कांग्रेसका भातृसंगठन पनि सडकमा
विर्तामोड ।

केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले असंवैधानिक रुपमा गरेको संसद विघटनविरुद्ध नेपाली कांग्रेसका भातृ संघ–संस्थाहरुले आगामी माघ १९ गते बिर्तामोडमा जिल्लाव्यापी विरोध प्रदर्शन गर्ने भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन तथा नेपाली कांग्रेस झापाको शुक्रवार सम्पन्न संयुक्त बैठकले बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा केन्द्रीय सदस्यहरु सुधिरकुमार शिवाकोटी, दिलीप राई, पूर्वसांसद डिल्ली सिटौला, पार्टीका पदाधिकारी÷सदस्य, भातृ तथा शुभेच्छुक संघ–संस्थाका सभापतिहरु सम्मिलित संयुक्त बैठकले माघ १९, माघ २४ र फागुन ३ गते बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
जसअन्तर्गत माघ १९ गतेको बिरोध प्रदर्शनमा कांग्रेसका भातृ संघ–संस्थाहरुको नेतृत्व रहनेछ भने २४ गते शुभेच्छुक संघ–संस्थाको नेतृत्वमा विर्तामोडमा विरोध प्रदर्शन तथा बिरोधसभा सम्पन्न हुने नेपाली कांग्रेस झापाका सचिव तारावीर कटुवालले जानकारी दिए । नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेका अनुसार फागुन ३ गते पार्टीकै नेतृत्वमा सदरमुकाम केन्द्रीत बिरोध प्रदर्शन हुनेछ ।
बैठकमा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले ओलीको कदमले लोकतान्त्रिक संविधान नै संकटमा परेको बताउँदै संविधानको रक्षाका कांग्रेस सडकमा उत्रिएको बताए । अर्का केन्द्रीय सदस्य दिलीप राईले कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र संविधान विरोधी कामले मुलुकलाई अन्धकारतर्फ धकेलेको धारणा राखे ।
पूर्व सांसद डिल्ली सिटौलाले सातदशक अघिदेखि लोकतान्त्रिक विधि र पद्धतिका लागि संघर्ष गर्दै आएको स्मरण गर्दै लोकतान्त्रिक विधि र पद्धतिबाटै सत्तामा पुगेका कम्युनिष्ट नेताहरुले विधिको पालना नगर्दा संवैधानिक संकट निम्तिएको बताए ।
केपी ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेको थियो । ओलीको उक्त कदम बिरुद्ध नेपाली कांग्रेसले यसअघि जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ÷नगर र वार्डस्तरसम्म विरोधका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
