September 21, 2026

४१ वटा योजनाको मात्रै रकम भुक्तानी

0

बनेपा,

पाँचखाल नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को ३०१ योजनामध्ये १२५ को सम्झौता भएकामा ४१ योजनाको मात्रै रकम भुक्तानी गरेको छ ।

नगर उपप्रमुख लक्ष्मी दनुवारका अनुसार २०७६ साउनदेखि माघसम्ममा दर्ता भएका २९ उजुरीमध्ये १५ वटामा मेलमिलाप गराएको, १० वटा प्रक्रियामा रहेको र चार वटा वडामै मेलमिलापका लागि पठाएको छ । सबै वडामा मेलमिलापकर्ता सूचीकृत भइसकेको उहाँले बताउनुभयो ।

रु १५ लाखमाथिका भौतिक योजना इविडिङ गर्ने, नेपाल हिन्दू विश्वविद्यालय स्थापनाका लागि सहमति दिने, पुरातात्विक सम्पदाको संरक्षणका लागि पाँचखाल पुरातत्व संरक्षण समिति गठन गर्ने, जग्गा खण्डीकरणसम्बन्धी प्राविधिक समिति गठन गर्ने, भारी वर्षाका कारण गएको प्राकृतिक प्रकोपपीडित एवं दीर्घरोग (कडा रोग)का गरीब व्यक्तिलाई राहत तथा सहयोग गर्ने निर्णय नगरपालिकाको छैँटौँ नगरसभाले गरेको छ ।

त्यस्तै सभामा फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत शुरुआत रिसाइक्लर्स प्रालिसँग सम्झौता गर्ने, हरित महिला उद्यमी मौद्योगिक ग्राम सञ्चालन गर्ने, सुनकोशी खानेपानी आयोजनाका लागि सहजीकरण गर्ने, बारुणयन्त्र व्यवस्थापन सशस्त्र प्रहरी बल नेपाल १५ नंं गण हेडक्वाटरसँगको साझेदारीमा काम गर्ने, पाँचखाल नगरलाई दुई वर्षभित्रमा बिजुलीका काठेपोलमुक्त गराउने र इँटा उद्योगीसँग इँटाभट्टालाई वातावरणमैत्रीरूपमा सञ्चालन गर्नेलगायतको निर्णय पेश गरी पारित गरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *