मापसे गरेर मापसे चेक गर्ने असाई कारबाहीमा
झापा ।

मादक पदार्थ सेवन गरेर सवारी साधनका नचाउन आग्रह गर्ने प्रहरी स्वयम्ले मादक पदार्थ सेवन ड्युटी गरिरहेको पाइएको छ । मादक पदार्थ सेवन गरेर ड्युटी गरिरहेको अवस्थामा मोरङमा प्रहरी सहायक निरीक्षक(असई)माथि कारबाही प्रक्रिया अघि बढेको छ ।
विराटनगरको बरगाछी प्रहरी चौकीमा कार्यरत असई ताराबहादुर बस्नेतलाई ड्युटीमा मापसे गरेको अवस्थामा भेटिएको हो । ड्युटीमा आफै मादक पदार्थ सेवन गरेर सवारी साधनका चालकको मापसे चेक गरिरहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर उनीमाथि कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
विराटनगर महानगरपालिका–४ खारजीमा राति मापसे चेकमा खटिएका असई बस्नेतलाई नियन्त्रणमा लिन मोरङका डीएसपी राजकुमार खिँउजुको टोली पुगेको थियो । कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बस्नेतले मापसे सेवन गरेको पुष्टि भएको छ । डीएसपी खिँउजुले जिल्ला तानिएका बस्नेतमाथि आवश्यक अनुसन्धानपछि कारबाही अघि बढाइने बताए ।
मापसे चेकका क्रममा सवारी चालकसँग विवाद गरेपछि जिल्ला प्रहरी कार्यालयमा सवारी चालकहरुले ड्युटीमा रहेका असईले मापसे गरेको जानकारी गराएका थिए । त्यसपछि घटना बाहिरिएको हो । प्रहरीले अरुलाई मापसे नगर्न आग्रह गर्ने तर आफु भने रक्सीले लठठ् भएर मापसे चेक गर्ने गरेको गुनासो आउनेगरेको छ ।
ट्राफिक प्रहरीले विशेष गरेर बेलुकाको समयमा मापसे चेकजाँच गर्नेगरेको छ । दुर्घटना न्यूनिकरणमा भन्दा पनि ट्राफिकले राजश्व संकलनलाई ध्यानमा राखेर मापसे चेकजाँच गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
