September 20, 2026

पार्टीभित्र यस्ता अपराधीलादेन अरु पनि छन् ?

0

व्यंग्यनारान पाँडे,

“यो नेप्पाली चइँ काङरेसमा चइँ पओनपुत्र हन्नुमानभन्दा जोडै बल्या, पाओरफुल र डाङडाङ–डुङडुङ गर्न हर्रामी च्याम्पेन मनुख्खे थे नि थिन त । लेकिन खाने बेलाँ बाइर निकाले जस्तो भइगो । दाँतमा डुङ्गो लाग्या झैँ भो हए पाँडे भाइ । मलाई भामट ट्यान्सिनले च्यापिरछ अस्ति आस्बिन मैनाको छब्बीस गते रोज एक आइतार कोजागर्त पुर्ने कै शुबलच्चेदेखनु । मैले तपइँसित नभनिराख्या कुरो यति मात्तै हो ।”–भने आउँदा आउँदै गौँथलीको बाऊले धमाधम अनि मेरै छेउमा कुर्सी तानेर बसेपछि आँखा तन्काएर निधार चाउरी पार्दै निकै लामो खइ काडे ।…

नेपाली कांग्रेस छोडेर कमरेड सोसाइटीतिर हाम फालेकामा उनलाई पछुतो भएको हलुका अनुमान लाउँदै मैले फ्यास्स भनें— “कांग्रेसबाट कमरेड हज्जामा किन मिसिनु भो त ? त्यस पार्टीमा त्यस्ता–त्यस्ता बलवीर, उपद्रयाहा, ध्वंशकारी, ज्यानमारामा हरामी च्याम्पियन मनुष्य थिएछन् त ? तपाईंलाई त्यस्ता मान्छे मनपर्दो रहेछ होइन दाइ ?”
उनले आँखा बालेर मेरा आँखासँग जुधाउँदै भने— “ल हेर त इनको बुद्दि ! थुक्क ! हन कस्ता मान्छे चइँ परेछन् हओ मेरा छिमेकीमा ? मेरो त भग्गेइ खोटो, तेस्यामालाने !”

मैले छोटो सोधें— “के भो र दाइ ?”
उनले भने— “हन नेपाली काङरेसको गिर्जाऊ पाटीमा पैलीबड र पछिबड देउपा पाटीमा हुँदाखाँदा आफ्फै एत्रो खान फ्याट्ट कम्रेटमा उल्था भा’हूँ भन्ठान्छौ तपइँ ? म जस्तो लम्बरी पर्जातन्त्रवादी व्याक्ति तेस पाटीको एस छेत्राँ मज्गुत खडा थेँ भन्ने जान्दाजान्दै गएको गत साम्सत एलेक्सिनको भोटाँ ख्वात्त हार्न कल्ले लाइरथ्यो त काङरेसलाई ? हाम्रो नेपका पाटीले एलेक्सिनको भोटाँ तेल्लाई पाहा पछारे झैं पछारेर चाइँनेकेरे सिम्मदर्बारको सर्खार बनाएसि म सर्खार बनाउने पाटीमै समरपृत हुने सिधान्तवादीमा उइलेइदेखुन् कट्टर पोल्टिस्यानले अरु केइ गर्न मिल्थ्यो त ? देशाँ गनतन्त्र पसेको एत्तिका बर्ख भइसक्ता पनि तपइँले पितिक्कै गनतन्त्रको पोल्टिस् नबुजेको देख्ता मेरो भुँडी हुँडल्लेर मुखाड हुलुक्क अमिलो पानी पो आउन थालिसको यार ! हन जुन पाटीले सर्खार बना’र चाइँनेकेरे सिम्मदर्बार करयापच्याप पार्छ तेइ पाटीमा ट्याप्प हुन सिक न ठ्याप्पसँगले । सिधान्त कुरो त यो पो हो त । कति टेनिङ दिनु हओ तपइँलाई हट्टेपिच्छे, हँ ?”

