April 30, 2026

लागेन दशैं मेला : देखाइएन सन्थाल नाच

0

सुरेन्द्र भण्डारी
झापा, कोरोना कहरका बीच यो वर्ष दशैं मनाइएका कारण झापामा कुनै पनि स्थानमा दशैं मेला लाग्न सकेनन् भने मेलामा देखाइने सन्थाल नाच समेत देखाइएन् ।
मेलामा सन्थाल नृत्य प्रमुख आर्कषक मानिन्थ्यो । तर, झापाका स्थानीय वजारमा दशैंको अबसर पारेर देखाइने सन्थाल नृत्य यो वर्ष प्रभावित भएको छ ।
कोरोना कहरकाबीच दशैं मनाइएकाले यो वर्ष अघिल्ला वर्ष झैं सन्थाल नृत्य नदेखिइएको हो । विशेष गरी राजगढ सहित गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलवारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली तथा लखनपुरमा सन्थाल नृत्य यस अघिका वर्षमा देखाइँन्थ्यो ।
प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दशैं र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । दशैं र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल समुदायका मानिसहरुको नाच प्रमुख आकर्षण हुने गरेको छ । सन्थाल नाच नभएको दशैं मेलामा कुनै रौनक हुँदैन भन्ने धेरै छन् ।


पूर्वी तराईका आदिवासी सन्थाल समुदायका मानिसहरुको दसैँ विशेष किसिमको हुने गरेको छ। उनीहरुले आफ्ना देउतालाई आफ्नो समुदायको मात्र होइन समग्र समाजकै भलाई होस् भन्ने प्रार्थना गर्ने गरेका छन्।
सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भंगिमा रंगीन कमिज, पञ्ची, धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ।
यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन् भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन्। नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचिरहेका सन्थालहरू आफूलाई बहादुर सावित गर्न बिनाहात जमीनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन्। तर यस वर्ष दशैंमा मेला नलागेकाले यस खाले कुनै गतिविधि देख्न पाइएन ।
दशैंमा देवीपीठमा नृत्य प्रस्तुत गर्न प्रत्येक सन्थाल गाउँबाट मूलीको नेतृत्वमा सन्थालहरू भंगी पहिरनमा अपरान्ह जम्मा भई लठ्ठी बजार्दै, ढोल ठोक्दै, बाँस माथिको मयूरको लिंगो बोकेर छुट्टाछुट्टै समूहमा मेलामा प्रवेश गरी भगवती पीठ परिक्रमा गर्दछन् । अनि एक निश्चित ठाउँमा लिंगो गाडी त्यसैलाई केन्द्र मानेर आफ्नो नृत्यकला प्रदर्शन गर्दछन् । विशेषतः उनीहरू बढी मात्रामा हात र खुट्टाको चाललाई प्रयोग गर्दछन् । साथै केही समूहले गाइजात्राको प्रतिनिधित्व गर्दछन् । भने कोही कालीको शक्ति आफूमा चडेको देखाउन कोर्रा, लठ्ठीको सहजरूपमा सामना गर्दछन् ।
मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छे माथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौं कोर्रा सहने आदि यस जातिगत नृत्यका केही डरलाग्दा रोमाञ्चक आश्चर्यजनक दृश्यहरू हुन् । त्यस समयमा आफूहरूलाई कालीको शक्ति चढेको हुनाले खासै असर नहुने जेठा सन्थालले बताए । अरू जातिको भन्दा पृथक शैली, प्रस्तुती र आश्चर्यजनक दृश्य भएकोले नै यस नृत्य मनमोहक र मनोरञ्जनपूर्ण हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *