सेवामा सधैँ सक्रिया देवी गिरी

इलाका प्रहरी कार्यालय अनारमनीको भवन निर्माण गर्दा होस् या त चारपानेमा सामुदायिक भवन निर्माण गर्दा नै किन नहोस् सधैँ बारम्बार चर्चामा आइरहने नाम हो– देवीप्रसाद गिरी ।
बिर्तामोड नगरपालिका–२ बेलडाँगी निवासी गिरीको अगुवाइमा बिर्तामोडमा त्यस्त थुप्रै काम भए जसले सधैँ उनको चर्चा हुने गरेको छ । पछिल्लो समय बिर्तामोड– २ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालयको जमिन व्यवस्थापनमा गिरीले देखाएको अग्रसरताका कारण उनको चर्चा थप चुलिएको छ ।
२०२४ सालमा स्थापित मोहनमाया माध्यमिक विद्यालयका लागि तत्कालीन राजसभा अध्यक्ष भूपालमान सिंह कार्कीले रामचौकमा निःशुल्क जमिन प्रदान गरेका थिए । कार्कीले विद्यालयको नाममा जमिन प्रदान गरे पनि श्रेष्ता कायम नहुँदा उनका छोरा जगतबन्धु कार्कीले २०७० सालमा जिल्ला अदालत झापामा आफूहरुको जमिन विद्यालयले भोगचलन गरेको भन्दै मुद्दा दर्ता गरेका थिए । लामो समयसम्म दाता परिवार र विद्यालय परिवारबीच जमिनको विषयमा विवाद रहेको र जिल्ला, पुनरावेदन हुँदै सर्वाेच्च अदालतबाट पनि कार्की परिवारले मुद्दा जितेपछि विद्यालय जमिनविहीन भएको थियो । आफ्नो नाममा जमिन नभएपछि सरकारी तवरबाट बजेट प्राप्त नभएको अवस्थामा भौतिक संरचनाविहीन जस्तै बनेको मोहनमाया माविका लागि भौतिक संरचना निर्माणमा स्थानीय दाता नै अग्रसर रहे ।
सामुदायिकतर्फ जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा आफूलाई उभ्याउन सफल मोहनमायामा सरकारी तवरबाट भौतिक निर्माणतर्फ ज्यादै कम सहयोग भएपछि विद्यालय प्रशासनले करोडौं रुपैयाँ जुटाएर विद्यालयको भौतिक संरचना निर्माण गरेको र जिल्लाकै सवल विद्यालयका रुपमा दहरिँदै गरेको सो विद्यालयको विपक्षामा सर्वाेच्च अदालतको फैसला पछि त्यहाँ अध्ययनरत् विद्यार्थी र विद्यालयको अवस्था माथि नै प्रश्न चिन्न खडा भएको थियो । तर, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व देवी गिरीको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद राजवंशी, विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठसहितको टिमले विद्यालयको नाममा कार्की परिवारले दिएको सात कठ्ठा १२ धुर जमिन अन्ततः विद्यालयकै नाममा कायम गराएर छाडे ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को २०७७ साल साउन २६ गते बसेको बैठकले जग्गा प्राप्ति ऐन २०३४ अनुसार विद्यालयलाई जग्गा प्रदान गर्ने निर्णय गरेको थियो । विद्यालयले भोगचलन गर्दै आएको जग्गा अधिग्रहण गर्ने र जग्गादातालाई मुआब्जा दिने निर्णय भएको थियो । सरकारले कार्की परिवारलाई एक करोड ५८ लाख ५० हजार रुपैयाँ मुअब्जा दिने निर्माण निर्णयपछि मन्त्रिपरिषदको बैठकले कित्ता नम्बर ६९३ बाट सात कठ्ठा पाँच धुर र १८३४ कित्ता नम्बरबाट साढे १३ धुर जमिन विद्यालयलाई प्रदान गरिने निर्णय गरेको हो ।
शिक्षक अभिभावक संघको अध्यक्षको रुपमा मोहनमाया माविका प्रवेश गरेका गिरीले कार्की परिवार र विद्यालयबीच लामो समयदेखि विवादमा रहेको जमिनको व्यवस्थापन मात्र गरेनन् उनकै नेतृत्वमा तीन करोड रुपैयाँ बराबरको विद्यालयमा भौतिक संरचना समेत थप्न जोडबल लगाए । उनकै नेतृत्वमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजवंशी र प्रधानाध्यापक श्रेष्ठले पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई दाताको रुपमा उभ्याउँदै तीन तल्ले पक्की भवन निर्माण गर्न सफल भए । अहिले बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको नामबाट सामाजिक उत्तरदायित्व अन्तर्गत प्रसाईले तीन करोड रुपैयाँ लगानी गर्दै सो विद्यालयमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरिदिरहेका छन् । सुस्त श्रवण भएका विद्यार्थी आवाससहित अहिले सो विद्यालयमा अध्ययनरत् छन् । उनीहरु कै लागि भन्दै गिरीकै पहलमा अहिले विद्यालयमा १६ कोठे भवन निर्माण भइरहेको छ ।
त्यसो त इलाका प्रहरी कार्यालय अनारमनीको भौतिक संरचना निर्माण गर्दा उनीमाथि साल्ड टे«डिङ र खाद्य संस्थानले उनी माथि मुद्दा समेत प¥यो । सामाजिक काममा हात हालेपछि त्यसलाई किनारा नलगाई नछाड्ने उनले अन्ततः प्रहरीका लागि भवन निर्माण गराएर नै छाडे । इलाका प्रहरी कार्यालय अनारमनीको भवन निर्माण समितिको अध्यक्ष गिरी कै यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण समिति सदस्य, साङ्गवेद संस्कृत मावि पञ्चरत्न माविमा रहेर काम गर्न भ्याए । चारपानेमा उनकै अध्यक्षतामा एक करोडभन्दा बढी रकम जुटाएर बिर्तामोड नगर कै पहिलो सामुदायिक भवन तयार गरे । दातासँग सहयोग जुटाएर अहिले चारपाने चौक दक्षिण पश्चिममा तीन तले सामुदायिक भवन तयारी अवस्थामा छ ।
मोहनमाया माविको भवन निर्माणार्थ यसअघि आयोजना गरिएको महायज्ञमा समेत उनी कोषाध्यक्षको भूमिकामा रहेर काम गरे । तत्कालीन प्रधानाध्यापक विन्दू श्रेष्ठको संयोजनमा भएको महायज्ञमा एक करोड रुपैयाँ जुटेको थियो । गिरीको अगुवाईमा भएका माथिका केही सामाजिक कामका नमूना मात्र हुन् यी । उनले यस्ता थुप्रै काम गर्न सफल भएका छन् ।
पाँचथरको अमरपूरमा २०१८ साल मंसीर २ गते माता तुलसा र पिता धनरत्नका कान्छा सुपुत्रको रुपमा जन्मिएका गिरी २०३४ सालमा परिवारसँगै झापा झरेका थिए । त्यसयता उनले समाजमा रहेर थुप्रै सामाजिक काम गरेका कारण उनको चर्चा चुलिँदो छ । नेपाली कांग्रेसमा आस्था राख्ने उनी नागरिक समाजको प्रातिनिधित्व गर्दै उनले जिल्लामा भएका थुप्रै विवाद निराकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
प्रस्तुति : सुरेन्द्र भण्डारी
