एसएसबी र गोरु तस्करबीच कुटाकुट
भद्रपुर।

नेपाल–भारतको सीमा नाकामा गाईगोरु तस्कर र भारतीय एसएसबीबीच झडप भएको छ । झडपमा घाइते भएका तीन जना भारतीय एसएसबीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भारतको शिलगढीको एक अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको जनाइएको छ ।
नेपाल–भारतको सीमा नाकामा पर्ने झापाको कचनकवल गाउँपालिकास्थित घेरावारी नाकाबाट रातको समयमा तस्कर समूहले ठूलो संख्यामा गाईगोरु विहार राज्यस्थित किसनगञ्ज जिल्लाको सिंघमारी नाकाबाट भारत लैजाने गरेका छन् ।
गाईगोरु लैजाने क्रममा शनिवार राति ८ बजे गाईगोरु तस्कर र भारतीय एसएसबीबीच झडप भएको हो । एसएसबी १९ बटालियन सिघीमारी बीओपी क्याम्प नजिकै उक्त घटना भएको एसएसबीको डिपुटी कमान्डर नवीनकुमार रायले जानकारी दिए । एसएसबीका अनुसार नेपालबाट ठूलो संख्यामा गाईगोरु आइरहेको सूचना पाएपछि तीन जना एसएसबीका जवान गाईगोरु नियन्त्रणका लागि गएका थिए ।
तीन जना एसएसबीले गाईगोरु नियन्त्रणमा लिएपछि घटनास्थलमा रहेका पाँच जना तस्कर उनीहरूमाथि खनिएका थिए । पाँच जनाले एसएसबीबाट गाईगोरु छुट्याउन नसकेपछि उनीहरूले थप ३०देखि ४० जनाको समूहलाई घटनास्थलमा बोलाए । तस्करको समूहले तीन जना एसएसबीलाई नियन्त्रणमा लिएर फलामको रड, लट्ठीसहित ढुंगामुढा गरी कुटपिट गरेका थिए ।
‘तस्करको कुटपिटबाट घाइते भएका एसएसबीका जवान मनिकन्दन, वसीम र जाफतको अवस्था चन्ताजनक छ’– एसएसबीको डिपुटी कमान्डर रायले भने– ‘उनीहरूको शिलगढीको अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ ।’ ‘जवानमाथि कुटपिट भएपछि उनीहरूलाई बचाउन थप एसएसबी टोली घटनास्थल पुगेपछि तस्करहरू भागे, राति भएकोले उनीहरूको पहिचान गर्न सकिएन’– उनले भने । घटनास्थलबाट दुई वटा मोटरसाइकल बरामद भएको उनको भनाई छ । यता जियापोखर थाना अध्यक्ष शिवकुमार प्रसादका अनुसार बरामद गरिएका दुई वटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएको छ ।
रोकिएन गाईगोरु तस्करी
झापाको दक्षिणी नाकाबाट गाईगोरु तस्करी गतिविधि अझै रोकिएको छैन । स्थानीय प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा ठूलो संख्यामा दिनहुँ गाईगोरु कचनकवल गाउँपालिकास्थित घेरावारी नाकाबाट भारत निकासी भइरहेको पाइएको छ । घेराबारीसहित कुमरखोद, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाकाबाट ठूलो संख्यामा गाईगोरु भारत तस्करी भइरहेको छ ।
सशस्त्र प्रहरीले अहिलेसम्म गाईगोरु नियन्त्रणमा चासो देखाएको छैन । तस्करले सशस्त्र प्रहरीलाई सेटिङमा मिलाएर गाईगोरुको तस्करी गरिरहेको स्थानीयको आरोप छ ।
प्रहरी कार्यालय झापाले भद्रपुर र काँकरभिट्टाबाट गाईगोरु बरामद गर्दै आइरहेको छ । प्रहरी कार्यालयबाटै खटिएका सादा पोशाकको टोलीले बेलाबेला दक्षिणी झापाको नाकाबाट पनि गाईगोरु बरामद गर्दै आइरहेको छ ।
गाईगोरु भारत हुँदै बङ्गलादेश तस्करी गर्ने झापा जिल्ला प्रमुख नाकामा पर्छ । भारतको उत्तर प्रदेशबाट सर्लाही जिल्लाका नाकाहरूबाट नेपाल भित्र्याइने गाईगोरु त्यहाँबाट झापा ल्याइन्छ । झापाको दमक, घैलाडुब्बा, झापा बजार, राजगढमा जम्मा गरेर जिल्लाका विभिन्न नाका प्रयोग गरेर गाईगोरु भारत पठाइन्छ । प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी उपरीक्षक दिनेशराज मैनाली जिल्लाबाट हुने गाईगोरु तस्करी रोकथाम तथा नियन्त्रणमा आक्रामक बनेका थिए ।
प्रहरी उपरीक्षक मैनालीको सरुवा भएपछि प्रहरी कार्यालय झापा आएका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले दुई महिनाको अवधिमा ५ सयभन्दा बढी गाईगोरु बरामद गरी भन्सार बुझाइसकेका छन् ।
