निर्माण व्यवसायीलाई गुणस्तरीय सेवा दिन आग्रह
झापा,
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले निर्माण व्यवसायीलाई देश र जनताप्रति भलो चिताइ दिगो लाभ पुग्ने गरी गुणस्तरीय सेवा दिन तत्पर हुन आग्रह गर्नुभएको छ ।

भीमफेदी– कुलेखानी सडक निर्माण विस्तारको आज करिब साढे १५ किलोमिटर सडकको अनुगमन गर्दै उहाँले व्यवसायीलाई इमान्दारीपूर्वक काम गरेर जनताको आस्था वृद्धि गर्न आग्रह गर्नुभएको हो । उक्त सडकखण्डको निर्माण र विस्तारका लागि करिब रु ३० करोडको लागतमा बोलपत्र आह्वान गरी निर्माण गर्न स्वीकृति प्रदान गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
भीमफेदीदेखि कुलेखानी सम्मको सडकखण्डको प्रथम र द्वितीय चरणको निर्माण विस्तार गर्ने क्रममा भीमफेदी र ईन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रभित्रपर्ने भएकोले ती सडकको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले प्रत्यक्ष अनुगमन गर्ने र निर्माणको रेखदेखसमेत गरिरहेका मन्त्री फुँयालले बताउनुभयो ।
काठमाडौँबाट तराईसम्म जोडिने छोटो राजमार्गका रुपमा काठमाडौँदेखि हेटौँडासम्मको यातायात सेवालाई सहज र सुलभ तुल्याउन प्रदेश सरकारले उक्त सडकको विस्तार गर्न लागेको सो मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिनुभयो । –––
