September 20, 2026

१७ महिनादेखि आउ–जाउ ठप्प

0

भद्रपुर।

भारतको विहार तथा बङ्गाल राज्य जोड्ने भद्रपुर–गलगलिया सीमा नाका बन्द भएको १७ महिना बित्यो । सरकारले ३७ करोड लगानी गरेर भद्रपुर–गलगलिया सीमा जोड्ने मेची नदीमा पक्की पुल बनाएको छ ।

लामो समयदेखि सीमा नाका बन्द हुँदा मेची पुलको उपयोग गर्न यहाँका जनतालाई सरकारले बञ्चित गरेको छ । दक्षिणी झापावासीको सात दशकको लामो संर्घष पश्चात् बनेको मेची पुलको उद्घाटन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल माघ १७ गते गरेका थिए ।

पहिलो चरणको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ साल चैत ११ गतेदेखि छिमेकी राष्ट्र भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरेको थियो । बिस्तारै संक्रमणदर घट्दै गएपछि सरकारले देशभरका ३० वटा नाका खुलाएकामे थियो । तर, सरकारले त्यस बेला भद्रपुर नाकालाई प्राथमिकतामा राखेन ।

सरकारले काँकरभिट्टा र गौरीगञ्जको खजुरगाछी नाका मात्र खुलायो । जिल्लाकै दोस्रो ठूलो भद्रपुर नाकालाई सरकारले बेबास्ता गरेको भन्दै २०७७ फागुनको पहिला साता कांग्रेस कार्यकर्ताले नगरपालिका कार्यालय घेराउसँगै नाराबाजी गर्दै स्थानीय सरकारलाई ज्ञापन–पत्र बुझाएका थिए । नाका खुलाउनुपर्ने एक सूत्रीय माग राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई ५ नम्बर वडा सभापति रमेशचन्द्र झाले लिखित रुपमा ज्ञापन–पत्र बुझाएका थिए । त्यस बेला भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले भद्रपुर नाका खुलाउने विषयमा सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका थिए । तर, चैतसम्म पनि नाका खुलाउने विषयमा कहीँ कतैबाट पहल भएन । वैशाखमा फेरि दोस्रो चरणको महामारी शुरु भयो ।

सरकारले पुनः देशभरका सबै नाका ठप्प बनायो । दोस्रो चरणको महामारी फैलिए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विशेष कामले भारत जाने र नेपाल आउने व्यक्तिलाई काँकरभिट्टाबाट आउ–जाउ गर्न दिइयो । भद्रपुरसहित दक्षिणी भेगका बासिन्दा काम विशेष वा औषधि उपचारका लागि भारत जानु परेमा काँकरभिट्टामा पीसीआर रिपोर्ट वा खोप कार्ड देखाएर जान्थे । दोस्रो लहरको संक्रमण भारतमा पनि बिस्तारै कम हुँदै गएपछि सरकारले फेरि मुख्य नाकाहरूबाट आउ–जाउलाई खुकुलो बनाएको छ । त्यसमा काँकरभिट्टा नाका पनि परेको छ ।

अहिले काँकरभिट्टाबाट काम विशेष र आँखा उपचार गराउने भारतीय नागरिकलाई पीसीआर रिपोर्ट वा खोप कार्डको आधारमा प्रवेश खुकुलो बनाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिल दाहालले जानकारी दिए । सरकारले काँकरभिट्टा नाका खुकुलो बनाएसँगै भद्रपुर नाका खुलाउनु पर्ने भन्दै यहाँका जनता फेरि तातेका छन् ।

भारतबाट भद्रपुर भन्सारसम्म आउने सरसामानलाई भद्रपुर नाकामा कुनै रोक लगाएको छैन । सर्वसाधारणको आउजाउलाई मात्र रोक लगाए पनि चोर बाटो भएर दैनिक भारतीय र नेपाली नागरिक ओहोर–दोहोर गरिरहेका छन् । काम विशेषले आउजाउ गर्न दुवै देशका नागरिकलाई स्वास्थ्य सुरक्षा अपनाएर भद्रपुर नाका खुलाउने पर्ने स्थानीयवासीको माग छ ।

‘लामो समयदेखि दुवैतर्फका सीमा क्षेत्रमा नागरिकको एक–अर्कासँग पारिवारिक सम्बन्ध रहँदै आएको छ । ‘एकै किसिमका संस्कार–संस्कृति भएका कारण त्यस्ता संस्कार–संस्कृतिको आदान प्रदान हुँदै आएको छ’– भद्रपुरका अग्रज उद्योगी महेश मित्तलले भने– ‘भद्रपुर नाकामा आवत–जावतमा भइरहेको कडाइले एक परिवारको अर्को परिवारसँग, एक नातेदारको अर्को नातेदारसँग भेटघाट हुन सकेको छैन । संस्कार–संस्कृतिको आदान–प्रदान हुन नसकेको तीतो यथार्थ एकातिर छ भने आवश्यक औषधोपचारका लागि सहज रुपमा आउन–जान पाउने अवस्था पनि छैन, त्यसैले जतिसक्दो चाँडो नाका सहज बनाउनुप¥यो’– उनले भने

भद्रपुर नाका अविलम्ब खुलाउन उद्योगी व्यवसायीको माग

सरकारले भद्रपुरलगायत दक्षिणी भेगका बासिन्दाले उपेक्षा गरेको भन्दै यहाँका उद्योगी व्यवसायीले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सरकारले भद्रपुर नाकाबाट आउ–जाउलाई सहज नबनाएको प्रति चिन्ता व्यक्त गर्दै झापा उद्योग वाणिज्य संघ र झापा उद्योग सङ्घले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै सो नाका अविलम्ब सहज बनाउन सरकारसँग माग गरे । संघका अध्यक्ष नवराज पनेरुको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय झापा पुगेका उद्योगी–व्यवसायीहरूको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाउँदै भद्रपुर क्षेत्रका उद्योगी–व्यवसायी एवम् सर्वसाधारण नागरिकले पछिल्लो डेढ वर्षदेखि झेल्दै आएको समस्याप्रति गम्भीर भई भद्रपुर नाकाबाट आवत–जावत सहज बनाइदिन माग गरेको हो । संघका अध्यक्ष पनेरुले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापन–पत्र बुझाएका हुन् ।

प्रजिअ तिमिल्सिनाले ज्ञापनपत्र बुझ्दै तत्काल सम्बन्धित निकायहरूमा पठाउने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट हुनसक्ने पहलकद्मी गर्ने आश्वासन दिए । सो ज्ञापनपत्र गृह मन्त्रालय, अर्थ मन्त्रालय, झापा ३ नं. क्षेत्रका प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देन, प्रदेशसभा सदस्य बसन्त बानियाँ, पूर्णप्रसाद राजवंशी, ओमप्रकाश सरावगी तथा भद्रपुर नगरपालिकासमेतलाई बोधार्थ पठाई भद्रपुर नाकाबाट आउ–जाउलाई सहज बनाउन पहल गरिदिन आग्रह गरिएको अध्यक्ष पनेरुले बताए ।

त्यस्तै झापा उद्योग संघ जिल्ला कार्य समितिले पनि बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ । झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई सो मागसहितको ज्ञापनपत्र बुझाएको हो । टोलीमा नेपाल उद्योग वाणिज्य संघ प्रदेश १का अध्यक्ष टीकाराज ढकाल, उद्योग संघका झापा उपाध्यक्ष दीपेश ढकाल, सचिव प्रदीपमणि रेग्मी र सदस्य बिनय गोयल सहभागी थिए ।

ज्ञापनपत्रमा भनिएको छ– आम नागरिक र उद्योगी–व्यसायीहरुको आवश्यकता, चाहना एवम् व्यवहारिक पक्षलाई ध्यानमा राख्दै भारतको गलगलियासँग जोडिएको भद्रपुर नाका सहज बनाइदिनुहुन प्रधानमन्त्रीज्यूसँग आग्रह गर्दै यसका लागि पहलकदमी र सहजीकरण गरिदिनु हुन सरोकारवाला निकाय तथा माननीय जनप्रतिनिधिज्यूहरू समक्ष जोडदार माग गर्दछौँ ।’ भद्रपुर देशकै पनि ऐतिहासिक व्यापारिक केन्द्र हो । ०५०को दशकसम्म ठूलो परिमाणमा भद्रपुर नाकाबाटै सामान आयात–निर्यात हुन्थ्यो ।

काँकरभिट्टामा पुल बनेपछि मात्र त्यहाँबाट आयात–निर्यात हुन थालेको हो । त्यसपछि क्रमशः सुस्ताउँदै गएको भद्रपुरमा लामो प्रयासपछि मेची पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको र छोटी भन्सारको रुपमा रहेको भद्रपुर भन्सार स्तरोन्नति भई मूल भन्सारमा रूपान्तरण भइसकेको परिप्रेक्ष्यमा भद्रपुरमा व्यापार–व्यवसायको चहलपहल बढाउन नाकाबाट आवागमनमा सहजता ल्याउन मात्र नभई दुवैतर्फको एप्रोच सडकलाई पूर्णता दिई भन्सारलाई थप सुविधायुक्त बनाउनुपर्ने देखिन्छ । यथाशक्य चाँडो भद्रपुर नाकाबाट आवागमन सहज नभए दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *