कमलका कृषकहरु सूर्यमुखी फूल खेतीमा आकर्षित
झापा,
झापा, कमल गाँउपालिकाका कृषकहरु तेलहनका लागि सूर्यमुखी फूल खेतीतर्फ आकर्षित भएका छन् । तेलहनमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रोत्साहन दिन थालेपछि कृषकहरु यसको खेतीमा आकर्षित भएका हुन् ।

कृषक तिम्सिनाले तेलहनका लागि तोरीभन्दा यस फूलको खेतीको उत्पादन बढ्ने र स्वास्थ्यका हिसाबले समेत यसको तेल उपयोगी भएकाले पनि परीक्षणका रूपमा खेती थालेको बताउनुभयो । यस खेतीबाट राम्रै उत्पादन दिए बर्सेनि यसरी नै व्यावसायिक खेती गर्ने उहाँको सोचाइ छ । उहाँले भन्नुभयो, “यस पटक सूर्यमुखी फूलले रामै्र उत्पादन दियो भने यसरी नै नियमित खेती विस्तार गर्छु ।” गाउँपालिकाबाट एक केजी बीउ अनुदान पाएर खेती गर्नुभएका उहाँ फूलखेतीले मनग्यै उत्पादन दिने अनुमान गर्नुहुन्छ । मलजल गर्दा फूलले राम्रै उत्पादन दिने देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार बारीमा लगाएको सबै बोट भर्खरै फुलिसकेका छन् ।
अबको महिना दिनभित्रमा यसबाट तेल निकाल्न सकिन्छ । इन्टरनेटको सहायताबाट खेती थाल्नुभएका उहाँले बिरुवाको हेरचाहदेखि बाली काट्नेसम्मको कृषि प्राविधिक ज्ञान सिकेको बताउनुभयो । नजानेको कुरा इन्टरनेटबाट खोजेर यसको प्राविधिक ज्ञान लिँदै आएको उहाँको अनुभव छ । भान्सामा प्रयोग गरिने अन्य तेलभन्दा यस फूलको तेल गुणस्तर मानिने कृषकको बुझाइ छ । तेलहनमा आत्मनिर्भर बन्न प्रेरणा दिनसमेत उहाँले यसको खेती थालेको बताउनुभयो । बजारका तेलभन्दा आफैँले उत्पादन गरेको विषादीरहित तेल उपभोग गर्न सके स्वास्थ्य सुरक्षामा थोरै भए पनि सघाउ पुग्ने उहाँको जिकिर छ । उहाँ भन्नुहुन्छ, “शरीर स्वस्थ बनाउन हामीले खानेतेलमा पनि स्वच्छतामा ध्यान दिनुपर्छ, त्यसका लागि पनि यसको खेती थालेको हुँ ।” मलजलसँगै मेहनत गरेअनुसार यस खेतीबाट उहाँले पाँच कठ्ठा जमीनमा १० मनभन्दा बढी तेल उत्पादन गर्ने अनुमान गनुभएको छ ।
बजारमा अहिले १०० रुपैयाँ प्रतिकेजी यस फूलको फल बिक्री हुन्छ । बारीमा कसैले लिन चाहे त्यही दरमा तेलको तयारी अवस्थाको फल विक्री गर्ने कृषक तिम्सिनाको भनाइ छ । “सूर्यमुखीको खेतीबाट तेलका लागि आत्मनिर्भर बन्न सकिने रहेछ, यसमा राज्यले समेत प्रोत्साहित दिनुपर्छ”, उहाँ भन्नुहुन्छ । गाउँपालिकाले यसवर्ष सात वटै वडाका कृषक समूहलाई सूर्यमुखीको बीउ अनुदानका रूपमा वितरण गरेको थियो । तेलहनमा आत्मनिर्भर गराउन गाउँपालिकाले गत वर्षदेखि प्रोत्साहनस्वरूप निःशुल्क बीउ वितरण गर्नुका साथै प्राविधिकसमेत उपलब्ध गराएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले बताउनुभयो ।
गाउँपालिकाले यसवर्ष ६० केजी बीउ कृषि समूहलाई अनुदान दिएको थियो । उहाँले कृषि समूहमार्फत बीउ पाएकामध्ये वडा नम्बर १, ५, ६, र ७ का कृषकले लगाएको सूर्यमुखी खेती फस्टाउँदै गएको बताउनुहुन्छ । गाउँपालिकाभित्र करिब ५० भन्दा बढी अगुवा कृषकले यसवर्ष सूर्यमुखी फूलको खेती गरेको कृषि शाखाले जनाएको छ । –––
