अतिविपन्नको तथ्यांक लिने काम अन्तिम चरणमा,मुख्य तथा शाखा सडक सुनसान
अनिल वाग्ले / बुद्धशान्ति ।

झापाको बुद्धशान्ति गाउँपालिकामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस विरुद्ध उच्च सर्तकता अपनाइएको छ ।
यस गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, ७ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि र स्वास्थ्यकर्मी, इलाका प्रहरी कार्यालय आप्mनो स्थानीय तहमा कोरानाको संक्रमण हुन नदिन विभिन्न सर्तकता अपनाउँदै विदेशबाट आएका नागरिकलाई उच्च स्वास्थ्य निगरानीमा राखेर अतिआवश्यक सामग्रीको अभाव जनतालाई हुन नदिन विभिन्न योजनाका साथ सकृयता जनाइरहेका छन् ।
इलाका प्रहरी कार्यालय, झापा उद्योग वाणिज्य संघ लगायतसँगको सहकार्यमा बुद्धशान्ति गाउँपालिकाका नागरिकलाई कोरोनाको संक्रमण हुन नदिन तथा अतिआवश्यक सामग्रीको अभाव हुन नदिन लागिपरेको बुद्धशान्ति गाउँपालकाकाले जनाएको छ । स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक सबैलाई पर्सनल प्रोटेक्टिभ इक्विमेन्टका साथ सुरक्षित बनाएर विभिन्न तयारी, निगरानी तथा सचेतनाका कार्य भईरहेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो ।
सुरुवाती अवस्थामा लकडाउनलाई सामान्य ठान्ने बुद्धशान्ति गाउँपालिकाका नागरिक अहिले पूर्ण सचेत भएको बताउँदै गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेल परिस्थिति जटिल बनेको खण्डमा गाउँपालिकाले सर्तकताका लागि योजना बनाइसकेको बताउनु भयो ।

बुद्धशान्तिमा अतिविपन्न नागरिकको डाटा संकलनको कार्य अन्तिम चरणमा रहेको र कोरोना संक्रमणको प्रभाव जारी रहन सक्ने भन्दै केही दिन अघि गाउँपालिकाको बैठक बसी ३७ लाख ५० हजार कोरोना नियन्त्रण र राहतका लागि छुट्टै १० लाख रुपैँया छुट्याएको र त्यतिले नपुग्ने अवस्था आएमा माथिल्लो निकायसँगको सहकार्यमा अतिविपन्न वर्गका नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरीको योजना तय भैसकेको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले जानकारी दिनुभयो ।
उहाँले कोरोनाको संक्रमण फैलन नदिन बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिको प्रयास महत्वपूर्ण रहेको बताउँदै सबै क्षेत्रबाट उत्तिकै साथ सहयोग मिलेको बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिकामा ९१ जना हालै विदेशबाट आएको र उनीहरुको नियमित स्वास्थ्य जाँच गरिएको बताउँदै उनीहरु सुरक्षित रुपमा घरमै क्वारेन्टाइनमा रहेको बुद्धशान्ति स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले बताउनु भयो । उहाँले बुद्धशान्तिका स्वास्थ्यकर्मी सुरक्षित रहेको पनि जानकारी दिनुभयो ।

कोरोना संक्रमणको प्रभावले गर्दा विभिन्न ठाउँका अस्पताल, क्लिनिक सञ्चालनमा नआइरहेको पाइए पनि यहाँका अधिकाशं सरकारी तथा निजी स्वास्थ्य संस्था संचालनमा रहेका छन् । स्वास्थ्य संस्थाले विरामीको स्वास्थ्य जाँच तथा औषधि उपलब्ध गराउने गरेका छन् ।
गाउँपालिकाले रेडक्रस भवन बुधबारेमा १० वेडको तथा आवश्यक परेको खण्डमा बुद्धशान्ति १ को बुद्धआदर्श माविमा १०० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । बुद्ध आदर्श माविको क्वारेन्टाइन आवश्यक पर्दा २ घण्टामा नै त्यसको व्यवस्थापन गर्न सकिने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो । लड डाउनलाई यहाँ पूर्ण पालना गर्न थालिएको छ जसले मुख्य तथा शाखा सडकहरु सुनसान देखिएका छन् ।
