१२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवक पक्राउ
झापा।
पूर्वी पहाडी जिल्ला खोटाङमा १२ वर्षीय बालिकालाई गर्भवती बनाउने एक युवा पक्राउ परेका छन् ।
बालिकालाई गर्भवती बनाएर फरार भएका साकेला गाउँपालिकाका २४ वर्षीय युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी बामदेव गौतमले जानकारी दिए ।
प्रहरीले पीडक र पीडितको नाम गोप्य राखेको छ । बालिका गर्भवती भएपछि फरार भएका युवा विरुद्ध बुधबार उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बालिका गर्भवती भएको ४ महिना पुगेको भनिए पनि भिडियो एक्सरे गर्दा ६ महिनाको भएको देखिएको डीएसपी गौतमले बताए । बालिकालाई स्वास्थ्य जााचका लागि काठमाडौं लगिएको छ ।
पछिल्लो समय बालिका बलात्कारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ । विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरेपनि यस्ता घटनामा कमी ल्याउन नसकिएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
