September 20, 2026

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा जनगणना गर्ने जिउँदा इतिहासः

0

अग्रज पत्रकार ‘भैरव रिसाल’

भूवन तामाङ,

भारतले हालसालै निकालेको भनिएको भारतको नक्सामा नेपालको भू–भाग लिपुलेक र कालापानी समेत समेटेको घटनाको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेका छन् । देशको सबैजसो स्थानमा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत नेपालको अभिन्न अंग हो, भारतले आप्mनो नक्सामा नेपालको भू–भाग समेट्न हुँदैन भन्दै देशभर विभिन्न राजनीतिक संगठन, नेतागण, संघ–संस्था, समूह, विद्यार्थीहरु, व्यक्ति विशेष अर्थात् नेपाली जनताहरुद्वारा विरोध कार्यक्रम आयोजना भइरहेका छन् । नेपाल सरकारले आप्mनो धारणा सार्वजनिक गरिसकेको छ । साथै विभिन्न विज्ञ, विद्वानहरुले पनि प्रमाण सार्वजनिक गरिहेका छन् । यसै मेसोमा ‘लिम्पियाधुरामा जनगणना गर्ने मै हुँ, म जिउँदै छु’ भन्दै अग्रज बरिष्ठ पत्रकार ‘भैरव रिसाल’ पनि सामाजिक सञ्जालमा प्रकट भएका छन् ।

अग्रज पत्रकार भैरव रिसालले लेखेका वि.सं. २०६६ मा प्रकाशित ‘सुशीला भैरव’ नामक उनको आत्मवृत्तान्त किताब यो पंक्तिकारले पनि प्राप्त गरेको थियो । तर, पंत्तिकारले सो किताब पढेको थिइन् । जब हालसालै भारतले प्रकाशित गरेको आप्mनो मानचित्रमा नेपाली भू–भाग लिपुलेक र कालापानी समेटेकोबारे चर्चा र विरोधका कार्यक्रम हुन थाले र अग्रज पत्रकार रिसाल पनि सामाजिक सञ्जालमा फुत्त देखा परे तब रिसालको उक्त पुस्तक पढ्ने हुटहुटी जाग्यो ।

भैरव रिसाल :

भैरव रिसाल मूलतः पत्रकार हुन् । वि.सं. २०२० साल देखि जीवनको ऊर्जाशील समय पत्रकारिता गरेर देशका लागि योगदान गरेका छन् । उनले राजा महेन्द्र र वीरेन्द्रको शासनकालमा सघन पत्रकारिता गरे । राससको पत्रकार उनले महेन्द्र र वीरेन्द्रको शासनकालका सबैजसो प्रधानमन्त्रीहरुको कार्यको रिपोर्टिङ्ग गरे । मन्त्री, मन्त्रालय, विभाग आदि लगायत धेरै उच्चस्तरीय तह र क्षेत्रको रिपोटिङ्ग गरे । विदेश भ्रमणमा निस्किएका नेपालका उच्चस्तरीय थुप्रै भ्रमण टोलीमा सामेल भएर विदेशबाट समेत रिपोर्टिङ्ग गरे ।

अग्रज बरिष्ठ पत्रकार भैरव रिसाल स्वभिमानी, निर्भिक, हक्की, इमान्दार पत्रकार हुन् भन्ने उनको कृतिले जनाउँछ । उनी कहिल्यै लोभमा परेनन् । लिन्न भन्दाभन्दै पनि एक पटक पक्रिया पु¥याएरै दिइएको अतिरिक्त पारिश्रमिक र एकपटक ठूलै ओहदाका हाकिमले सदासयतावश सय रुपैँया जबर्जस्ति खल्तीमा घुसारिदिँदा त्यतिखेर किन पो लिएछु भनेर थकथकी मानेको व्यहोरा रिसालले आप्mनो कृतिमा लेखका छन् । उनी हरेक प्रधानमन्त्रीको रोजाईको पत्रकार थिए । यति भएपछि पत्रकार रिसाल कस्ता गुणका र कुन स्तरका पत्रकार हुन् भनेर मजैले आंकलन गर्न सकिन्छ । उनी एक इन्साइक्लोपेडीया नै हुन् । उनको आत्मवृत्तान्त कृति चार सय चालीस पृष्टको छ । जसमा उनको पारिवारिक नालीबेलीसहितको आत्मवृतान्त समेटिएका छन् । जसलाई उनको जीवनी पनि भन्न सकिन्छ । अति फरस्याईला पत्रकार रिसालको आत्मवृत्तान्तमा कैयन तथ्य, सत्य, ज्ञान र रोचक प्रसंंगहरु समेटिएका छन् ।

वि.सं. २०६८ र ६९ सालतिर यो पंक्तिकार रेडियो सगरमाथा ललितपुरमा काम गथ्र्यो । पत्रकार भैरव रिसाल ‘उहिले बाजेको पालामा’ नामक कार्यक्रम सञ्चालन गर्दथे । रिसाल अनुभवले खारिएका र उमेर पनि पाको हुँदै आएकाले रेडियोले ‘उहिले बाजेको पालामा’ नामक कार्यक्रम परिकल्पना गरेको हुनुपर्छ । कार्यक्रमका लागि विभिन्न अनुभवि व्यक्तित्वहरुको अन्तरवार्ता लिन जाँदा पंक्तिकार अन्तर्वार्ता केरर्डिङ्गका लागि प्राविधिकको रुपमा जान रुचाउँथ्यो । भैरव रिसाल कतिको स्वच्छ र उच्च छविका हुन् भन्ने कुरा अन्तरवार्ता लिइने व्यक्तित्वहरुले रिसाललाई गरेका आदारबाटै थाहा हुन्थ्यो । अवकाश प्राप्त विभिन्न उच्च निकाय प्रमुख, प्रशासक, विभिन्न उच्च घरानाका उद्योगी, व्यापारी व्यक्तित्वहरुको घरमा पुग्दा भैरव रिसललाई देख्नासाथ अन्त्यन्त खुशी भएका, असाध्यै रमाइलो मानेका र पुराना कुराहरु सम्झँदै रमाइलो मान्दै खिलखिलाएर हाँसेका देख्दा भैरव रिसालको उबेलाको प्रभाव कुन स्तर र गुणको थियो भन्ने जान्न सकिन्थ्यो । एकदिन सञ्चार क्षेत्रका केही मित्रहरुसहित पंक्तिकार समेत भैरव रिसालले काठमाडौं अनामनगरको उत्तरतिर रहेको उनको तीनतले रातोरंगको पक्की घरमा पुग्दा उनको आत्मवृत्तान्त एक थान प्राप्त भएको हो ।

लिम्पियाधुरा क्षेत्रमा भैरव रिसालको टोलीले गरेको जनगणना प्रसंग :

भैरव रिसालले आप्mनो कृतिमा लेखेका छन्– ‘राष्ट्रिय जनगणना २०१८ को दायित्व वहन गरी अहिलेको सुदूरपश्चिमाञ्चल जाँदा मैले एउटा ऐतिहासिक काम, त्यो पनि अत्यन्त देशभक्तिपूर्ण काम गर्ने अवसर पाएँ । सन् १८१६ मार्च ४ को सुगौली सन्धीले निर्धारण गरेको नेपालको पश्चिमी सिमाना लिम्पियाधुरा हो भन्ने अडान कायम गर्न म प्रमाणको रुपमा उभिन सकेँ’ भनेर ‘लिम्पियाधुरालाई नेपालको प्रमाणित गर्ने अवसर’ शीर्षकको अनुच्छेदहरुमा रिसालले आप्mनो कृतिभित्र उल्लेख गरेका छन् ।

त्यतिबेला केन्द्रीय तथ्यांक विभागका डाइरेक्टर थिरबहादुर रायमाझीले रिसालको टोलीले जनगणना गर्नुपर्ने क्षेत्रको नक्सा हातैले बनाइदिएका थिए रे । जनगणनाको प्रसंग, कृतिमा २४० देखि २४९ पृष्टसम्म उल्लेख गरिएका छन् । उनले लेखेका छन्– ‘हामीले लिम्पियाधुराका वरका वस्तीको जनगणना गराएका छौँ, किनभने त्यो नेपालको अभिन्न भू–भाग थियो । सुगौली सन्धीले काली (महाकाली) पूर्वको भाग नेपाल मानेको छ । महाकाली नदीको मुहान लिम्पियाधुरा नै हो । त्यसको म ज्यूँदो प्रमाण छु । अन्तर्राष्ट्रिय मान्यता अनुसार धेरैवटा खोला मिलेर एउटा नदी बन्दा जुन नदीको प्रवाह ठूलो छ, जुन नदीको लम्बाई बढी छ र जुन नदीको जलाधार क्षेत्र (क्याचमेण्ड) एरिया ठूलो छ नदीको नाम त्यै आधारमा राखिन्छ । लिम्पियाधुराको जलाधार क्षेत्रबाट बग्ने पानीको मात्रा सबभन्दा धेरै, लम्बाई पनि सबभन्दा लामो र जलाधार क्षेत्र पनि सबभन्दा बृहद् हुनाले पनि महाकाली क्षेत्रको मुहान लिम्पियाधुरा नै हो भन्ने प्रमाणित हुन्छ ।’

जनगणनाको काम वैशाखदेखि प्रारम्भ गरी असार आठ गतेभित्र सम्पन्न गर्ने जिम्मेवारी लिएर गएका जनगणना टोली प्रमुख भैरव रिसालले– ‘त्यस भूभागमा बर्खे बसोबास गर्ने मान्छेहरुको मैले गणना गराएको छु । त्यसको म अहिलेसम्म ज्यूँदो प्रमाण हुँ’ भनेर कृतिमा लेखेका छन् । उबेला नेपाल ३५ जिल्ला मात्रै थियो र दार्चुला बैतडी जिल्लामा र बझाङ डोटी जिल्लामा पर्दथ्यो । उनको टोलीले बैतडी र डोटी जिल्लामा जनगणना सम्पन्न गरेको थियो । नेपाली भू–भाग लिम्पियाधुरासम्म जनगणना सम्पन्न भएको थियो । वि.सं. २०१७ चैत्रमा काठमाडांैबाट हिँडेको रिसालको जनगणना टोली २०१८ असार ८ गते डोटीमै जनगणना दिवसमा सामेल भएको स्मरण गरेका छन् । भारतको बाटो समेत हिँडेको रिसालको जनगणना टोलीको यात्रा वृतान्त पनि कम रोचक छैन । कृतिमा रिसालले महाकाली नदी, शारदा बाँध र टनकपुर बाँधका बारेमा पनि आपूmले देखेका कुरा उल्लेख गरेका छन् ।

आत्मवृत्तान्त अनुसार रिसालले पत्रकारको जागिरपछि गैससको जागिर अन्तर्गत थुप्रै जिल्लामा काम गरेका छन् । इलामको उत्तरी भेगमा कृषि परियोजनामा काम गरेको प्रसंग पनि कम रोचक छैन । नेपाल वातावरण पत्रकार समूह (नेफेज) काठमाडांैको अध्यक्ष समेत रहिसकेका व्यक्तित्व उनको थुप्रै सामाजिक कामका क्षेत्रमा पनि उस्तै राम्रो छवी रहेको छ । नेपालको सबै जिल्ला भ्रमण गरिसकेका अग्रज बरिष्ठ पत्रकार भैरव रिसालको आत्मवृत्तान्त नेपालको इतिहास र धेरै कुराको प्रमाण हो । आत्मवृत्तान्तभित्र समेटिएका प्रसंग यति रोचक किसिमले लेखिएका छन् कि पढ्न थालेपछि छाड्नै मन लाग्दैन । कृतिले पाठकवर्गलाई धेरै कुराको खुराकमात्र होइन ज्ञान दिन्छ । नेपाली भूमि ‘लिम्पियाधुरा’ नेपालकै हो भन्ने प्रमाण दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *