गुठीकै जग्गा गुठीकै नाममा आएपछि …
बिर्तामोड।

अनारमनीस्थित दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद बिमलीले गुठीकै नाममा फिर्ता गरेकोमा झापा गोल्डकप, झापा ११ फुटबल क्लव र झापा फुटबल क्लवले आभार व्यक्त गरेका छन् ।
बिर्तामोडमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै लामो समयदेखि विवादमा रहेको सो जमिन गुठीकै नाममा फिर्ता गरेर विमलीले उदाहरणीय काम गरेको भन्दै खेलसँग सम्बन्धित विभिन्न क्लवले आभार व्यक्त गरेका हुन् ।
झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङ र झापा फुटबल क्वलका अध्यक्ष गजेन्द्रबहादुर पौडेलले संयुक्त रुपमा प्रेस नोट जारी गर्दै २०७७ साल माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा बिमलीले हक छोड सनाखत गरी जग्गा फिर्ता गरेको बताएका छन् ।
बिमलीले कित्ता नं. १२०, ८२२, ८२५ र ८१५को अनारमनीस्थित दुर्गास्थान राजगुठीका नाममा रहेको जग्गाका मोही टीकादेवी बिमलीको निधनपछि फिर्ता गरेको प्रेस नोटमा उल्लेख छ । योसँगै कित्ता नं. ८२०, ८१२ सूर्यकुमार बिमलीको नाममा रहेकाले त्यसलाई समेत फिर्ता ल्याउने पहल भइरहेको बताइएको छ । जसका लागि महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले आवश्यक पहल गरिरहेको बताइएको छ ।
खेलकुदको विकासका लागि फिर्ता भएको जमिनमा डोमालाल राजवंशी रंगशाला बनाउने पहलकदमीका लागि प्रक्रिया अघि बढाइने बताइएको छ ।
