९० रुपैयाँ बचत भएको छ ।

बचत रकम निर्माणाधीन किरात भवन निर्माणमा खर्च गरिने किरात कल्याण समितिका सदस्य तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए । महोत्सवलाई कोरोना भाइरसको त्रास, र हावा पानीले प्रभाव पारेको महोत्सव संयोजक डिगबहादुर सुब्बाले बताए । लक्ष्यभन्दा कम रकम उठेको यस महोत्सवलाई कोरोना भाइरसको त्रासले नकारात्मक प्रभाव परेपछि प्रशासनको अनुरोधमा रोकिएको उनले जनाए ।

समितिले भवन निर्माण तथा आफ्नो कला संस्कृतिको जगेर्नाका निम्ति प्रत्येक वर्ष किरातहरूको मुख्य चाड उधौलीको अवसर पारेर किरात कोलोनीमा भव्यताका साथ महोत्सव सञ्चालन गर्दै आइरहेको छ । दुई कट्ठा दुई धुर जग्गा खरिद गरी एक करोड ३० लाख रुपैयाँको लागतमा निर्माणाधीन दुईतले किरात सामुदायिक भवनलाई निरन्तरता दिन महोत्सव सञ्चालन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *