July 7, 2026

कोरोना त्रास, चमेरो र ओलीजीको तेस्रो जीवन

0

चिन्तामणि दाहाल,

कोरोना त्रास :

अहिले विश्वमै चर्चित प्रसंग, छलफल, सम्भावित आर्थिक मन्दी, मन्दीबाट बच्ने उपायका बारेमा दिइने असंख्य सुझावहरु, ज्ञानको बाँडफाँड र आशा भनेको कोरोना भाइरसले दिएको अवस्था नै हो ।
सबै किसिमका सामाजिक सञ्जाल टेलिफोन र मोबाइलमा हुने कुराकानी, भेटघाटमा हुने बहस र छलफल, आधा समाचार, सुझाव, व्यंग्य, टुक्का, घरेलु र आयुर्वेदिक औषधि जस्ता सबै कुरा कोरोनाको वरीपरि केन्द्रित र प्रभावित छन् । कोरोना यति छोटो अवधिमा ग्लोबल हुनमा र त्रासको माध्यम बन्नुमा आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका (राम्रो÷नराम्रो) रहेको छ ।

कोरोना भाइरसले यतिमान्छे मरे, यति संक्रमित छन्, यति निको भए भनेर यो आलेखमा लेखेमा त्यो छापिएर आउँदासम्म तथ्यांक फरक भइसक्ने भएकाले त्यो तथ्यांक यस आलेखमा राख्नुको अर्थ छैन । त्यसैले राखेको छैन । मात्र के हो भने रुघाखोकी जस्तै लक्षण भएको कोरोना भाइरसले यति धेरै त्रास र तहल्का किन मच्चाइरहेको छ र अझै मच्चाउँदैछ भन्ने कुराको गुढ रहस्य भनेको हामीमा बाँच्ने चाह, म चाहिँ मर्नु हुँदैन भन्ने मनोविज्ञान र आफूलाई ज्ञानवान देखाउने प्रवृत्ति हावी भएकाले हो । नभए यस भाइरसबाट रुघाखोकीबाट जोगिए जस्तै जोगिने उपाय गर्ने हो भने कुनै त्रासमा बस्नु पर्दैन र तथाकथित मुखडाको अनावश्यक व्यापार पनि हुँदैन ।

त्यसैले कोरोना त्रास आवश्यकभन्दा बढी प्रचार नै हो । त्यसै पनि रोगप्रतिरोधी क्षमता कम भएकाहरुका लागि कोरोना आउनै पर्दैन । रुघाखोकी निको नभएरै निमोनिया भएर परमधाम भएकै छन् । त्यसैले कोरोनाको त्रासबाट मुक्त हुन रोगप्रतिरोधी खानकुराको सेवन, मासुजन्य पदार्थको मस्त पकाएर सेवन, मादक पदार्थबाट टाढा र संसर्गबाट टाढा भए पुग्छ भन्छन् जानिफकारहरु ।

पहिला सार्स पनि त्यस्तै थियो । जाडो घट्दै गएर गर्मी शुरु भएपछि कोरोना भाइरस कम हुँदै जान्छ भनिएको छ । त्यसमाथि नेपालीहरु यसै पनि कोरोना पचाउने क्षमता राख्छन् । किनभने उनीहरु यतिधेरै धुलो, धुँवा र फोहोरमा अभ्यस्त छन् कि कोरोनाले पनि मुखडा लाएर नेपाल प्रवेश गर्नुपर्ने अवस्था छ । अझ काठमाडौंमा त त्यो पस्यो कि सखापै भइहाल्छ । कोरोनालाई यत्ति नै ।

चमेरो :

हामी मानवहरु आफूलाई बचाउन र मोजमज्जामा रम्न जे गर्दै आएका छौं, त्यसको प्रतिक्रिया हुन्, कोरोना भाइरस, सार्स, मेनेन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस, डेंगु, क्यान्सर, टिबी आदि । तर, दोष भने पशुपन्छीलाई लाउँछौं । कोरोना भाइरस चमेरोले मानिसमा सारेको हो भनेर अहिले चमेरोको बदनाम गरिएको छ ।

त्यसअघिका रोगहरुमा कहिले सर्प, कहिले मुसा, कहिले उपियाँ, कहिले उडुस, कहिले कुखुरा र परेवा, सधैं जसो मच्छड आदि दोषका भागी गराइएका छन् । ती सबैबाट रोग सर्नुमा मानव नामक प्राणी कै भूमिका छ । दोष पशुपक्षीलाई दिनुभन्दा आफू सतर्क भएर बसे यस्ता महामारी आउँदैनन् । आइहाले आफैं भाग्छन् । त्यसकारण चमेरोलाई दोष दिएर हुँदैन । चमेरो संसारका सबै भागमा पाइन्छ । अझ नेपालको पोखराका गुफाहरु चमेरोका स्वर्ग नै हुन् । तर, त्यहाँ अहिलेसम्म कोरोना पुगेको छैन । कोरोना के बाट फैलिएको हो भन्ने टुंगो लागेको छैन । अनुमान विभिन्न छन् । त्यसकारण चमेरोलाई त्यसै भाइरल बनाइएको हो जस्तो लाग्छ ।

ओलीजीको तेस्रो जन्म :

प्रधामन्त्री केपी शर्मा ओली अहिले तेस्रो जीवन बाँच्ने प्रयासमा छन् । उनलाई यसमा सफलता मिलोस् हार्दिक शुभकामना शुभभावना । ओली जी जस्तै अरु नेपालका मृगौला पीडितहरुले तेस्रो जीवन नपाए पनि कमसेकम दोश्रो जीवन पाउने स्वास्थ्य अवस्था अबको तेस्रो जीवन बाँचेका ओलीजीले गरुन् ।

ओलीजीलाई तेस्रो जीवन दिने समीक्षा बहिनी धन्यवादकी पात्र हुन् । उनलाई पंक्तिकार नमन गर्छ । तर, समीक्षाको अबको जीवन चुनौतिपूर्ण हुन्छ । उनको अबको जीवनका लागि ओलीजीले व्यक्तिगत तर्फबाट र प्रधानमन्त्री तथा देशका ठूला नेता बचाए वापत राज्यका तर्फबाट सुविधा पाउने व्यवस्था गरिनुपर्छ । पहिलेकी दाता ओलीजीकी बुहारीले के पाइन र पाइनन् थाहा छैन । तर, अब भान्जीको जीवन सुखी हुनुपर्छ ।

पहिलो जीवनमा ओलीजीले संघर्ष र त्याग गरे । दोस्रो जीवनमा देशका लागि केही गरे । आफ्नो दललाई जनताको समर्थन जुटाएर शक्तिशाली बनाए । स्थिर शासन दिइरहेका छन् भने तेस्रो जीवनमा उनले देशका लागि र सबै जनताका लागि महत्वपूर्ण कार्य गर्नुपर्छ । उनले दोस्रो जीवनमा देखाएका सपना तेस्रो जीवनमा पूरा गरे भने समीक्षाको बलिदान खेर जाँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *