कांग्रेस सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर दशैं मनाउन आग्रह
सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गर्नुभएको छ । उहाँले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गर्नुभएको छ । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
विजयादशमीका अवसरमा सभापति देउवाले आफू र कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
