June 17, 2026

नैतिक शिक्षाको खाँचो !

0

कोरोनाबिरूद्धको खोप पर्खेर बसेका नेपाली देशको राजनीति नबुझेर बिलखबन्द भएका छन्। देश र जनताको सेवा गर्ने भनेर बुझाइएको राजनीति सत्ता, स्वार्थ र शक्ति आर्जन गर्ने माध्यममा रूपान्तरित हुन थालेपछि जनता बिलखबन्द परेका हुन सक्छन् । राजनीतिको माध्यमबाट उचो पदमा पुगेकाहरूलाई आदर्श मानेर आँखा बन्द गरेर तिनकै अनुशरण गरेका जनता विद्यमान परिस्थितिबाट दिक्क मात्र भएका छैनन् जीवन नै असुरक्षित ठान्न थालेका छन् । यसले देश र जनताको भविष्य अनिश्चित हुने चिन्ता थपिएको छ । कोरोना त्रासले डेढ वर्षदेखि छटपटिएको जीवनमा वर्खे बाढीको प्रकोप थपिएको छ । विपत्तिहरुको सामना गर्नु मात्र नेपालीको नियति हो शायद ! होइन भने सरकार रक्षा कवच बनिन्थ्यो र अहिलेसम्ममा धेरैले खोप लगाउन पाएर सुरक्षित महशुस गर्नु पथ्र्यो । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले जनताप्रतिको दायित्व बोध गरेको भए यो आफूलाई राजनेता प्रमाणित गर्ने अवसर पनि हुन्थ्यो ।

सरकार आफ्नै कारणले पटक पटक आलोचित भएको छ । इतिहास मै संसदको सर्वाधिक सुरक्षित र शक्तिशाली दरिएको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै रागले कमजोर भएका छन् । कुनैदिन विद्वान र नागरिक समाजका अगुवाहरुलाई समेत शिष्ट र आदरार्थी शब्द प्रयोग गर्न उपदेश दिएका उनी विपक्षी र फरक मत राख्नेकाबिरूद्ध पदीय हैसियत बिर्सिएर अशोभनीय भाषा बोल्न थालेका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले राजनीतिक दलका नेतादेखि न्यायाधीशबिरुद्ध अमर्यादित टिप्पणी गरे । सार्वजनिक पद धारण गरेको, अझ सर्वोच्च भूमिकामा रहेका व्यक्तिको त्यस्तो टिप्पणीले संस्थाको गरिमा समेत घटाएको छ । यस्तो अभिव्यक्ति आए लगत्तै प्रत्युत्तरको जुहारी पनि शुरू भएको छ । जसमा त्यत्तिकै सम्मानित पदमा पुगिसकेका पात्रहरू जोडिएका छन् । सवालको जवाफ सामान्य होला तर, त्यसको प्रभाव किमार्थ सामान्य हुन सक्दैन । यस्तो अशिष्टताको प्रदर्शनले व्यक्ति, पद मात्र होइन राष्ट्रिय पहिचान मै असर पु¥याउँछ ।

देशलाई पीडामाथि पीडा थपिएको छ यो बेला। प्रकृतिबिरूद्धको गतिबिधिका कारण होला शायद एकपछि अर्को पीडा खप्न हामी बाध्य छौं । कोरोनाजन्य पीडा झनै भयानक, झनै विस्तारक र झनै दुर्दमनीय बनेर आउने विज्ञहरूले चेतावनी दिइरहेका छन्। हामी प्रतिदिन लापर्वाही बढाइरहेका छौं । सरकारले खोपको सुनिश्चितता र व्यवस्थापनमा विश्वस्त पार्न सकेको छैन । बरु सत्ताको जोडबलमा सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ । यस्तोमा जनताले आत्मानुशासन नदेखाउने हो भने परिणाम भयानक हुने पक्का छ । त्यसबेला पछुतो मानेर भएको क्षति कसैगरे पूरा हुने छैन । त्यसकारण पनि सरकारले उदारतापूर्वक, सहिष्णु र दायित्वबोध गरेर बिपक्षीलगायतका राजनीतिक दललाई राष्ट्रिय र साझा समस्याको समाधान खोज्ने कुशलता देखाउनु पर्छ । अशिष्ट र अमर्यादित शब्द प्रयोग गर्न छाडेर नैतिकता र सदाचारिता व्यवहारमा प्रदर्शन गर्नु पर्दछ । यसो नगरिए अराजकतातर्फको पाइलालाई रोक्न सकिने छैन । जुन देश र जनताको भविष्यका लागि दुर्भाग्यपूर्ण हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *