बाटोसगै घर पाउदा नाचगान
झापा,
झापा गाउँपालिका–१का सन्थाल समुदाय बुधवार निक्कै खुशी देखिए । खुशी देखिनुको एउटै कारण थियो– नयाँ घर अनि घर नजिक निर्माण गरिएको कालोपत्रे सडक ।

फुसको घरमा कष्टकर जीवन बिताइरहेका ४० परिवारलाई एकै प्रकृतिको नयाँ घर निर्माण गर्दै बुधवार हस्तान्तरण गर्दा लसुना गाउँमा नाचगान नै भयो । सन्थाल समुदायको पुख्र्यौली नृत्य देखाउँदै उनीहरुले आफ्नो खुशी साटासाट गरे । घर हस्तान्तरण समारोहमा झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित विदेशी नागरिकको समेत उपस्थिति रहेको थियो ।
वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेको घरमा बस्दै आएका ४० परिवारलाई एकैपटक सहारा नेपाल (साकोस) सहकारी संस्था लिमिटेड बिर्तामोड, ह्याविट्याट फर ह्युमानिटीको सहयोगमा झापा गाउँपालिकाले वडा नम्वर १को लसुनामा घर निर्माण गरिएकोथियो ।
विपन्न समुदाय आवास कार्यक्रम अन्तरगत सहकारीले झापा गाउँपालिकासंग सहकार्य गर्दै तयार गरेका ४० घर सन्थाल समुदायलाई हस्तान्तरण गरिएको थियो । घरसँगै गाउँपालिकाले निर्माण गरेको पक्की सडक पाएको भन्दै उनीहरु निक्कै खुशी देखिए ।
नयाँ घर पाउने टिङ्कुमारी मर्डीले खुशी व्यक्त गर्दै भनिन्– ‘यो जुनीमा यस्तो घरमा बस्न पाइएला भन्ने कल्पना पनि गरेकी थिएन । आजबाट नयाँ घरमा बस्न पाइने भयो, ज्यादै खुशी छु ।’ उनी जस्तै खुशी थिइन् सोही ठाउँ निवासी फूलकुमारी मर्डी पनि । ‘आफ्नो पक्की घर होला भन्ने सोचेकी थिइनन्– उनले भनिन्– ‘हामी यहाँका सबै जना बर्खा शुरु भएपछि रातभर जागा बस्नु पर्थ्यो । पानी पर्न थालेपछि परिवार भेला भएर एकैठाउँमा बस्नुको बिकल्प उनको परिवारमा थिएन । धेरै पानी पर्यो भने ठाडा गाउँमा गएर बालबच्चा च्याापेर रातभर जागै बसेका छौं ।’
गवरी मुर्मूको पनि हविगत उस्तै थियो । घर हस्तान्तरण कार्यक्रममा सहभागी बनेका उनी घरको चाबी पाउँदा निक्कै प्रफुल्ल देखिए । उनले भने– घरमा बस्ता त ओवानैमा बस्न पाइयो, अब बाटोमा हिँडदा पनि खुट्टा हिलो नहुने भयो । सबै बाटो कालोपत्रे भएको छ ।’ पहिला वर्षाको समयमा ज्यान समेत जोगाउन मुस्किल पथ्र्यो, अहिले फलाएको अन्न पात पनि जोगाउन सकिने भयो– उनले भने – गरीवका दिन फर्कन्छन् भन्ने सुनेको थिएँ, हो रहेछ ।
जीविकोपार्जनका लागि अर्काको खेतवारीमा ज्याला मजदुरी गर्दै आएका त्यस स्थानका बासिन्दा बस्नका लागि सुरक्षित घर पाएपछि दंग परेका हुन् । घर हस्तान्तरण समारोहमा बोल्दै सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले भने– विपन्न समुदायको मुहारमा खुशी ल्याउनु आफ्नो पहिलो प्राथमिकता थियो यो एउटा प्रयास हो, यस्ता कार्यक्रम निरन्तर गरिरहन्छौं । घर निर्माणका लागि तीनवटै संस्थाले प्रतिघर एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । घरधनीले श्रमदान गर्नुपर्ने प्रावधान रहेको कार्यक्रम सयोजक लीला शिवाकोटीले बताइन् ।
संस्थाले उपलब्ध गराएको रकमबाट भुइँ ढलान, पिलर, उपचार गरेर बलियो बनाएको बाँसको छाना र जस्तापाता खरिद गर्न पुग्ने उनले जानकारी दिइन् । २ वटा कोठा र एउटा भान्साकोठा रहने चिटिक्क परेको घरको बेराबारा भने घरधनीले गर्नुपर्ने उनको भनाइ थियो । सहारा नेपालको सक्रियतामा सञ्चालित ‘सामुदायिक आवास कार्यक्रम’ मार्फत घर निर्माण भएको कार्यक्रम संयोजक शिवाकोटीले बताइन् । दातृसंस्था ह्याविट्याट र स्थानीय तहको सहयोगमा सहारा नेपालले गतबर्ष ३४८ वटा घर निर्माण गरेर हस्तान्तरण गरेको थियो ।
शिवाकोटीले झापाको झापा, हल्दिबारी, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिकामा सामुदायिक आवास कार्यक्रममार्फत घर निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिइन् । झापा गाउँपालिकाका अधिकांश मानिस आर्थिक अवस्था न्यून भएकाले आवास निर्माण बरदान सावित भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको भनाइ छ ।
एक लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएका घरमा गाउँपालिकाको २५ प्रतिशत लगानी रहेको अध्यक्ष साहले बताए । चालू आर्थिक वर्षमा १ सय घर निर्माणका लागि ७५ लाख रुपैयाँ बजेट छुट्याइएको उनले बताए । ‘झापा गाउँपालिकामा थप १ सय घर निर्माण आवश्यक देखिएको छ’– अध्यक्ष साहले भने– ‘यस विषयमा सहारा र ह्याविट्याटसँग छलफल भइरहेको छ, चालू आर्थिक वर्षमा दुई सय घर निर्माण गर्ने योजना छ ।’ सोही कार्यक्रम अन्तर्गत यो वर्ष झापा र मोरङ जिल्लाका बिभिन्न स्थानीय तहमा ६०० वटा घर निर्माण गर्ने काम भइरहेको संस्थाका कार्यकारी निर्देशक गिरीले जानकारी दिए । उनले अर्काे वर्ष १ हजार २ सय घर निर्माण गरेर हस्तान्तरण गरिने जानकारी दिए ।
घर निर्माण समितिका अध्यक्ष नरेश मुर्मूको अध्यक्षतामा भएको कार्यक्रममा दातृ निकाय ह्याविट्याट फर ह्युमानिटी नेशनल डाइरेक्टर कृष्टि स्टिक्नी, कार्यक्रम निर्देशक युवान मल्ल लगायतको सहभागिता थियो ।
झापा गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार यादवले स्वागत गरेको कार्यक्रममा कुमरखोद गाविसका पूर्व अध्यक्ष तथा कांग्रेस नेता देउकुमार थेवेले विपन्नको मुहारमा खुशी छाएको देख्दा आफू समेत हर्षित भएको बताए । उनले भने सहारा नेपालको अग्रसरतामा यस खाले काम हुन आफैंमा राम्रो भएको र आगामी दिनमा गाउँपालिकाले विपन्न समुदायको पहिचान गर्दै यस खाले कार्यक्रम अघि बढाउन गाउँपालिकासँग अनुरोध गरे ।
सो अवसरमा घर निर्माणमा सहयोग पु¥याउने दातृसंस्थासहित सहारा नेपाललाई गाउँपालिकाले सम्मान गरेको थियो । आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि दुई तहका सरकार मिलेर घर बनाइदिन थालेपछि त्यस्ता समुदायका नागरिकहरुले नयाँ घर पाउन थालेका हुन् । बिर्तामोड नगरपालिका वडा नं ७ गरामनी बजार पूर्वको सन्थाल बस्तीका चार सन्थाल परिवारले पनि नयाँ घर पाएका छन् ।
साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरबाट अहिले उनीहरु चिटिक्क टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको तीन कोठाको घरमा बस्न पाएका छन् ।