उनका गोठाले तर्क यस्तै हुन्छन् भन्ने मलाई कागति अथवा हाटको दिन भद्रपुर बजारको दुई नम्बर रोडस्थित बिहारी डुङ्ग गनाउने बजारमा बिक्ने बएल्लिएका लड्डु–मिठाइहरु जस्तै अमिलो हुन्छन् भने जत्तिकै राम्ररी थाहा थियो । अथवा गलगलिया, पानीट्याङ्की, नक्सबारीमा मेचीको बालुवा मिसेर नेपाली ग्राहकलाई बेचिने चिनी पनि उस्तै गुलियो हुन्छ भने जत्तिकै क्लेयरकट् थियो । त्यसैले उनका छिचरा कुराभित्रको चुरो कुरोको मेसो पक्रेर सोधेँ— “ए दाइ, नेपाली कांग्रेसमा त्यस्ता–त्यस्ता भयङ्कर बलिया–बलिया मान्छे चाहिँ को–को छन् हँ ?”

उनले उपरखुट्टी लाउँदै सुख्खा नाकमा उभोली सास स्याँक्क तानेपछि भने— “होओओओ, आइगयौ नि तपइँ अर्जिलि पोल्टिसका बाटामा । एसरी पिकप् गरेउ भने म तपइँलाई छे मैनामै पोल्टिसमा एस्पोट बनाइहाल्छु नि । तर, एट्पेजेन्ट चइँ हाम्रो शक्तिशाली र गउरउशाली पाटीको मिस्कटबड जन्म्या हाल सर्खारी पाटीका भाम् ठालू कम्रटे माधौ नेपालले पर्दानमन्त्री खाँदाखेरि मन्त्री भइखाका र अ‍ैले चइँ रउतटका पिलन्धरे जन्ता तर्सा’र नेपाली काङ्रेसका मान्नीए साम्सत भका मोबत अप्ताप आलामका छेउमा अरुको नामै नलिउँ, बिच्चमा मुख मात्तै गनाउँछ । आलामज्यूका छेउमा उइले पञ्चेती बेबस्तामा म गामफर्कको राजभक्त उपपर्दान पञ्च भका ट्यामका शेरे धनुखा, खड्गबादुर सिङ, बन्दुके काजी, रीतुबर्न तुम्बाम्फे अथैवा देशमा काङरेस लागेसिका खुमारी राइ जादौ, भीउँबादुर खँड्का, गोबिन्राज जोश्शीहेरु जस्ता थुप्रै रैइँदालेहेरु र झलमल्ल घाम लागेका दिनका तारा भइगए नि । को आलमको ओस्सामा बिन लाद्देन औतारका छेउमासम्म पुग्ने ?”

उनले च्वाक्क मुख मिठ्याएपछि धाराप्रवाह भन्दै गए— “गाउँका मान्छेका त के इण्डेतिरका भारतेली कोरली र पठेक्रीहरु समेत भूतपूर्वक मन्त्री एबङ् एट्पेजेन्ट पर्जातन्त्रबादी काङरेसका मान्नीय साम्सत मोब्बत आलाम र उहाँज्यूको कन्टोलका साँढेहर्ले भ्याएसम्म चोखा राखेनन् । पुलिस–परहरी उन्का छेउमा पक्रा परेको गोरु चोर हिरासतमा पुगेसि छेरभालू भए झैं थरहरी थे । गाउँका कुख्रा–बाख्रा जुन मुन परो तेसको गर्दन च्याट । इँटाभट्टामा अरुतिर दाउरा बालिन्छ र इँटा पोलिन्छ । तर, काङ्रेस साम्सत आलमले मान्छे बालेर इँटा पोल्ने नयाँ–नुतन ट्याउटिसको पर्जातन्त्र खेले । एसो किन भयो भनेर उजुर गर्नेलाई गोलीले उडाउन लगाए । पक्रा परिराख्या ट्याममा परहरीका एप्सी–निस्पेटरसित डिसकेस पर्दा मान्नीय आलामले धम्की लाउँदै अजै मान्छे मराउँछुँ भन्र ठाढै भने । ….ए पाँडे भाइ, पर्जातन्त्र भन्या यइ त हो नि । दे दनादन, होइन्त ।”

उनी खुशी हुँदै भन्दै गए— “पुल बनाउने मूलाको कसैले क्यारलेसै गर्दैन, पुल भत्काउनेको नाम जल्लाई पनि ठ्याक्क मालम हुन्छ । अमृकामा उत्रा–उत्रा करोडौं त नभनम् सइयौं तला भबन कल्ले बनायो ? ती भबन बनाउने मिश्री को थे भन्ने कसैलाई मालम छ ? तर हावाजाज लगेर डयाङ्ग ठोक्का’र चाइँनेकेरे झर्यामझुरुम पार्ने ओस्सामा बिन लाद्देनज्यूको नाम सिरि किस्नु, मादेउ, पस्पतिनाथ जस्तै सप्पैलाई मालम छ । नत्र भने आलामज्यूलाई पक्रा गर्नासाथ तीन्चार खेप भूपपूर्वक पर्दानमन्त्री भ’र अ‍ैले नेपाली काङरेसमा जङ्गबादुरी गर्न थालेका शेर्बादुर देउपा र भूतपूर्वक उपपर्दानमंत्री और भूतपूर्वक गिर्रेमन्त्री भ’र झाँपा तीन लम्बरमा हरेसि नेपाली काङरेसको सिटौला पाटीमा लिडरी गरिराख्या हाम्रा किस्न सिटौलाले ‘आलम पक्रा पर्नु भन्या काङरेस र पर्जातन्त्रको विरुद्द कमिनिसको ग्रेन डिजाइन खडएन्त्र हो’ भन्र बिग्गेप्ति ठ्याँस्थे होला त ? अरु अन्ने कुरै गर्नु परेन नि, रउतटमा मान्छे बालेर इँटा पकाउने मोब्बत आलाम भन्या नै नेपाली काङरेस र पर्जातन्त्र हो रहेछ भनेर कुरो बुजे भइगो नि । सट्कट इज बैट्टर देन लट्खट् भन्छ क्या मिस्कट भासाको डिस्नेरीले एस्ता कुरालाई । लङकट्भन्दा सटकट नै राम्रे हो पनि ।”…

बोल्दाबोल्दै उनले एकखेप ठूलो हाच्छिउँ काडे र नाक समाएर काट्नुअघि पर्छेको खसीले कानमा परेको पानी झर्न मन्टो हल्लाए झैं मन्टो लरक–लरक हल्लाएर के भन्न आँट्तैथे, मैले उछिनेर सोधें— “शेरबहादुर देउवा र कृष्ण सिटौलाका अनुसार, त्यसो भए, अहिले नेपाली कांग्रेस र प्रजातन्त्र मोहम्मद अफ्ताब आलमसँगै नख्खु”….
उनले मेरो प्रश्न पूरा नहुँदै झडङ्ग भएर भने— “चूप लाग न हओ एछिन् तपइँ ! ठूलाबड बोलिराख्या बेला बी–बीचाँ प्याच्च बोल्नु अनडिस्पिलिङहीन हुन्छ भन्ने था छैन ?……तो त दिस्टिकोनको विषय हो क्या । अर्ताथ एस दिस्टिकोनमा दिमाखको किट्नी लाउँदा चइँ मैले काङरेसबड कम्रटेमा टाँचफर हुनु ठिकै र’छ भन्ने मौसूप हुन्छ र राहात पनि हुन्छ । मोब्बत आलाम नक्खु कारागारको झ्यालखानको तुरुङमा पर्नु शेर्बादुर देउपा र किस्न सिटौलाको सो–उक्त भन्तब्बे अन्सार नेपाली काङरेस र उसको पर्जातन्त्र तुरुङमा पर्नु होइन भनेर उँधेरले आर्को बिग्गोप्तिबड भन्तब्बे सार्भजानिक गलार्न् त ? कि चूप्प लागेर तेसबेला राजनीतिकको पोल्टिकल रेला गर्या मात्तै हो भन्लान् र ङिच्च अगाडिका दाँत मात्तै देखा’र बिनबिच्चमा खोक्न थाल्लान् त ?….यो टपिकमा बाँकी बचोत बात भोलि–पर्सितिर गर्दा पनि हुन्छ । आज चइँ म चोइटिउँ हए पाँडे भाइ ।”….

उनी बोल्दाबोल्दै उठे र बाटो लागे । म एकपल्ट खिल्खिलाएर हाँसे र उनी गइरहेतिर हेर्दै मनमनै भनें— “पार्टीभित्र यस्ता अपराधी लादेन कति होलान् हँ ?” खोइ कुरै पो बुझिएन बा !”….

Leave a Reply

Your email address will not be published. Required fields are marked *