September 20, 2026

१६०० गोरुगाडाको चक्का संकलन एशियाकै नमूना पार्क बनाइने

0

बिर्तामोड।

सबैभन्दा पुरानो यातायातको साधन हो– गोरुगाडा । आविष्कारको दुनियाँमा वैज्ञानिकहरुले विभिन्न यन्त्र उपकरणहरु आविष्कार गर्ने क्रममा सन् १८८४मा एडवर्ड बटलरले इङ्लेण्डमा मोटरसाइकलको आविष्कार गरेसँगै सवारी साधनको रुपमा यान्त्रिक उपकरणहरुको विकास भएको मानिन्छ । विश्वमा मोटरगाडीको धेरै पहिला आविष्कार भएर प्रयोगमा आए पनि नेपालमा भने मोटरगाडी जंगबहादुर राणाले भित्र्याएका हुन् । त्यसको दशकौंपछि मात्रै नेपालमा सर्वसाधारणको पहुँचमा मोटरगाडी आएको हो ।

जतिबेला तराईमा मोटरगाडीको चलन आइसकेको थिएन, त्यो बेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन् । हरेक किसान र व्यापारीसँग गाडा हुन्थे । किसानहरु खेतमा गोबर मल लैजान, पाकेको बाली भित्र्याउन यिनी गाडाको प्रयोग गर्थे । यात्रा गर्दा समेत गोरुगाडी, राँगागाडीको प्रयोग हुन्थ्यो । पहिला–पहिला बिहेमा जन्ती लैजान र बेहुला–बेहुली बोक्न समेत गोरुगाडीको प्रयोग गर्ने चलन थियो ।

अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरुगाडा वा राँगागाडा अब इतिहास भइसके । मोटरसाइकल, कार, जिप, बस, ट्रक हुँदै बिभिन्न सवारी साधन सहज रुपमा उपलब्ध हुन थालेको छ । यो सँगै जनावरले तान्ने गाडीहरु प्रायः लोप भएका छन् । राँगागाडी वा गोरुगाडी बनाउने कालीगढको समेत अहिले अभाव छ । त्यस्तै गोरुगाडा बनाउने काठ समेत सहजै उपलब्ध हुँदैन । जसका कारण दिनानुदिन विश्वकै पुरानो सवारी साधन गोरुगाडा लोप हुँदै गएको छ । तर, लोपोन्मुख अबस्थामा रहेको गोरुगाडाको चक्काको अहिले संरक्षण थालिएको छ ।

झापाको बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईले गोरुगाडाको चक्का संरक्षण गर्न थालेका छन् । उनले नेपालको मात्र नभई विश्वकै पुरानो सवारीको साधनका रुपमा रहेको गोरुगाडाको चक्का संरक्षण गर्दै बिर्तामाोडमा नेशनल पार्क बनाउने उद्देश्य लिएका छन् । २०७२ सालबाट गोरुगाडाको चक्का संरक्षण गर्दै आएका उनले अहिलेसम्म झण्डै १६ सय भन्दा बढी गोरुगाडाका चक्का संरक्षण गरेका छन् ।

अझै एक हजारभन्दा बढी गाोरुगाडाका चक्का संरक्षण गर्ने र पाँच बिगाह क्षेत्रमा नेशनल पार्क बनाउने प्रसाईले बताए । उनले भने– ‘बिर्तामोड– ५ र अर्जुनधारा–६ देवी वस्तीमा पार्क निर्माण थालिएको छ । अहिले सानो संसार हाउजिङ नजिकै पार्क निर्माण भइरहेको छ । ‘द नेशनल गार्डेन अफ नेपाल’ नाम दिएर निर्माण थालिएको पार्क निर्माणका लागि झण्डै तीन करोड रुपैयाँ लाग्ने बताइएको छ । पार्क निर्माणका लागि संस्थापकका रुपमा रोशन प्रसाई, आयुषमान केशरी प्रसाई लगायतले काम अघि बढाएको बताइएको छ ।

नेशनल पार्क निर्माणसंगै आन्तरिक तथा बाह्य पर्यटक आगमनमा सहयोग पुग्ने बताइएको छ । झापालाई दक्षिण एशियाकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यसहित पार्क निर्माण गरिएको र पार्कमा दुई सय बर्ष भन्दा पुराना गोरुगाडीका चक्का राखेर झापाको नाम विश्वसामु चिनाउने प्रयास छ– प्रसाईले भने– ‘नेशनल पार्कमा राखिने गोरुगाडीका चक्का सबै सखुवाका छन्, त्यो पनि अहिले बनेका होइन् सबै पुराना ।’

पार्कमा राखिने चक्का झापासहित पूर्वी नेपालको तराईका जिल्लाबाट संकलन गरिएको हो– उनले भने– झापा, मोरङ र सुनसरीबाट प्रायः सबै पुराना चक्का संकलन गरिसकिएको छ । केही छिटफुट रुपमा रहेका छन् भने पनि हामीलाई खवर गर्नासाथ खरिद गरेर ल्याउँछौं । ‘पार्कमा राखिने सबै चक्काहरु पुराना छन् । मादल खिएर सानो भएका छन् । म आफैं यो विषयमा रिसर्च गरिरहेको छु’– प्रसाईले भने– ‘यहाँ भएमध्येको सबैभन्दा पुरानो चक्काको ल्याब परीक्षण गर्दै गिनिज बुकमा नाम राख्ने तयारी थालिएको छ ।’

प्रयोगविहीन भएर फ्यालिएका चक्का सात हजार रुपैयाँसम्ममा खरिद गरेर ल्याएको र सबै चक्कालाई पार्कमा इञ्जिनियरको डिजाइनमा नयाँ रुप दिने तयारी थालिएको प्रसाईले बताए । उनले भने – हामी कहाँ इञ्जिनियर पनि आइसक्नु भएको छ । म यही विषयमा अनुसन्धान गरिरहेको छु । अबको डेढ दुई वर्षभित्रै झापामा दक्षिण एशियाकै नमूना पार्क बन्छ । त्यो पनि विश्वको पुरानो सवारीका रुपमा प्रयोगमा आएको गोरुगाडाको चक्काबाट ।’

पार्कमा राखिने चक्का पुरानो भए पनि ज्यादै वलियो हुने प्रसाईको भनाइ छ । माटोले समेत नखाने र धमिराबाट जोगाउन सके वर्षाैंसम्म सुरक्षित रहने उनको भनाइ छ । उनी भन्छन्– संकलन गरिएका चक्का ट्रिटमेन्ट गरेर राखेपछि दुई सय वर्षसम्म केही हुँदैन ।

नेशनल पार्कमा जमिनबाट ८१ फिट अग्लो नेपालको झण्डा राखिने, नेपालको नक्सा बनाइने र त्यो नक्सामा विश्वका एक सयभन्दा बढी फूल फुलाएर सदैव सुन्दर बनाइने तयारी गरिएको छ– प्रसाईले भने । इञ्जिनियर अनुष पराजुलीले बिर्तामोडमा बनिने पार्क देशकै नमूना हुने र सानो संसार हाउजिङसँगै निर्माण हुने पार्कले सिङ्गो हस्पिटालिटी इण्डष्ट्रिजलाई फाइदा पुग्ने बताए । उनले भने– अरुभन्दा भिन्न गरौं भन्ने सोचका साथ अघि बढाएको यो पार्क निर्माणले पूर्व क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्छ ।

नेपालको संस्कार संस्कृतिसंग जोडेर आधुनिकीकरण गर्दै पार्क निर्माण गरिने र नयाँँ ढंगमा सुविधा सम्पन्न हस्पिटालिटी इण्डष्ट्रिजको विकास गर्ने इञ्जिनियर पराजुलीले बताए । उनले भने– गोरु गाडा केही वर्ष अघिसम्म सवारीका रुपमा प्रयोग गरिन्थ्यो, यसको लोप भएर गयो । यो परम्परागत चिजलाई संरक्षण गर्न यो अभियान थालिएको हो ।

सानो संसार हाउजिङका सञ्चालक प्रकाश उप्रेतीले पार्क निर्माणसँगै झापामा संस्कृति संरक्षणमा समेत टेवा पुग्ने बताएका छन् । उनले पार्कमा नेपालका पुराना संस्कार र संस्कृति झल्किने बस्तु राखिने बताए ।

को हुन रोशन ?

विष्णुमाया र डिल्ली प्रसाईका छोरा हुन् रोशन । कनकाई क्याम्पस बिर्तामोडबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनले प्लस टु ग्लोवल कलेज अफ मेनेजमेन्ट काठमाडौंबाट गरेका थिए ।

कोपेन हेगन डेनमार्कबाट हेल्य एण्ड न्यूट्रि«शन गरेर नर्वेबाट हस्पिटालिटीको कोर्ष गरेका छन् उनले । ओस्लोमा पुगेर हस्पिटालिटीमा राम्रो दख्खल राखेका उनले स्वदेशमै केही गर्ने र झापालाई चिनाउने सोचसहित नेशनल पार्क निर्माण शुरु गरेका हुन् ।

बिर्तामोडको देवी वस्तीमा जन्मिएका उनले अहिले आफ्नै जन्मस्थलमा नयाँ सोचका साथ काम अघि बढाएका छन् । विदेशमा सिकेको सिपलाई आफ्नै ठाउँमा प्रयोग गर्ने सोचका साथ उनी विगत १० वर्षदेखि झापामा वसेर नयाँ नयाँ काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *