न्यायिक समितिको क्षेत्रधिकार र न्याय सम्पादन सम्बन्धि तालिम सम्पन्न
शान्तिनगर ।
झापाको बुद्धशान्ति गाउँपालिकामा न्यायिक समितिको क्षेत्रधिकार र न्याय सम्पादन प्रक्रियाका बारेमा वडा स्तरिय सात दिने कार्यक्रम शनिवार सम्पन्न भएको छ । गाउँघरमा हुने सामान्य विवादलाई मेलमिलापको माध्यमबाट कसरी मिलाउने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
गत मंसीर १ गतेबाट सञ्चालित तालिममा वडा नम्वर एक देखि ७ सम्मका २८० जनाले तालिममा सहभागिता जनाएका थिए । बुद्धशान्ति गाउँपालिकाको आयोजनामा सञ्चालित तालिममा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिको क्षेत्रधिकार र न्यायिक समितिले कस्तो प्रकृतिको विवाद निरुषण गर्ने र अधिकारका विषयमा जानकारी गराइएको थियो । गाउँपालिकाको सभाहलमा सात दिन सम्म चलेको तालिमको सहजिकरण बुद्धशान्ति गाउँपालिका प्रसासन, योजना तथा अनुगमन शाखाका प्रमुख मदन कडेल र अधिबक्ता बसन्त नेपालले गरेका थिए ।
बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मीरा भुर्तेलको अध्यक्षतामा आयोजित समापन समारोहमा बुद्धशान्ति गाउँपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाई, सात नम्वर वडाध्यक्ष मात्रिकाप्रसाद पौड्याल, न्यायिक समितिका सदस्य नेत्रप्रसाद गौतमले न्याय सम्बन्धि जानकारी लिएपछि आफ्नो ठाउँमा लागु गर्न सुझाव दिए ।
तालिममा सहभागि निधिराम अर्यालले वडामा गठित न्यायिक समितिले कस्तो प्रकृतिको मुद्धा लिने भन्ने अन्योल हटेको बताए । समापन कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य सचिव अम्विका अधिकारीले गरेकी थिईन् ।
