September 13, 2026

हात्तीको समस्याः बाँच्नको लागि रातभर जागै

0

बिनोद पाण्डे,
चारपाने ।

झापाको बुद्धशान्ति गाउँपालिका–३मा जंगली हात्तीले मानव बस्तीमा पसेर दिनहुँ वितण्डा मच्चाइरहेको छ । हात्तीले भर्खरै स्थानीयका आधा दर्जन भन्दा धेरै घरहरुमा क्षति पुर्याएको छ भने घरभित्र राखेको अन्नपात नष्ट गरेको छ भने खेतबारीमा लगाइएको बाली, फलफूल र सागसब्जी भित्र्याउने अवस्था छैन ।

केही दिनअघि हात्तीले खिनामाया खतिवडाको घरको बरण्डामा लगाइएको बार भत्काएको छ । त्यस्तै अर्का कृष्णमाया चापागाँईको काठको बेरा भत्काएर धानको बोरा नै हात्तीले लिएर गएको थियो । अर्का स्थानीय शान्ति धिमालको दुईतर्फको टाटी र शौचालयमा हात्तीले क्षति पुर्याएको छ ।

सानो नानीसहित बस्दै आएकी स्थानीय गायत्री घिमिरेले घरको सिकुवामा गृलले बेरा लगाएर च्याउ खेती गर्दै आएकी थिइन्, हात्तीले उनको च्याउ खेती कामै नलाग्ने गरी क्षति पुर्याएकोे छ । गाउँमा मजदुरी गर्दै बालबच्चा पाल्दै आएका प्रकाश लुइँटेलले बर्ष दिनसम्म पुग्ने ३० मन थान किनेर जोहो गरेर राखेका थिए, उक्त धानको भकारी नै तानेर घरबाहिर निकालेर खाइदिएपछि अब कसरी बर्षभरि खाने भन्ने चिन्तामा छन्– उनी । धान मात्र होइन टिनको छानो र एकतर्फीको टाटीबेरा कामै नलाग्ने गरी हात्तीले भत्काइदिएको छ । सोही ठाउँमा पशु आहार चोकर दानाको व्यापार गर्दै आएका पवनकुमार दंगालको दुईवटा सटरको पक्की गाह्रो र माथि लगाएको फल्स सिलिङ समेत क्षतविक्षत बनाई दिएको छ ।

घरै मास्तिर हात्ती आयो, छरछिमेकीहरु होहल्ला गर्दै हात्ती खेदाउन लागे गाउँलेसँगै हात्ती धपाउन निस्केका निलकण्ठ पौडेल भाग्यले बाँचे, उनलाई हात्तीले लसारपछार पार्दै ढाढमा कुल्चिदा दुईवटा करङ नै भाँचिएको छ– स्थानीयले भने । आलीको डिलमुनि परेकाले हात्तीले जोरले कुल्चिन पाएन र उनी बाँच्न सफल भए । उनी अहिले नोवेल अस्पतालमा अप्रेशन गराएर घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । विपन्नताकाबीच जीवन निर्वाह गर्दै आएका पौडेलको गाउँलेहरुको सहयोगमा ५ लाखभन्दा धेरै खर्च भयो, हाल उनको अवस्थालाई हेर्दा कम्तीमा ६ महिना सामान्य जीवनमा फर्कन मुस्किल देखिन्छ– स्थानीयले भने ।

त्यहाँका नागरिकहरुसँग हात्ती धपाउने कुनै आधुनिक उपकरण पनि छैन, न प्रशासनको साथ छ । भगवान पुकारा गर्दै थाल ठटाएर हात्तीबाट बच्नको लागि हरेक रात चुनौतिको सामना गर्नुको विकल्प छैन । विगतका बर्षहरुमा हुलका हुल हात्ती आउने गरेको सो ठाउँमा यतिखेर एउटा हात्तीले उपद्रो गरिरहेको छ । जबसाँझ पर्दै जान्छ त्यहाँ मानिसहरु राँको र टर्च लाइटको व्यवस्थापनमा लाग्छन् । हिजो माथिल्लो घर भत्कायो, आज कसको घर भत्काउने हो, कसलाई घाइते बनाउने र कसले मर्नुपर्ने भन्ने त्रासमै त्यहाँका नागरिकका दैनिकी बित्ने गरेको छ ।

हात्तीले क्षति पु¥यायो, राहत पाउँ भन्दै स्थानीय सरकार समक्ष निवेदन दिनेहरुको संख्या दिनहुँ बढिरहेको छ । स्थानीय सरकारले प्रक्रियाको कारण देखाउँदै ढिलो राहत दिने, धनीपुर्जा नभएकाले राहत नपाउने नियमले गर्दा भूमिहीनहरु झनै मर्कामा परेका छन् । बन्यजन्तुको कानून कडै छ, कानून कार्यान्वयन गर्ने जिम्मा पाएको वन विभागलाई नागरिकले पीडा प्रस्तुत गर्दा क्षतिप्रति कुनै चासो दिइँदैन, उल्टै नागरिकलाई हप्काउने गरेको पीडित पवनकुमार दंगालको गुनासो छ ।

हात्तीले लाखौंको क्षति पुर्याउँछ तर क्षतिपूर्ति दिने कानूनमा छैन भन्दै राहतमा दश, पन्ध्र हजारसम्म वन विभागले उपलब्ध गराउन सहजीकरण गर्छ, स्थानीय सरकारले पाँच हजार दिने निर्णय गरेको छ । सो रकम पनि प्राप्त हुन महिनौ लाग्ने गरेको कारण पीडितहरुको दुःखमा मल्हमपट्टि लाग्न सकेको छैन ।

हात्ती नआओस् भनेर त्यहाँका स्थानीयहरुले अनेकौ उपायहरु अपनाएका छन् । घर वरिपरि प्लास्टिकका धजा टाँगेका छन् । बिजुली प्रवाह भएको जस्तो देखाउन तारले घरबारी घेरेका छन् । घरै पिच्छे राँको, टर्च, ठूलो आवाजमा बज्ने बाजा, ढोल ढ्याङ्ग्रो तयार पारिएको हुन्छ, कुनै टोलमा हात्ती देखियो भने होहल्ला गर्दै राँको र बाजा बजाउन थाल्दा रहेछन्, त्यहाँका दीनदुःखी कृषक, मजदुरहरु ।

हात्ती र मानवबीच ठूलो द्वन्द्व रहेको छ । हात्तीले मान्छे मार्ने कि मानिसले हात्ती ? कानूनको परिधिमा रहेका स्थानीयहरु सरकारले नै हात्तीलाई अन्यत्र पठाउने वा व्यवस्थापन गर्ने काम गरोस् भन्ने चाहन्छन् । जंगल क्षेत्रलाई बिद्युतीय तारबार गर्ने, दिउँसै जंगलबाट नै हात्ती लखेट्ने अन्तिम विकल्प रहेको स्थानीय नागरिक अगुवा सीताराम बाँस्तोला बताउँछन् । उनी अहिले स्थानीय सरकारले गठन गरेको मानव हात्ती द्वन्द्व न्यूनीकरण समितिका अध्यक्ष पनि हुन् ।

हात्तीले व्यक्तिका मात्र हैन सार्वजनिक भौतिक संरचनाहरु पनि भत्काउने काम गरिरहेको छ । हात्तीले केही दिनअघि आदर्श नमूना सामुदायिक बनले निर्माण गरेको पर्यटकीयस्थलमा रहेको मन्दिरको भण्डार कोठाको भित्तो पनि भत्काइदिएको छ । जंगलमा घेराबारा गरिएका पोल र तारहरु जताततै छिनाइदिएको छ । सो क्षेत्रमा विगतका दिनमा हात्तीले मानिस मारेको र हात्ती पनि मरेको अबस्थामा फेला परेको घटनाहरु स्थानीयका लागि ताजै छ । अब मानव र जंगली जनावरको ज्यान नजाओस् भन्नको लागि सरकारले त्यस क्षेत्रमा दीर्घकालीन समस्या समाधानको कार्यक्रम र योजना तत्काल ल्याउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *