शहीदरत्नकुमार बान्तवा र कम्युनिष्ट आन्दोलन
तीर्थराज खरेल,
वि.सं. २००६ सालमा माक्र्सवाद–लेनिनवादलाई प्रमुख मार्गनिर्देशक सिद्धान्त मान्दै पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन गरिएको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगभग दुई तिहाइ हाराहारीको मतादेशसहित नेपालमा यतिबेला सत्तासीन छ । आजको परिस्थिति निर्माण गर्नका लागि हजारौं शहीदको कुर्वानी र लाखौं जनताको पसिना र करोडौं जनताको समर्थन र सहानुभूति छ । नेपालमा यतिबेला माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने दलको मुख्य नेतृत्वमा दुई तिहाइको मतादेशसहित सरकार क्रियाशील छ ।
कम्युनिष्टको यति भारी जनसमर्थनसहित एकमना सरकार बन्नुले नेपाली समाजका विविध तप्काका जनसमुदायको दशकौंदेखिको सपना पुरा भएको छ ।संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्था ल्याउन रत्नकुमार बान्तवाजस्ता महान शहीदको अत्युच्च भूमिका रहेको छ । चीनका महान नेता माओत्सेतुङ्गले भने झैं सबै मानिस मर्न त एक दिन अवश्य नै मर्छन् तर कोही मानिस पहाड जस्तो ओजस्वी मृत्युवरण गर्छन् भने कोहीको मृत्युको खासै महत्व हुँदैन । कम्युनिष्ट आन्दोलनका पूर्वका ध्रुबतारा शहीद रत्नकुमार बान्तवाले पनि पहाड जत्तिकै ग¥हुँगो मृत्युवरण गरेका थिए र सगरमाथाजत्तिकै उचो गरिमा कायम गर्न सफल भएका छन् नेपाली जनताका मनमनमा ।उनको जीवनलीला समाप्त पारेर उनको विचारको हत्या गर्न सकिन्छ भनेर पञ्चायती शासकहरु भ्रममा परेका थिए ।शासकहरु फेरि एक पटक झुक्किएका थिए । भौतिक शरीरको हत्या गरेर विचारको हत्या हुँदैन भनेर उनीहरुले बुझ्न सकेनन् । उनको हत्या गरेर सत्ता लम्याउने एकदलीय तानाशाही राजतन्त्रीय शासकहरुले शहीद रत्नको हत्या गरेपछि आफ्नो शासन अकण्टक चल्छ भनेर सोचे । तत्कालीन शासकहरु शहीदको रत्नको आदर्श सामु फिका लाग्छन् र आज तिनीहरु रछ्यानमा कतै गन्हाइरहेका छन्, तर रत्न सगरमाथा झैं ठाडो शिर गरेर ध्रुबतारा झैं अटल भएर चम्किरहेका छन् शहीद रत्न जाहीजुही चमेलीझैं सुगन्धित बनेर मुस्काइरहेका छन् र जनजनका मनमनमा सुवास छरिरहेका छन् ।
उनले लामो जीवन जिएनन्, तर पनि उनी अमर बने । २००८ चैत २७ गते इलामको चमैता गाविसको चित्रे गाउँमा जन्मेका रत्नकुमार बान्तवा नेपालका चर्चित वामपन्थी नेता थिए। प्राथमिक शिक्षा इलाम र पाँचथरमा पुरा गरेका बान्तवाले उच्च शिक्षा धरान र काठमाण्डौंबाट लिएका थिए। विद्यार्थी कालमा नै झापा आन्दोलनको प्रभाव यिनमा परेको थियो। २०३२ सालमा त्रिभुवन विश्वविद्यालयबाट बी. एड. गरेर इलाममा प्राध्यापन पेशाशुरू गरेका बान्तवाले केही समयमा नै सो पेशा छोडेर भूमिगत राजनीतिमा प्रवेश गरेका थिए । यिनी २०३५ साल पुष ११ मा माओ जयन्तीको अवसर पारेरझापा विद्रोहीहरुको सक्रिय पहलमा दर्जनौं कम्युनिष्ट घटकहरु मिलेर स्थापित नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय समितिमा संस्थापक सदस्यका रुपमा थिए। नेपाली कम्युनिष्ट आन्दोलन र इतिहासमा सदैव सम्झिरहने रत्नकुमारले पञ्चायती युगमा फरक विचार राख्दै चलाएको वामपन्थी आन्दोलन धेरैका लागि प्रेरणा बनेको थियो ।

बान्तवाका समकालीन मानिने थुप्रै कम्युनिष्ट नेता अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका छन् र सत्ताको बागडोरसम्हालिरहेका पनि छन् । क्रान्तिकारी वामपन्थी राजनीतिबाट प्रेरित बनेर जिन्दगीभर देश र जनताका लागि कम्युनिष्ट विचार बोकेर हिँड्ने संकल्प सहित ग्रामीण क्षेत्रमा गएर शिक्षण पेशा अपनाउने, यसो गरेर जनतासितको सम्बन्ध गाढा बनाउने, उनीहरूलाई सचेत र संगठित गर्ने सोचाइ र योजनामा थिएउनी । गोरो, होचो कद, हँसिलो अनुहार तर चिम्सा आँखा भएका मधुर स्वरका धनी बान्तवा सदैव कम्युनिष्ट साहित्यहरू जम्मा गर्ने, अध्ययन गर्ने, छलफल गर्ने, भविष्यमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफ्नो जीवन सम्पूर्ण रूपमा लगाउने जस्ता विषयमा केन्द्रित थिएं । झापा आन्दोलनका साहित्य–प्रकाशनहरू जम्मा गरेर अध्ययन गर्ने, विश्वसनीय साथीहरूबीच उतार गरेर वितरण गर्ने रत्न वैचारिक रूपमा परिपक्व र सुदृढ थिए । आफ्नो पारिवारिक पृष्ठभूमि र वर्ग–स्रोत, आफ्ना पिताको पुलिस सेवा र ब्यारेकीय जीवन, त्यहाँ आफूले प्राप्त गरेको प्रारम्भिक शिक्षा र जानकारी पाएको आधारभूत सुरक्षा सम्बन्धी तालिम, पिता अवकाश भएपछि पनि घरायसी स्थितिका दुःख–पीडाहरू, आमा र भाइ–बहिनीहरूले अरूकोमा गर्नुपरेको काम, यसै सिलसिलामा आफू स्वयम् पनि पढाइका लागि धरानका आफ्नै नाता पर्नेको घरमा कामदारका रूपमा रहेर गर्नुपरेको दुःख, त्यहाँ सहनुपरेको अपमान र त्यसलाई सहन गर्न नसकेर गरेको आत्महत्याको असफल प्रयास आदि सबै कुराले उनलाई संघर्षशील जीवन यात्रामा अघि बढ्न कठोर बनाएको थियो । क्यान्सरबाट पीडित बनेर जब आमाले मृत्युको काखमा पुग्नुप¥यो, आफूहरू निरीह बनेर छट्पटाई–छट्पटाई मर्दैगरेकी आमालाई हेरिरहन बाध्य बनेका आफ्ना दुःख, पीडा र संघर्षका कथाहरू, आफूले सहनुपरेका अपमानका व्यथाहरू आफ्ना घनिष्ठ साथीहरुलाई सुनाउने रत्नकुमार संघर्षले खारिएको दृढताको साक्षात् प्रतिमूर्ति थिए र जस्तासुकै अप्ठ्यारा कामका लागि पनि तत्पर भैहाल्ने रत्नको बानी थियो । ‘दुःख पहिला आफ्ना लागि, सुख पहिला अरुका लागि’ भन्ने कम्युनिष्ट आदर्श आज कस्तो फिका लाग्छ ?! तर शहीद रत्नकुमार त्यही कम्युनिष्ट आदर्शका प्रतीक थिए । उनी श्रमलाई आदर गर्ने र आफू पनि श्रमसँग जोडिने गर्दथे । सबै व्यक्तिगत स्वार्थ त्यागेर गरिब जनता र समाजको सेवा गर्ने लक्ष्यका साथ यथास्थिति विरुद्ध विद्रोेहको आगो बोकेका रत्न एकैपटक धेरै काम गर्नसक्ने क्षमता र प्रतिभा सम्पन्न थिए । उनी मन छुने गीत र कविताहरू रचना गर्थे, लयात्मक ढंगले वाचन गर्ने र अत्यन्त सुमधुर स्वरमा गाउने गर्थे । उनी चित्रकारितामा पनि त्यत्तिकै सिद्धहस्त थिए । पाब्लो नेरूदा, माक्सिम गोर्की, लु स्यून, भानुभक्त आचार्य, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा आदिका साहित्यबाट प्रभावित रत्नका लागि क्रान्तिकारीहरू, शहीदहरू, आन्दोलनमा उत्रिएका जनसमुदायको विशालपंक्ति, पसिना बगाउँदै श्रममा जुटिरहेका श्रमिकहरू आदि चित्रकारिताका विषय थिए ।
२०३५ साल चैत २७ गते शहीद रत्नकुमार बान्तवाको हत्या भएको थियो । ४० वर्ष अघि चैत्र २७ को बिहानीमा पूर्वी पहाडी जिल्ला इलामको इभाङ गाउँको जंगलको बाटोमा नेपालको सुन्दर भविष्यको सुन्दर सपना देखेर सदैव चिन्तनशील बन्दै आफ्नो सम्पूर्ण जीवन जनता र क्रान्तिका लागि अर्पण गर्ने कसम खाएर अघि बढिरहेका रत्नको छातीमा गोली दागिएको थियो ।उनी नेपाली कम्युनिष्ट आन्दोलनको पूर्वीय आकाशको चम्किलो ध्रुबतारा हुन् । शहीद रत्नकुमार बान्तवाको विचार र आदर्शको सान्दर्भिकता अझ मुखरित भएको छ, उनको आदर्शको महत्ता समकालीन नेपाली राजनीतिमा अझ बढेर गएको छ । देउमाईको किनारमा तत्कालीन पञ्चायती शासकहरूले रत्नलाई कायरता र निचतापूर्वक गोली हानी हत्या गरेका थिए । देउमाई एक सानो नदीको नाम हो, तर देउमाईको किनार बामपन्थीका लागि संघर्ष र बलिदानको प्रतीकको रुपमा आज पनि उभिएको छ । क्रान्तिकारी आन्दोलनको बिम्बको रुपमा देउमाईको किनार नेपालीहरुको हदयमा युगौंयुगसम्म रहनेमा सन्देह छैन ।
बीसको दशकको उत्तरार्धदेखि नै अलग धारमा विकसित र एक अर्काको अस्तित्वलाई स्वीकार्न पनि अप्ठेरो मान्ने दुई कम्युनिष्ट पार्टीको वीचमा एकता सम्पन्न भइसकेको छ । कोअर्डिनेशन केन्द्र (कोके) र मालेको धारबाट बनेको आज एमाले र माओ विचारधारा तथा माओवादलाई पथप्रदर्शक सिद्धान्त मानी आफूलाई मात्र क्रान्तिकारी मान्ने चौथो महाधिवेशन, मोटो मशाल, एकता केन्द्रको धारबाट बनेको माओवादी केन्द्रवीच एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । सच्चा देशभक्त र क्रान्तिकारीलाई एकताबद्ध गर्ने र नेपाल र नेपालीको भविष्यलाई सकारात्मक रुपमा बदल्न सक्ने बलशाली एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानको शुरुवात रत्नकुमारकै पहलमा ३० को दशकको पूर्वार्धमा भएको थियो । आज एकताको सो अभियानको एक महत्वपूर्ण चरण पूरा भएको छ । आजको समय विगतका महान इतिहासलाईलाई आत्मसात गर्दै आजको नेपाल निर्माण गर्ने हो । दलाल नोकरशाही पूँजीवादको जालोमा जकडिएको र परनिर्भरतामा जिएको मुलुकलाई आधुनिकीकरण, लोकतान्त्रीकरण र विश्वसामु स्वाभिमानपूर्वक अघि बढाउन जरुरी छ । त्यसका लागि शहीदको आदर्शलाई आत्मसा तगर्न जरुरी छ । २७वर्ष बाँचे पनि रत्नले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन गरेको योगदान ठूलो छ ।साहित्य लेखन र प्राध्यापनमा समेत जोडिएका रत्नका केही फुटकर सिर्जना अहिले पुस्तकमै भेटिन्छन् । बीसको दशकको उत्तराद्र्ध र तीसको दशकमा कम्युनिष्ट आन्दोलनको केन्द्र पूर्वी नेपाल थियो । कम्युनिष्ट आन्दोलनका एउटा सग्लो, समर्पित र उदाहरणीय व्यक्तित्व थिए रत्न । उनका विचार, कर्म, आदर्श तथा योगदानहरु आज पनि उत्तिकै प्रेरणादायी छन् । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसित सम्बन्धित साहित्यहरू मात्र होइन, देशभित्र सञ्चालित जनताका संघर्षका विवरण, झापा संघर्षका क्रममा र त्यससित सम्बन्धित जारी हस्तलिखित दस्तावेजहरू संकलन गरेका थिए । ग्रामीण क्षेत्रमा गएर गरीब किसान जनतालाई सचेत बनाउने र संगठित गर्ने उत्कट चाहना र योजना अनुसार उनी ठोस योजना र कार्यविधि सहित आफूभित्रको क्रान्तिकारी भावनाको उर्लदो छालले तरंगित बन्दै तत्कालीन सत्ताप्रतिकोतीब्र असन्तुष्टी र विद्रोहको जगमा उनी आफ्नो जन्मस्थल चित्रे फर्केका थिए । विकट गाउँमा गएर जनता र पार्टीको सेवा गर्नका लागि कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्तालाई गाउँ जान गरेको आव्हानले पनि उनलाई प्रेरणा दिने काम गरेको थियो ।
उनी स्वप्नदर्शी नेता थिए । मनभरी ढकमक्क फूलेका र आँखाभरी फक्रेका सपनाका सुन्दर फूलहरू वास्तविक जीवनमा प्राप्त गर्न गाउँबस्तीका जनताका बीचमा पुगेर उनीहरुलाई सचेत बनाउने, संगठित गर्ने र क्रान्तिको आधारभूमि बनाउने लक्ष्यका साथ उनी आफ्नो गाउँ फर्केका थिए । जन्मेकै महिना र गते मारिने, दुःखजिलोमा बाँच्ने, देश हाँक्न सक्ने र राष्ट्रिय प्रतिभा आदि उपमाले चिनिने बान्तवाको योगदानलाई गुमनाम हुन नदिन पार्टी र नेतृत्व लाग्नुपर्नेमा त्यसो हुन सकेको छैन ।२०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा उनका भाइ बमबहादुर बान्तवा पनि मारिएका थिए । शहीद रत्नकुमारको जन्मस्थल चित्रेस्थित पुरानो घर, भूमिगत रहन खनेको सुरुङ, प्रयोग गरेका सामग्री मात्रै होइन, इभाङको हत्यास्थल, चौतारो, सिंहवाहिनीको समाधिस्थल, भानुरत्न टोलको शालिक आदि कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी हुन सक्छन् ।सुरुङ खन्दा ‘बाल रेडगार्ड’ भूमिका निर्वाह गर्ने रत्नकै परिवारका डिल्ली, महेश र देउप्रसाद बान्तवाहरु, सँगै हिंडिरहँदा रत्न मारिएपछि भागेर जोगिएकी सुशीला श्रेष्ठ र राममाया राई, रत्नका नातेदार अगम बान्तवा, देउकला राई र गणेश राई आदिरत्नको आदर्शलाई आज पनि उत्तिकै सम्मान गर्छन् ।
जनताका दुःखकष्टसँग सरोकार नराख्ने, आफ्नो स्वार्थका लागि क्रान्तिको गला रेट्ने, सुखसयलमा बसेर कम्युनिष्टका आदर्श छाँटेर मुलुकलाई बर्बाद गर्ने रातो झण्डा उचालेर झण्डाकै अपमान गर्नेहरुको दबदबा बढ्ने हो कि भन्ने संशय पनि नेपाली कम्युनिष्ट आन्दोलनमा छ । कम्युनिष्ट आन्दोलनले दक्षिणपन्थी बाटो समात्ने उत्तिकै प्रबल सम्भावना छ । अबको एकीकृत कम्युनिष्ट पार्टीनेकपा शहीद रत्नको आदर्शमा हिड्न सकेमा मात्र नेपाल र नेपालीको भविष्य सुरक्षित र सुनिश्चित हुन सक्ला । उनी शहादत भएको ४१वर्ष भएको छ । उनले रगतपसिना लगाएर निर्माण गरेको पार्टीको नेतृत्वमा सरकार बनेको छ । आजको खुला परिवेश, लोकतान्त्रिक गणतन्त्रका लागि उनले आफ्नो जीवनको बलिदान दिएका हुन् । नेपालको भौगोलिक अखण्डता, समानता, स्वतन्त्रता र नेपाली जनताको खुशयालीका लागि उनले आफ्नो जीवनको आहुति दिएका हुन् भन्ने सच्चाइलाई आजको नेतृत्वले बुझेमा मात्र उनको बलिदानको सार्थकता हुन्छ । । यतिबेला नेपालका वामपन्थीहरुका सामु एउटा प्रश्न छ–उनका आदर्श, भावना र योजना अनुरुप मुलुक अगाडि बढिरहेको छ कि छैन ?जनअपेक्षा अनुरुप सत्ता कृयाशील भएन भने सत्ताका लागि कुर्बानी गरेका शहीद रत्न लगायत समस्त शहीदहरुको अपमान हुन्छ र शहीदको सपना पुरा गर्न अरु शहीदहरु बन्ने क्रमले निरन्तरता पाउँछ । शहीदको कुर्वानीको महत्वलाई सबैले हृदयतः ग्रहण गर्न जरुरी छ ।
