बिर्तामोड – १ मा आधारभूत स्वास्थ्य केन्द्र
तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
बिर्तामोड – १ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु गरिएको छ ।

बिर्तामोड – १ का वासिन्दालाई आधारभूत स्वास्थ्य उपचारमा पहँुच पुर्याउने उद्धेश्यले आधारभूत स्वास्थ्य केन्द्रको निर्माण शुरु गरिएको बिर्तामोड – १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले वताए ।
बिर्तामोड – १ का वासिन्दा दानवहादुर राउतले ६० लाख मूल्य वरावरको एक कठ्ठा जगगा निःशुल्क उपलव्ध गराएपछि सोही जग्गामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु गरिएको उनले वताए ।
वरपिपल टोल विकास संस्थाको वरपिपल चोक नजिकै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यको शनिबार शिलान्यास गरिएको छ ।
विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड – १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, जग्गादाता दानवहादुर राउतले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्यको शिलान्यास गरेका थिए ।

बिर्तामोड – १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड – १ की वडासदस्य यमुना आचार्यले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईंले बिर्तामोड – १ मा निर्माण हुने आधारभूत स्वास्थ्य केन्द्रबाट त्यस क्षेत्रका वासिन्दा लाभान्वित हुने वताए ।
२७ लाख रुपैयाँको लागतमा निर्माण हुने आधारभूत स्वास्थ्य केन्द्रको भवन एकतले र चारकोठे रहने बताइएको छ ।
कार्यक्रमको सञ्चालन बिर्तामोड – १ की वडासदस्य कमला महरा दर्जीले गरेकी थिइन् ।आधारभूत स्वास्थ्य केन्द्रका लागि व्यवसायी युवा राजु वस्नेत , विशाल निरौला , राजु समालसमेतको पहलमा उक्त जग्गा निःशुल्क प्राप्त भएको वताइएको छ ।
