September 14, 2026

आजदेखि नेपाली सेना दोस्रो चरणमा देशभर परिचालन

0
इलाम,कात्तिक १९ ।  सुरक्षा व्यवस्था मजवुत पार्न र नागरिकको मताधिकार सुनिश्चत गर्न आजदेखि नेपाली सेना दोस्रो चरणमा देशभर परिचालन हुँदैछ।
निर्वाचनको एक महिनाअघि गत कात्तिक ३ गते चुनावी सुरक्षाका लागि ब्यारेकबाट निस्केर हरेक निर्वाचनक्षेत्रमा दुईटा अस्थायी ब्यारेकमा बसेको सेना आजदेखि थप नयाँ ठाउँमा परिचालन हुँदै गरेको हो।
 निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सहयोगीका रुपमा परिचालन हुँदै गरेको सेनाले विभिन्न नौवटा जिम्मेवारी बहन गर्दै चुनावी सुरक्षा दह्रो पार्नेछ। आजदेखि हरेक निर्वाचन क्षेत्रका गाउँ पुग्ने सेनाले मतदानस्थल आसपासको बाहिरी सुरक्षा दह्रो पार्नेछ। निर्वाचनमा सुरक्षा चुस्त पार्ने जिम्मेवारी पाएको सेना देशभरका निर्वाचन क्षेत्रमा ६१ हजारको संख्यामा परिचालन हुनेछ।
इलामको गढीथुम्कास्थित कालीध्वज गणका गणपति कर्णेल सुवासजङ थापाले इलाममा चुनावी सुरक्षाका लागि यसअघि पाँच ठाउँमा अस्थायी क्याम्प बनाएर बसेको सेना आजदेखि १५ नयाँ ठाउँमा विस्तार हुने बताए। थापाका अनुसार, क्षेत्र नम्बर १ को आइतवारेमा बस्दै आएको सेना आज जिर्मले र दानावारीका लागि बन्दोबस्तीका सामग्रीसहित निस्कँदैछ।
१७ गाविस रहेको क्षेत्र नम्बर २ का लागि चुलाचुली, बाँझो, साकफारा, आमचोक, गजुरमुखी र मंगलवारेमा सेनाको टुकुडी बस्दैछ। उक्त क्षेत्र सुरक्षा दृष्टिले संवेदनशील मानिएकाले सेनाले विशेष प्राथमिकता दिएको छ। यस्तै, एक नगरपालिकासहित १८ गाविस समेटिएको क्षेत्र नम्बर ३ को चुनावी सुरक्षाका लागि माबु, माइमझुवा, नयाँबजार, प्याङ, नामसालिङ र चमैंतामा सेनाको टुकुडी राखिँदैछ।
इलाम सुरक्षा दृष्टिले सामान्य भएकाले मतदानस्थल बाहिरको आउटर रिङ चुस्तदुरुस्त पार्नु सेनाको  मुख्य जिम्मेवारी हुने जानकारी दिँदै कर्णेल थापाले सुरक्षा संवेदनशीलता भएका जिल्लामा भने फरक भूमिका हुने बताए। भाइटीकाको दिन भएकाले गाउँले चेलीबेटीसँग टीका थापेर ब्यारेकबाट निस्कने सेना तोकिएका स्थानमा आज बेलुकै पुगिसक्ने र टाढा रहेका ठाउँमा भोलि बिहानसम्म पुगिसक्ने योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *