September 21, 2026

भुम्लुमा चितुवा आतङ्क

0

काभ्रेपलाञ्चोक, 

भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा चितुवाको आतङ्क मच्चिएको छ । केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा छन् ।

वडा नं ७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताउनुभयो । गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार राति पनि चितुवाले स्थानीय लक्ष्मी रिजालका दुई बाख्रा मारिदिएको छ ।

टार आसपास रहेका कुकुरलाई समेत चितुवाले मारेको उप्रतीले बताउनुभयो । “चितुवाले बाख्रा र कुकुरलाई मार्न थालेपछि बस्तीका बासिन्दा त्रसित अवस्थामा छन्”, उहाँले भन्नुभयो । चितुवाले बालबालिकालाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि नै बाहिर ननिस्कने गरिएको पीडित उप्रेतीले जानकारी दिनुभयो । वडाध्यक्षलाई जानकारी गराई सिफारिशसहित प्रहरी चौकी जाने तयारीमा रहेको उहाँले बताउनुभयो ।

चितुवाले जङ्गल आसपासका बस्तीमा गोठभित्रै बाख्रा मारेको खबर पीडितबाट आएको वडा नं ७ का अध्यक्ष मोतीलाल तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “सतर्कता अपनाउन सचेत गराइएको छ, आतङ्क न्यूनीकरणबारे सम्पूर्ण जनप्रतिनिधिसहित छलफल गर्ने योजनामा छौँ ।” केही दिनदेखि गाउँपालिकाका केही स्थानमा दिउँसोसमेत चरिरहेका बाख्रालाई चितुवाले जङ्गलबाट आएर मार्ने गरेको खबर आउन थालेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *