नागरिकता विधेयक

लीला उदासी,
संसदमा अवरोध भएन
रोष्टम कब्जा भएन,
घेराउ पनि भएन,
तातो–तातो बहस पनि चलेन
सामान्य ‘हुन्छ’ र ‘हुन्न’ मा
सभामुखले घोषणा गरे
‘हुन्छ’मा ध्वनि मत भने
अनि उहिल्यैदेखि विवादमा रहेको
नागरिकता विधेयक संसदबाट फुत्त पास भयो
त्यहाँ सिउँदोमा सिन्दुर नहाले पनि
विवाह भएको कागज मात्र भयो भने पनि
उताबाट आएका बुहारीलाई
नागरिकता दिई हाल्ने कुरा पास भयो
नागरिकता लिएपछि
सम्बन्धविच्छेदको कागज बनाए पनि भयो ।
अहिले बाहिर बहस चलेको छ
होटेलमा, चियाका टेबुलहरूमा, सडकमा, गल्लीमा, घर घरमा
जत्रतत्र तातो–तातो बहस चलेको छ
नागरिकता विधेयकमा ।
मानिसहरू अनेक कोणबाट प्रश्न उठाइरहेछन्
र विवाह भएको केही समय नपर्खी
लगत्तै नागरिकता दिने भनेकोमा
अनेक कुरा चलेका छन्
एकजना मित्रले त भने–
विधेयकको नाम मात्र मिलेन
‘उताकालाई केही थान नागरिकता दिने विधेयक’ भनेको भए
ट्याक्क मिल्ने थियो, त्यत्ति नमिलेको मात्र हो ।
अर्को मित्रले भने–
ठूलो देशका धेरै नागरिकको व्यवस्थापन गर्न पनि यस्तो गरेको हो
अर्काले भन्यो–
यताकोले त उता विवाह गरेर जाँदा
सात दश बर्ख पर्खनु पर्छ त ?
अर्कोले निष्कर्ष दियो–
गाउँका दुई जना वृद्ध मर्दा
धनी वृद्ध र गरीब वृद्धको मृत्यु उस्तै हुन्छ र ?
अनि उताकाले यता आउँदा पर्खनु ?
अलिक पुराना र धेरै बुझ्ने जस्ता लाग्ने केही मित्रहरूले
महत्वपूर्ण कुरा भन्न लागेका थिए
उनले धेरै बेर आँ– मात्र गरे
फगत आँ– मात्र गरिरहे
थाहा छैन कहिले भन्छन्
तर हो,
जब ठूला नेता र नेतृ
उताको राजधानीमा कुरा मिलाउँछन्
र उता नपुगेकालाई पनि यता बस्ने उतैकाले आँखा सन्काउँछन्
हो, बर्षौंदेखिको समस्या
नागरिकता विधेयक संसदबाट फुत्त पास हुन्छ
कतिलाई त रमिता हेर्ने रहरसम्म हुँदैन
कुन्नि थाहा छैन
अब पो पछि–पछि के–के हुन्छ ?
