निजी क्षेत्रलाई खोपको अनुमति देऊ सरकार !

सन्तोष अग्रवाल
कोरोनाको तेस्रो लहर सुरु भइसक्दा समेत नेपालमा अझै सर्वसाधारणले खोप लगाउन पाएका छैनन् । नेपालको संक्रमण दर भारतभन्दा सात गुणा बढी रहेको विज्ञहरुले बताइरहँदा समेत खोप कहिले आउने हो, अझै टुङ्गो छैन । असारमा सरकारले कर असुल्नै पर्ने भएकोले दोस्रो लहरबाट संक्रमित र मृत्युदरमा केही कमी आएको ९रु० भनी लकडाउन खकुलो बनाइएकाले र सर्वसाधारणले आवश्यक सावधानी नअपनाएका कारण भविष्यमा यसले व्यापक महामारीको रुप लिन सक्ने सम्भावना छ ।
स्वास्थ्य मापदण्ड नअपनाएकै कारण कोभिडको तेस्रो लहरबाट व्यापक क्षति हुने अनुमान गरिएको छ । स्वास्थ्यमन्त्रीहरु पटक(पटक फेरिरहनु, सरकार नै अस्थिर बनेर राज्य व्यवस्था नै धरासायी भएको बेला खोप ल्याउन पटक(पटकको प्रयास पनि सफल भएको देखिँदैन । अहिलेसम्म नेपालमा २।५ प्रतिशतले मात्र खोप पाउन सकेका छन् । त्यसमध्ये पनि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएको तीन महिना बितिसक्दा पनि दोस्रो डोज पाउन सकेका छैनन् । दोस्रो डोज आउने(नआउने निश्चित छैन ।
देश यस्तो महामारीले आक्रान्त भइरहेको बेला महामारीकै बीचमा तीन पटक स्वास्थ्यमन्त्री फेरिनु नै खोप आउन ढिलाइ हुनुको मुख्य कारण हो । आफ्नो कार्यभार सम्हालेर काम सुरु गर्न नपाउँदै पदमुक्त हुनुपरेका कारण खोप उत्पादक तथा कम्पनीहरुले विश्वास गर्न नसकेर खोपको सम्झौतामा ढिलाइ भएको कुरा स्वयम् स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले नै बताएका छन् ।
निर्णयको चरणमा पुगिसकेको बेला नयाँ मन्त्री आएपश्चात् आफ्नो स्वार्थ अनुरुप निर्णय भइसकेका कम्पनीलाई भन्दा आफूलाई फाइदा पुग्ने कम्पनीलाई ठेक्का दिलाउन लागेपछि खरिद प्रक्रिया जहिल्यै धकेलिँदै आएको छ । १३० करोड जनसंख्या भएको छिमेकी मुलुक भारतमा लगभग २३ प्रतिशतले खोप पाइसकेका छन् । र, हाल द्रुत गतिमा दैनिक ७०(८० लाखका दरले नागरिकलाई खोप लगाइएको कारण यो वर्षको अन्त्यसम्ममा सबैले खोप पाइसक्ने भए तापनि हाम्रो देशमा यही गति रहेमा ३(४ वर्षसम्ममा पनि सबैले खोप पाउलान् भन्ने कुनै ग्यारेन्टी छैन । भारत सरकारले डेल्टा प्लसलाई भेरियन्ट अफ इन्ट्रेस्ट ९चासोको भेरियन्ट०को श्रेणीमा राखेको छ । विज्ञहरुले डेल्टा प्लस बढी गम्भीर श्रेणी अर्थात् भेरियन्ट अफ कन्सर्नमा राखेकाले नेपालमा न्यून मात्रामा खोप वितरण गरिएको अवस्थाका कारण यो भाइरसले बढी क्षति र्पुयाउने देखिन्छ । हालसम्म डेल्टा प्लस भेरियन्ट नेपाल, भारत, अमेरिका, ब्रिटेन, क्यानडा लगायत ११ मुलुकमा पाइएको र हाल मुलुकमा देखिएको सुरक्षा मापदण्ड अपनाउन हेल्चेकर््याइँ र खोपको अनिश्चितताका बीच तेस्रो लहर घातक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा। जि।डी। ठाकुरले बताएका छन् ।
सरकार आफू पनि खोप ल्याउन नसक्ने, निजी क्षेत्रले माग गर्दा समेत अनुमति दिन नसकेकै कारण र कमिसनको भागबण्डा नमिल्दा भुक्तानी भइसकेको खोप समेत आउन नसकेको दुर्भाग्यपूर्ण छ । सरकारले ल्याएको खोप निस्शुल्क बाँडेर निजी क्षेत्रले पैसा तिर्न सक्नेले सशुल्क लगाउन अनुमति दिएमा मात्र खोप सर्वसुलभ हुने र यसबाट नेपालीहरुले तेस्रो लहरबाट बच्न केही राहत पाउने थिए । तत्काल फास्ट ट्रयाकबाट सरकार र निजी क्षेत्र दुवैले खोप ल्याउन अझै ढिलो भएको छैन ।
पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतको सिरम इन्स्टिच्युटसित ५० लाख डोज ल्याउने तयारी गरेको र त्यसमध्ये १० लाख डोज ल्याउन पैसा समेत भुक्तानी भइसकेको अवस्थामा नेपाली बिचौलियाको चलखेलका कारण उक्त खोप आउन नसकेको स्वयम् तत्कालीन स्वास्थ्यमन्त्रीले बताएका छन् । अहिले पनि कमिसनको भागबण्डाका कारण खोप आउन ढिलाइ भएको जानकारहरु बताउँछन् ।
अहिले कुर्सीको लडाइँ छोडेर सरकारले प्रतिपक्षलाई समेत विश्वासमा लिई मतभेदलाई केही महिनाका लागि थाती राख्दै खोप ल्याउन पहल नगरेमा यसको मारमा नेताहरु समेत नपर्लान् भन्न सकिन्न । आगे तपाईंको मर्जी, चेतना भया ।
