September 13, 2026

अलैंची तेस्रो देश निर्यातमा पहल गर्ने प्रतिबद्धता

0

विर्तामोड, 

सरोकारवालाहरुले बहुमूल्य नगदे कृषि बाली अलैंचीलाई तेस्रो देश निर्यातका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पछिल्लो केही वर्षयता अलैंचीको मूल्यमा लगातार गिरावट आई किसान तथा व्यवसायी निराश बनिरहेका बेला झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा सरकारी तथा निजी क्षेत्रले संयुक्त रुपमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेपाली अलैंचीको ठूलो हिस्सा भारतमा मात्र निकासी हुने गरेको र भारतीय व्यवसायीले तोकेको मूल्यमा अलैंची बिक्री गर्नुपर्ने वाध्यता रहेकोमा संयुक्त रुपमा वैकल्पिक अन्तर्राष्ट्रिय बजार खोज्न सरकारी र निजी क्षेत्र अग्रसर भएका हुन् ।

नेपाल अलैंची व्यवसायी महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा विर्तामोडको होटल टाइमलेस मुमेन्टको सभाहलमा आयोजित अलैंची निर्यातका समस्या र समाधान विषयक अन्तरक्रियामा सहभागी अलैंची व्यवसायीहरुले अलैंचीको मूल्यमा आएको गिरावटबाट परेको प्रभाव र निर्यात व्यापारमा भोग्दै आएको समस्याका बारेमा कुरा राखेका थिए ।

उनीहरुले अब पनि निर्यातमा विकल्प नखोज्ने हो भने अलैंचीको उत्पादन र व्यवसाय धरासायी हुने एवम् अलैंची खेतीबाट किसान र अलैंची व्यवसायबाट व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको गुनासो गरेका थिए ।

महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले परम्परागत निर्यात व्यापारबाट माथि उठ्न आवश्यक भइसकेको बताउँदै विश्वबजारमा प्रतिस्पर्धी ढंगले अन्तर्राष्ट्रिय मूल्य–मान्यतामा आधारित निर्यात व्यवसायिक प्रक्रिया अघि बढाउन र वैकल्पिक बजारहरुको खोजीमा महासंघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले ठूलो परिमाणमा विदेशी मुद्रा भित्र्याउने अलैंचीको प्रवद्र्धनमा सरकारले चासोपूर्वक ध्यान पुर्याउनुपर्ने बताउँदै त्यसका लागि सरकारी निकायलाई महासंघले घच्घच्याइरहने विश्वास दिलाए ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरेले अलैंचीको विकास, प्रवद्र्धन, संरक्षण र निर्यात व्यवसाय सहज बनाउन सरकारले उल्लेख्य काम गर्न नसकेको भन्दै अलैंचीलाई महत्व दिन आग्रह गरे । व्यवसायी सुजित वंशल, विजय खाकी, महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईलगायतले व्यवसायी मात्र नभई किसानले पनि भोग्दै आएका समस्याका बारेमा जानकारी गराएका थिए

नेपाल उद्योग वाणिज्य महासंघ तथा १ नं. प्रदेश उद्योग वाणिज्य महासंघमा हालै निर्वाचित पदाधिकारी–सदस्यहरुलाई बधाईसहित सम्मान गरिएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दुर्गा भुषालले सहभागीहरुको गुनासा–समस्या सुनेपछि अलैंचीको क्षेत्रमा सरकारको तर्फबाट थप योजनाहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ, महासंघको निर्यात समितिका सभापति मनिषलाल प्रधान, केन्द्रीय सदस्य उमेश डालमिया, १ नं. प्रदेश अध्यक्ष टीकाराज ढकाललगायतले कोभिड–१९का कारण सबैखाले उद्योग–व्यवसाय धराशायी भएको भन्दै सरकारले व्यवसायीलाई उकास्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका थिए ।
नेपालमा वार्षिक सरदर ५ लाख केजी अलैंची उत्पादन हुँदै आएको छ । अलैंची निर्यातबाट लगभग ५ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिने गरेको महासंघका कार्यालय प्रमुख अनिल ढुंगानाले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन महासंघका महासचिव सुवास भट्टराईले  र स्वागत उपाध्यक्ष इन्द्रचन्द बिन्दलले  गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *